+
+
आईटी उद्यमी :

राजविक्रम हिंडेको उद्यमको ‘गल्ली’

समय क्रमले शहरका अनगिन्ती गल्ली पछ्याउँदै जाँदा, राजले आफ्नै जीवनको गल्ली भेट्टाए । त्यही गल्लीले कालान्तरमा उनलाई उद्यमशीलतातिर डोर्‍यायो । अनि, उनी उद्यमी भनेर चिनिए ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० चैत १४ गते २०:००

१४ चैत, काठमाडौं । काठमाडौंका गल्लीमा खेल्दै ३२ वर्षीय राजविक्रम महर्जनको बाल्यकाल बित्यो । उनलाई के थाहा त्यही गल्लीका बाटोले एकदिन उनलाई धेरै टाढासम्म पुर्‍याउला भनेर ।

तर, भयो त्यस्तै । समय क्रमले सहरका अनगिन्ती गल्ली पच्छ्याउँदै जाँदा, उनले आफ्नै जीवनको  बाटो भेट्टाए । त्यही गल्लीले कालान्तरमा उनलाई उद्यमशीलतातिर डोहोर्‍यायो । अनि, उनी उद्यमी भनेर चिनिए ।

त्यतिमात्र होइन, उनले कोरेको गल्लीको बाटोले थुप्रै नवउद्यमीलाई समेत उद्यमशीलताको बाटो कोरिदियो ।

केहीबेर विगतमा फर्किऔं ।

काठमाडौंबाट एरोनोटिकल इन्जिनियरिङ पढ्न सन् २०१० मा राज चीन गए । २०१४ मा पढाइ सकेर फर्किए । त्यसपछि उनी ‘एयरक्राफ्ट टेक्निसियन’ का रूपमा हिमालय एयरलाइन्समा काम गर्न थाले । बेला बखत उनी ‘साइड जब’ का रूपमा ‘ड्रोन म्यापिङ’ को काम पनि गर्थे । ड्रोन उडाउन पोख्त राजले म्युजिक भिडियो र नेपाली फिल्ममा समेत ड्रोन भिडियोग्राफीको काम गर्न थाले ।

‘त्यो बेला भर्खरै ड्रोन प्रयोग हुन थालेको थियो,’ राज सुनाउँछन्, ‘तर, ड्रोन उडाउने सबैको बसको कुरा थिएन, मैले त्यहाँ ड्रोन सुटको काम गरेँ ।’

हिमालय एयरलाइन्सको जागिर र साइड जबबाट उनले राम्रै कमाइरहेका थिए । सबै ठिकठाक चल्दै थियो । जिन्दगी एउटा लयमा थियो । तर, मनमा भने एक किसिमको उकुसमुकुस थियो । उनलाई आफैं ‘नयाँ केही गरौं’ भन्ने भित्रभित्र लागिरहन्थ्यो । उनले त्यो बाटो भेट्टाइरहेका थिएनन् ।

सन् २०१९ तिर उनले उद्यमशीलता सम्बन्धी ‘साउथ एसियन कनेक्ट इन्टर्नसिप प्रोग्राम’ मा सहभागी हुने मौका पाए । भारत नयाँदिल्लीमा भएको त्यो कार्यक्रममा दक्षिण एसियाका नवउद्यमी र उद्यमशीलतामा इच्छुक युवाका लागि केन्द्रित थियो । दुई महिना लामो तालिममा उनले उद्यमशीलता सुरूवातदेखि बजार विस्तारसम्मका कुरासम्म सिक्न पाए ।

‘आइडियालाई सार्थक रूप दिने, उद्यमशीलताको थालनी गर्ने कुरा र त्यसलाई बजारसम्म कसरी पुर्‍याउने भन्ने कुरा सिक्न सिक्न पाएँ,’ राजले भने, ‘धेरै पटक केही गरौं भन्ने सोच आइरहेका बेला त्यो तालिममले भने ममा आत्मविश्वास बढाइदियो ।’

गुगलका म्याप स्याटेलाटबाट भएकाले मधुरो देखिन सक्छ, तर गल्ली म्याप ड्रोनबाट म्यापिङ गरिएकाले तस्वीर पनि स्पष्ट र ३६० डिग्रीमा हेर्न सकिन्छ ।

त्यसपछि उनले काठमाडौंमा नबिल बैंकको उद्यमशीलता सम्बन्धी ‘नबिल स्कुल अफ सोसल आन्ट्रप्रेनरसिप’ (नबिल एएई) का कक्षा लिए । जसले उनको उद्यमशीलता यात्रामा पहिलो इँटा थप्ने काम गर्‍यो । उनी त्यस कक्षाको पहिलो ब्याच थिए । त्यहाँ उनले नेपाली बजारमा उद्यमशीलता कसरी अगाडि लैजाने भन्ने कुरा बुझ्न पाए ।

‘भारतमा मैले उद्यमशीलतााबरे धेरै कुराहरू बुझ्न पाएँ,’ राज भन्छन्, ‘तर, यहाँ नेपाली बजारमा आवश्यक उद्यम र व्यवसायका आइडियाहरू लिन पाएँ । अझ बढी समाजमा प्रभाव पार्ने खालका उद्यमशीलतामा काम गर्नुपर्छ भन्ने कुरा त्यहाँ सिकेँ ।’

लकडाउनमा जन्मियो ‘गल्ली म्याप’

२०७६ सालको कोभिड-१९ संक्रमणको पहिलो वर्ष मुलुक ‘लकडाउन’ मा थियो । जताततै सन्त्रासको समय । राजको परिवार पनि लकडाउनले घरभित्रै थियो । घरभित्र क्वारेन्टिनमा भएका बेला आमाका लागि अक्सिमिटर चाहिने भयो । लकडाउन भएकाले बाहिर निस्किन सक्ने स्थिति थिएन । उनले अनलाइनबाटै अक्सिमिटर मगाए ।

मगाएको दुई दिनपछि अक्सिमिटर आइपुग्यो । तर, डेलिभरी ब्वाईलाई घरको लोकेसन बताउन नै धौधौ भयो । ‘गल्ली नै गल्ली भएकाले घरको एक्ज्याक्ट लोकेसन कहाँनिर छ भनेर दिनै गाह्रो पर्‍यो,’ उनले भने, ‘लोकेसन बताउने क्रममा कहिले उनी धेरै (डेलिभरी ब्वाई) तल पुग्थे, कहिले धेरै माथि ।’

घरको लोकेसन थाहा नपाउँदा दुई जना अलमलिए । यो क्रम आधा घण्टाभन्दा बढी चलिरह्यो ।

त्यसदिन उनले थाहा पाए, गल्लीको बाटोको लोकेसन नहुँदाको हैरानी । अनि, उनी सोचमा डुबे । घर नम्बर र गल्लीको लोकेसन नदेखाउँदा यस्ता समस्याबारे नियाल्न थाले ।

‘रमाइलो त के भयो भने म आफैं घरको नम्बर राख्ने म्यापिङको काम गरिरहेको थिएँ,’ हाँस्दै सुनाए, ‘तर, आफैंलाई आफ्नो घरको एक्ज्याक्ट लोकेसन थाहा रहेनछ ।’

यस्तो हैरानी भोग्ने उनीमात्र थिएनन् । गुगल म्यापले मुख्य सडकहरू देखाए पनि भित्री गल्लीहरू देखाउँदैनथ्यो । त्यही कारण काठमाडौंमा थाहा नपाएर भौँतारिएर उल्टै दुःख पाइन्थ्यो । सर्वसाधारण अमात्र होइन, राइड सेयरिङ, डेलिभरी, कुरियर जस्ता कम्पनीले पनि यस्तै समस्या झेलिरहेका थिए ।

कोभिड संक्रमणको त्यही एकान्तवास उनलाई यो समस्याबारे बुझ्ने र त्यसको हल निकाल्ने गजबको समय भइदियो । लकडाउनका बेला यो समस्याबारे घोत्किलने मौका पनि पाए । आफन्त, साथीभाइलाई पनि यसबारे सोधे । हेर्दा सामान्य लागे पनि थुप्रैका लागि हैरानीको विषय रहेछ भन्ने उनले थाहा पाए ।

अनि, उनी यही समस्या समाधान स्वरूप घर नम्बर र भित्री गल्लीसमेत देखिने खालको नेपालका लागि आफ्नै ‘म्याप’ सम्बन्धी एप बनाउने योजना बनाए ।

उनले त्यही आइडिया आफ्ना दुई साथी जनम महर्जन र अशोन शाक्यलाई सुनाए । जो थिए, कम्प्युटर इन्जिनियर । राजको यो आइडिया दुवैलाई गजब लाग्यो । उनीहरू पनि काम गर्न उत्साहित भइहाले ।

लकडाउनकै बेला ‘गल्ली म्याप’ को योजना बन्यो । तर, काठमाडौंका भित्री स–साना गल्ली पहिल्याउनु चानचुने काम थिएन । उनीहरू स्याटेलाइट म्यापिङ र ड्रोन म्यापिङको काममा लागे । ‘मल्टिपल सोर्सका डाटा संकलनको काम गर्ने र त्यसलाई कम्पाइल गर्नतिर लाग्यौं ।’

काठमाडौंको आकाशमा ड्रोन उडाएर भित्री गल्लीहरू खोज्न थाले । राज म्यापिङको काममा लागे भने जनम र अशोन भने कोडिङको काममा जुटे ।

त्यतिमात्र होइन, स्टयाटेलाइट र ड्रोनबाट म्यापिङ गर्दा पनि छुटेका गल्लीहरू समेत ट्र्याकिङ गर्दै हिँड्न थाले । त्यसलाई ‘ग्राउन्ड लेभल म्यापिङ’ भनिन्छ ।

‘यसरी हामी गल्ली खोज्दै काठमाडौंमा थुप्रै हिँड्यौं,’ राजले सुरुवाती दिन सुनाए, ‘अन्ततः २०२० देखि दुई वर्ष अन्तरालको अनेक प्रयास पछि गल्ली म्यापले पूर्णता पायो ।’

गल्ली म्याप विस्तार

अहिले गल्ली म्याप पूर्णरूपमा लन्च भएको दुई वर्ष पूरा भएको छ । यसबीच गल्ली म्याप धेरै अघि बढिसकेको छ । गुगल प्ले स्टोरमा १ लाख र आइएओसमा ३० हजार पटक डाउनलोड भइसकेको छ ।

नेपाली बजारमा ‘गल्ली म्याप’ अहिले नेपालको ‘गुगल म्याप’ का रूपमा चिनिन थालेको छ । यसबिच २०२२ मा गल्ली म्यापले सूचना तथा प्रविधि क्षेत्रमा दिइने ठूलो अवार्ड नै जित्यो ।

त्यससँगै चार वर्षमा गल्ली म्यापले आफूलाई धेरै नै परिष्कृत गरिसकेको छ । ‘काठमाडौंका करिब ९९ प्रतिशत गल्लीहरू राखिसकेका छौं,’ राजले भने, ‘अब गल्ली म्यापबाट काठमाडौंभित्र नअलमलिइकन एक ठाउँदेखि अर्काे ठाउँसम्म सजिलै पुग्न सकिन्छ ।’

गल्ली म्याप आएसँगै सर्वसाधारणलाई मात्र होइन, त्योसँगै नवउद्यमी र चलिरहेका कम्पनीलाई झन् धेरै सहज बनाइदिएको छ

नेपालीको आफ्नै म्यापका रूपमा गल्ली म्यापले अहिले सहरका भित्री गल्लीहरू चिनाउन सघाइरहेको छ । ‘नेपालीलाई मात्र होइन, पर्यटकलाई पनि सडक चिनाउन सघाइरहेको छ,’ उनी भन्छन् ।

गल्ली म्यापमा सडकका भित्री गल्लीका सडकमात्र छैनन्, काठमाडौंका घर नम्बर समेत राखिएको छ । ‘घर नम्बर राखिएकाले जस्तोसुकै भित्री गल्ली भए पनि भनेकै ठाउँ, भनेकै घरमै पुगिन्छ,’ उनले भने, ‘यतिमात्र होइन, गल्लीबाट पुग्न सकिने छोटो बाटोसमेत देखाइदिन्छ ।’

यसले जुनसुकै ठाउँमा पुग्दा पनि अलमल नहुने र छोटो बाटोहरू देखाइदिने भएकाले यात्रुको समय पनि बचत गराइदिने उनी बताउँछन् ।

अझ रोचक के छ भने गुगलका म्याप स्याटेलाटबाट भएकाले मधुरो देखिन सक्छ, तर गल्ली म्याप ड्रोनबाट म्यापिङ गरिएकाले तस्वीर पनि स्पष्ट र ३६० डिग्रीमा हेर्न सकिन्छ ।

यसबीच गल्ली म्यापले ‘इभेन्ट’ हरू भन्ने फिचर पनि थपेको छ । जहाँ काठमाडौं उपत्यकाभित्र हुने सबैखाले इभेन्ट, मेला महोत्सवबारे जानकारी पाइन्छ । उदाहरणका लागि काठमाडौंका कुन–कुन ठाउँमा होली उत्सव हुँदैछ भनेर म्यापबाटै थाहा पाउन सकिन्छ ।

त्यसैगरी इन्द्रजात्रा लगायत विभिन्न पर्व, लाइभ म्युजिक कन्सर्ट, सेमिनारहरूको जानकारी पनि यसैगरी राखिन्छ । जसका कारण पनि मानिसले एपबाटै पर्व तथा इभेन्टहरूबारे थाहा पाउन सक्छन् ।

त्यस्तै एपमा ‘रिपोर्ट’ फिचर राखिएको छ, जहाँ प्रयोगकर्ताले कुनै सडक वा गल्लीमा भएका खाल्डा वा इँटाढुंगा तेर्स्याएको छ भने पनि रिपोर्ट गर्न सक्छन् ।

‘रिपोर्ट फिचरबाट प्रयोगकर्ताले सडकको अवस्थाबारे एपबाटै रिपोर्ट गर्न पाउँछन्,’ उनी भन्छन्, ‘त्यही रिपोर्ट हामी महानगर, सडक डिभिजन लगायत सम्बन्धित निकायमा पठाउँछौं ।’

लगत्तै एपमा बस स्टेसनबारे जानकारी दिनेजस्ता फिचर पनि थप्न लागेको उनले बताए ।

उद्यमीलाई सहुलियत

गल्ली म्याप नेपाली बजारमा आएसँगै सर्वसाधारणलाई मात्र होइन, त्योसँगै नवउद्यमी र चलिरहेका कम्पनीलाई झन् धेरै सहज बनाइदिएको छ ।

नेपालको आफ्नै म्याप नहुँदा कुरियर, डेलिभरी, राइड सेयरिङ र ई–कमर्स क्षेत्रमा भएका नेपाली कम्पनीले गुगल म्याप प्रयोग गरेबापत भारी रकम खर्चिुनपथ्र्याे ।

वार्षिक लाखौं रकम गुगललाई बुझाउनुपर्दा नवउद्यमी यस क्षेत्रमा सजिलै आउन सकिरहेका थिएनन् भने चलिरहेका कम्पनीले पनि ठूलो आर्थिक भार खेपिरहेका थिए ।

जसै गल्ली म्यापले ती कम्पनीका खर्च ७५ प्रतिशतले घट्यो । गुगललाई बुझाउने पैसाभन्दा अझै थोरै खर्चमा गल्ली म्यापले सेवा दिन थाल्यो ।

‘गुगल म्यापमा विदेशी सर्भर भएकाले महँगो पर्न जान्थ्यो,’ राज भन्छन्, ‘गल्ली म्यापमा नेपाली सर्भर प्रयोग हुने भएकाले एकदमै सहुलियत हुन गयो ।’

त्यसपछि त के थियोे, ई–कमर्स क्षेत्र एकाएक ‘बुम’ भयो । एकपछि अर्काे गर्दै ई–कमर्स विस्तार हुँदै गयो । त्यसपछि इन्टरनेट सेवा प्रदायक संस्था वल्र्डलिंक, फुडमान्डु, गो ट्याक्सी लगायत थुप्रै कम्पनीले गुगल म्यापको सट्टा गल्ली म्याप प्रयोग गर्न थाले ।

गुगल म्यापको सट्टा गल्ली म्याप प्रयोग गर्दा कम्पनीहरूलाई दुई फाइदा भयो । एउटा, गुगललाई तिर्ने शुल्कमा आधाभन्दा बढी सहुलियत । अर्काे, ग्राहकको लोकेसन समस्याबाट मुक्ति ।

‘गुगललाई तिर्ने पैसाको आर्थिक भार कम्पनीहरूलाई कम भयो । यसो हुँदा कम्पनीहरू नाफा बढाउन र फैलिन पाए,’ उनी भन्छन्, ‘ग्राहकहरूको पनि घरमै सामान पुग्न थाल्यो । यसले कम्पनी र ग्राहक दुवैलाई सहज भयो ।’

यही कारण अहिले यी लगायत दर्जन कम्पनीले गल्ली म्याप प्रयोग गरिरहेका छन् । र, त्यसबापत उनीहरूले शुल्क गल्ली म्यापलाई बुझाउँछन् ।

‘गल्ली म्यापले चलिरहेका राम्रा कम्पनीमात्र होइन, थुप्रै नवउद्यमीलाई पनि बाटो खोलिदिएको छ,’ राज थप्छन्, ‘ई–कमर्स क्षेत्रमा झन् ठूलो सम्भावना बढाइदिएको छ । तर, सामान्य प्रयोगकर्ताले भने गल्ली म्याप चलाउँदा कुनै शुल्क तिर्नुपर्दैन ।’

कालान्तरमा राजको योजना गल्ली म्यापलाई देशभरि फैलाउँदै जाने र विदेशी म्यापप्रतिको निर्भरता घटाउँदै लैजाने छ । यसले प्रयोगकर्ता र उद्यमीहरूलाई सहुलियत प्रदान गर्ने छ ।

तर, यसलाई आममानिस माझ पुर्‍याउनुपर्नेछ । भनौं न, गल्ली म्यापको प्रचार–प्रसारको काम बाँकी छ । यसका लागि पनि योजनाहरू बनाइरहेको उनी सुनाउँछन् ।

‘यसलाई जति नै हामीले धेरैमाझ चिनाउन सक्यो, त्यति नै विदेशी पैसा बाहिर जान रोकिने छ,’ उनी भन्छन्, ‘यसको फाइदा मुलुकको अर्थतन्त्रमा पनि पुग्न जान्छ ।’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?