+
+
फिल्म समीक्षा :

रातो पछ्यौरी : न्यायको लडाइमा प्रेरित गर्ने फिल्म

विष्णु शर्मा विष्णु शर्मा
२०८० चैत १७ गते १०:४५

रातो पछ्यौरीमा खास आकर्षण के हुन्छ ? रातो रङमात्र हो कि यो कुनै संवेदना र सन्देश पनि ? लामो समयदेखि फिल्मकर्ममा सक्रिय मिराज रोशन ठकुरीको यो डेब्यु छोटो फिल्मले रातो रङको सामाजिक सौन्दर्य शाष्त्र केलाउने प्रयत्न गर्छ ।

२६ मिनेट लामो फिल्मले ‘रातो पछ्यौरी’लाई यौनकर्ममा लाग्न बाध्य नेपाली महिला र उनीहरुले गुमाएका आधारभूत मानवअधिकारको विम्वको रुपमा पेश गर्छ । फिल्म भन्छ- रातो यौनिकतालाई दर्शाउने मात्र रङ् रहेन, अधिकारका लागि लड्न प्रेरित गर्ने विद्रोहको रङ् पनि हो ।

यसमा दुई समानान्तर महिला र पुरुष पात्रको आँखामार्फत कथा भनिएको छ । त्यो कथा जुन पछिल्लो दशकमा खासगरि नेपालका सहरी र अर्धसहरी क्षेत्रको यथार्थ हो । यो मुद्दाले पछिल्लो समय सामाजिक मञ्चमा पनि स्थान पाउन थालेको छ । कोभिड संकटपछि महिला यौनकर्मीको संख्या ह्वात्तै बढेको र उनीहरुका सन्तान राज्यविहिन हुनुपरेको कथ्य फिल्मको केन्द्रमा छ ।

यौनकर्मप्रति राज्य अनुदार बनेको, ज्यादती गरिएको, पारिवारिक र सामाजिक लाञ्छना भोग्नुपरेको यथार्थ वरपर फिल्म घुम्छ । यौनकर्मलाई ‘निरपराधीकरण’ गर्नुपर्ने भाष्य पनि स्थापना गर्न खोजेको छ । यौनकर्म अब एनजीओ/आइएनजीओको मुद्दा मात्र रहेन, बरु यो मानवअधिकार र आधारभूत न्यायकै मुद्दाको रुपमा अघि बढ्नुपर्छ भन्ने मत निर्देशकको छ ।

फिल्मको सुरुवात यस्तो प्लटबाट हुन्छ जुन रोचक र अर्थपूर्ण लाग्छ । उक्त प्लटमा ग्राहक बनेर पुरुष पात्रले महिला महिला यौनकर्मीलाई होटलमा बोलाउँछ । ती महिला पनि त्यहाँ पुग्छिन् । सर्वाङ्ग नांगिने तयारीमा रहेकी महिला पात्रलाई नांगिन होइन, उल्टो सारी लगाउन उक्त ग्राहकले आग्रह गर्छ ।

फिल्ममा बेनिशा हमाल र जीवन भट्टराईको शीर्ष भूमिका छ । भट्टराईले वकिलको भूमिका निर्वाह गरेका छन् जसलाई आफ्नी आमा यौनकर्मी हुन् र आफू उनको सन्तान हो भन्ने यथार्थ स्वीकार्न मुस्किल परिरहेको छ । यसकारण ऊ ग्राहकको भेषमा यौनकर्मी बोलाउँछ । तर, रतिक्रिडा उसको उद्देश्य हैन । ऊ यौनकर्मीसँग उसको भावना, मनोविज्ञान र संघर्ष बुझ्न लालयित छ । उसले यौनकर्मीको विवशता बुझ्न चेष्टा गर्छ । बेनिशाले बाध्यतावश यौनकर्ममा लाग्नुपरेको चरित्रलाई जीवन्त ढंगले निर्वाह गरेकी छन् । पतिले नै त्यस्तो कर्ममा लाग्न बाध्य पारेकोदेखि सन्तान हुर्काउन, हातमुख जोर्न र किराया तिर्न विवश पीडित पात्रको भूमिकामा उनी देखिएकी छन् ।

फिल्मको सुरुवात यस्तो प्लटबाट हुन्छ जुन रोचक र अर्थपूर्ण लाग्छ । उक्त प्लटमा ग्राहक बनेर पुरुष पात्रले महिला महिला यौनकर्मीलाई होटलमा बोलाउँछ । ती महिला पनि त्यहाँ पुग्छिन् । सर्वाङ्ग नांगिने तयारीमा रहेकी महिला पात्रलाई नांगिन होइन, उल्टो सारी लगाउन उक्त ग्राहकले आग्रह गर्छ । सारीमा सजिएकी पात्र आफूलाई मनपर्ने उसको मत छ । ती यौनकर्मीको रातो सारी र रातो पछ्यौरीमा उक्त पुरुष आकर्षित हुन्छ ।

सो पुरुष पात्र ती महिला यौनकर्मीको पृष्ठभूमि, बाध्यता र संवादमा केन्द्रीत हुन्छ । निर्देशकले उक्त पुरुष पात्रलाई उसको यौनेच्छाभन्दा आफ्नी आमाको यथार्थ स्वीकार्न संघर्ष गरिरहेको कुनै चरित्रको रुपमा प्रस्तुत गरेका छन् । ऊ बेला-बेलामा चिच्याउँछ र कराउँछ । विगतले उसलाई पछ्याइरहेको छ भन्ने मनोवैज्ञानिक ट्रिटमेन्ट निर्देशकले पात्रमार्फत गरेका छन् ।

अर्कोतर्फ, बेनिशाको पात्र एकदम निरिह र कुनै ट्रयापमा फसेको चरित्र महसुस हुन्छ । उनी एकातिर जड्याँहा पतिको ट्रयापमा छिन् जोसँग उनको आशा भनेको सन्तानको लागि नागरिकता बनाउनु हो । यही कमजोरी बुझेर श्रीमानले पत्नीलाई दुःख दिने, पैसा लुट्नेदेखि कुटपिटमा उत्रने कार्य गर्छ । अर्कोतर्फ, प्रहरी र परिवारको लाञ्छना उसको अर्को निरिहता हो ।

पात्रले झेलिरहेका अनेक अड्चन, ती अड्चनविरुद्ध उनीहरुले गरेको संघर्ष र उनीहरुको मनोवैज्ञानिक प्रतिक्रिया दर्शाउन निर्देशकले डिटेलिङमा काम गरेका छन् । मनोवैज्ञानिक र शरिरिक अवरोधमार्फत निर्देशक ठकुरीले पात्रको अवरोध र संघर्षलाई गहनरुपमा प्रस्तुत गरेका छन् । तर, बेनिशा पात्रको चरित्र स्थापनामा काम हुन सकेको छैन ।

बेनिशाको पात्र कहाँबाट आइ र ऊ कसरी यौनकर्ममा लाग्न बाध्य भई भन्ने पृष्ठभूमि स्थापनामा निर्देशक चुकेको देखिन्छ । दर्शकले उसको विगत, उसको भोगाइ र उसको संघर्ष बुझ्ने मौका पाउँदैनन् । उसको विगतसँग दर्शकीय सम्बन्ध स्थापित हुन सकेको छैन । बरु, भट्टराई पात्रको विगतसँग दर्शकलाई जोड्न निर्देशकले प्रयत्न गरेको देखिन्छ ।

फिल्मको सबैभन्दा मिसिङ हुने कुरा नै त्यही हो । मुख्य पात्र (प्रोटागोनिस्ट)को वर्तमान संघर्ष र अभावको चित्रणमा मात्र केन्द्रित हुँदा उसको मानवीय आयामका कतिपय छुटेका छन् । प्रकाश संयोजन र क्यामेरामा उत्कृष्ट प्रयत्न भएको छ । ‘सब-टेक्सट’को दृश्य कम्पोज गर्न प्रयोग गरिएको शैली आकर्षक छ । ती दृश्यमार्फत निरिह र पीडित पात्रबाट विद्रोही चरित्रमा मुख्य पात्रको रुपान्तरण प्रशंसनीय कार्य हो ।

फिल्म अन्ततः चरित्रको जीवन, उनीहरुको यात्रा र भोगाइ हो । फिल्ममा लम्बाइ महत्वपूर्ण होइन, निर्धारित समयभित्र कसरी कथा भन्ने शिल्प र शैली महत्वपूर्ण हो । फिल्म बनाउन ठूलो कुरा चाहिँदैन, चरित्रको गहिराइ मात्र भए पुग्छ ।

घरबाट भागेर कतै पुग्दा (पाटनको दृश्य हुनुपर्छ), त्यहाँ हिँड्दै गर्दा महिला यौनकर्मीको भेट ती पुरुष वकिलसँग हुन्छ । उक्त दृश्यपछि यी दुई पात्रमा रुपान्तरण देखिन्छ । वकिलले ती महिला पात्रको अधिकारका लागि लडाइमा साथ दिने भन्दै ती यौनकर्मीलाई त्यसतर्फ प्रेरित गर्छ । उसलाई आधारभूत अधिकारबारे बुझाउँछ । यसपछि बल्ल महिला मुख्य पात्रमा अधिकारको लडाइमा उभिने जागरुकता आउँछ ।

कथावाचन, अभिनय र निर्देशनसँग छायांकनको लय देखिएपनि पाश्र्वध्वनीले उतिसारो दर्शकीय मुड सिर्जना गर्दैन । जब प्रहरीले होटलमा छापा हानेर मुख्य पात्रलाई समात्छ, त्यतिबेला प्रहरीको वाकिटकीमा पोखरा लेकसाइडतिरको प्रहरी संवाद सुनिन्छ । तर, फिल्मको घटनाक्रम काठमाडौं वा ललितपुरको कुनै ठाउँतिर भैरहेको छ । संवाद र ध्वनीको प्रयोग एकातिर र लोकेसन अर्कोतिर, यो महत्वपूर्ण गल्ती हो ।

एजेण्डा केन्द्रित कथावाचन हुँदा यसले पात्र र फिल्म स्थापनाका धेरै पक्ष गुमेको महसुस दर्शकले गरेका छन् । फिल्म अन्ततः चरित्रको जीवन, उनीहरुको यात्रा र भोगाइ हो । फिल्ममा लम्बाइ महत्वपूर्ण होइन, निर्धारित समयभित्र कसरी कथा भन्ने शिल्प र शैली महत्वपूर्ण हो । ‘रातो पछ्यौरी’ले त्यो प्रयत्न गरेको छ । फिल्म बनाउन ठूलो कुरा चाहिँदैन, चरित्रको गहिराइ मात्र भए पुग्छ ।

कूल मिलाएर, ‘रातो पछ्यौरी’ महिला यौनकर्मी कसरी आधारभूत मानवअधिकारबाट बञ्चित छन् भन्ने कथा वरपर घुम्छ । यसले पात्रमार्फत अधिकारको लडाइमा लाग्न उनीहरुलाई प्रेरित पनि गर्छ ।

निर्देशक : मिराज रोशन ठकुरी
कलाकार : बेनिशा हमाल, जीवन भट्टराई
लम्बाई : २६ मिनेट

(नेपाल-युरोपियन फिल्म फेस्टिभलमा स्क्रिनिङ भएको यो फिल्मले महिला यौनकर्मीले अधिकारको लागि लड्ने लडाइको कथा भन्छ) ।

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?