+
+

हिरोइनलाई बचाएको टाइटानिकको काठको ‘ढोका’ साढे ९ करोडमा बिक्यो

एजेन्सी एजेन्सी
२०८० चैत १७ गते १५:१४
टाइ६ानिकमा केट विन्सलेट र लियोनार्दो डिकार्पियो ।

फिल्ममा जब प्रेमकथाको कुरा आउँछ, तब चर्चित हलिउड फिल्म टाइटानिकको नाम सबैको मानसपटलमा आउँछ ।

विश्वका नम्बर वान चलचित्र निर्देशक मानिने जेम्स क्यामरुनको उक्त फिल्म विश्वको सबैभन्दा आइकनिक लभ स्टोरीमध्ये एक हो ।

केट विन्सलेट र लियोनार्दो डिकार्पियोले निभाएको भूमिका, ज्याक र रोज अहिलेपनि मानिसहरुको स्मरणमा उत्तिकै ताजा छ, जति फिल्म रिलिज हुनेबेलामा सन् १९९७ मा थियो ।

चलचित्र जगतकै महान प्रेमकथामा सामेल टाइटानिकले जति रोमान्टिक कहानी लिएर आएको थियो, त्यसको अन्त्य पनि उत्तिकै दर्दनाक थियो । विश्वको सबैभन्दा ठूलो पानीजहाज डुबेपछि त्यसमा सवार एक प्रेमजोडी पानीमा डुबिरहेका हुन्छन् । ज्याकले आफ्नी प्रेमिकालाई बचाउन हरेक कोसिस गरिरहेको हुन्छ र समुद्रको पानीमा तैरिरहेको एउटा काठको ढोकामा चढाएर बसालेको हुन्छ ।

त्यही काठको ढोकामा तैरिएका कारण रोज बच्छिन् । तर,  बरफ सहितको पानीमा घाँटीसम्म डुबेका ज्याकको प्राणपखेरु केही समयमै उड्छ र उनी समुद्रमा बिलिन हुन्छन् ।

त्यही ट्रयाजिक रोमान्सको हिस्सा बनेको सो ‘काठको ढोका’ करोडौंमा बिक्री भएको छ ।

तर, वास्तवमा ढोका थिएन, काठको प्यानल थियो । त्यो काठको प्यानल जहाजको फर्स्ट क्लास लाउन्ज प्रवेशद्वारको एक हिस्सा थियो ।

टाइम म्यागेजिनका अनुसार हालै उक्त काठको टुक्राको लिलाम भएको छ र टाइटानिकका एकजना सुपर फ्यानले सात लाख १८ हजार ७५० डलर अर्थात् साढे ९ करोड रुपैयाँभन्दा धेरै मूल्यमा त्यसलाई खरिद गरेका छन् ।

लिलामीको सूचीकरणमा उल्लेख गरिए अनुसार उक्त काठको फ्ल्याक टाइटानिकको वास्तविक भग्नावशेषबाट प्राप्त काठको टुक्रा नभएर त्यही टुक्राहरुमध्ये एउटा टुक्रामा आधारित रहेर बनाइएको थियो ।

काठको ढोकाले सुरु गरेको बहस

टाइटानिक फिल्मको उक्त काठको टुक्राको लिलामीसँग फ्यानहरुमा २५ वर्ष भन्दा पूरानो एउटा बहस पुनः सुरु भएको छ ।

जेम्स क्यामरुनको उक्त फिल्मले मानिसहरुको हृदयमा निकै शक्तिशाली प्रभाव पारेको थियो । लियोनार्दोले गरेको ज्याक पात्रको अभिनय यतिधेरै जबरजस्त थियो कि फिल्मको अन्त्यमा उनको मृत्युलाई मानिसहरुले स्विकार्न सकिरहेका थिएनन् ।

फिल्म हेरेर बाहिरिने दर्शकहरुले एउटा प्रश्न उठाएका थिए- यदि काठको त्यो ढोकामा रोज केही पर सरेर बसेकी भए ज्याक पनि त्यसमै अट्न सक्ने थिए र दुवैजना बच्ने थिए । रोजले किन त्यसो गरिनन् ?

टाइटानिक फिल्मको उक्त काठको लिलामीको समाचारमा प्रतिक्रिया व्यक्त गर्दै एकजना एक्स प्रयोगकर्ताले लेखेका छन्- त्यो काठमा दुईजना मान्छे अटाउन सक्छन् कि सक्दैनन् भन्ने कुरा के यो काठका नयाँ मालिकले नापेर बताउन सक्छन् ?

एक अर्का एक्स प्रयोगकर्ता चाहिँ रोजको नक्कल गर्दै भन्छन्- मेरो ढोकामा हात नलगाउ ज्याक, यो करोडौंको हो ।

वास्तवमा टाइटानिक फिल्म हेर्दा जोकोहीको मनमा यो प्रश्न उठ्छ कि आखिर त्यो काठको ‘ढोका’ मा दुईजना मानिस अट्दाहुन् कि नाई ? अनि ज्याक पनि त्यो काठको टुक्रामा चढेर दुबैजना बच्ने कोसिस किन गरेनन् होला ?

ज्याक-रोज तथा काठको उक्त टुक्राको त्यो बहस टाइटानिक फिल्मका फ्यानहरुमा यति धेरै चर्किएकेा थियो कि केही वर्षअघि निर्देशक जेम्स क्यामरुनले प्रयोग नै गरेर यो पहेलीको जवाफ खोज्ने कोसिस गरे कि आखिर ज्याक बच्न सक्थे कि सक्दैनथे ?

द गार्जियनको रिपोर्ट अनुसार जेम्स क्यामरुनले भनेका छन्- हामीले दुईवटा स्टन्टबाजहरुलाई लियौं जसको शरीरको वजन केट र लियोनार्दो (फिल्मका शीर्ष कलाकार) को बराबर थियो ।

हामीले उनीहरुको शरीरभित्र र माथि पनि सेन्सर लगायौं र उनीहरुलाई बरफयुक्त पानीमा उतार्यौं । हामीले फरक-फरक विधि लगाएर प्रयास गर्यौं कि के उनीहरु दुवै जना बच्न सक्दथे ? र, जवाफ यो रह्यो – कुनै पनि तरिका यस्तो छैन कि दुवै जना बँच्न सकुन् । दुईमध्ये एक जना मात्रै बच्न सक्दथे ।

जेम्सले भलै आफ्नो तर्फबाट टाइटानिक विवादको हल गरिदिए । तर फिल्मप्रति मानिसहरुको लगाव तथा प्रेमलाई हेर्दा उनको त्यो जवाफलाई सबैले स्वीकार गर्ने अवस्था रहेन ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?