+
+

पाक्न लागेको हिउँदेबालीमा असिनाले क्षति

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १६:०३

१८ चैत, मलेखु । धादिङको उत्तरी क्षेत्रमा हावाहुरीसँगै परेको असिना पानीले हिउँदेबाली नष्ट गरेको छ । उत्तरी क्षेत्रको विकटमा पर्ने अधिकांश गाउँबस्तीमा लगाएको बाली नष्ट भएपछि किसान चिन्तित भएका छन् । वर्षदिनभरी खानका लागि लगाएको अन्नबाली क्षणभरैमै सखाप भएपछि किसान चिन्तित भएका हुन् ।

शनिबार दिउँसो परेको असिना पानीले गहुँ, मकै, जौ, सागलगायत हिउँदेबाली नष्ट गरेको गङ्गाजमुना गाउँपालिका–१ रिगाउँस्थित किचेतका दिनेश तामाङले बताए । उनका अनुसार गङ्गाजमुना, खनियाबास र रुविभ्याली गाउँपालिकाका अधिकांश किसानले लगाएको बाली असिना पानीले नष्ट गरेको छ ।

हिउँदे खडेरीमा दुःखले हुर्काउँदै गरेको आलु, मकै गहुँ, जौ लगायतका बाली असिनाले चुटेर नष्ट भएपछि अब दोहोर्‍याएर अर्को बाली लगाउनुपर्ने अवस्था आएको रिगाउँका शिक्षक पूर्णबहादुर तामाङले बताए । ‘हुर्कदै गरेको गहुँ, गोड्ने बेला भएको मकै र आलु असिना पानीले नष्ट गरेको छ’, उनले भने, ‘बारीका ढिलमा भएको रुख घाँसको समेत सिठ्ठा मात्रै बाँकी छ ।’

फागुनको पहिलो सातादेखि लगाएको मकै, पुस महिनामा लगाएको आलु सबै कामै नलाग्ने गरी बिग्रिएको तामाङको भनाइ छ ।

मकै र आलु खेतीबाट जीविकोपार्जन गर्दै आएका यस यस क्षेत्रका किसानको खुसी असिना पानीले नष्ट पारिदिएको गङ्गाजमुना–१ ताजिमग्राङका इमान तामाङले बताए । कृषि पेसामा निर्भर हुँदै आएकाहरुको खुसी पलभरमै निराशामा बदलिएको उनको भनाइ छ ।

हिउँदमा कडा परिश्रम गरेर लगाएको खेती पाक्ने समयमा यसरी असिना पानीले सखाप पारेपछि यहाँका किसानलाई बर्खामा के खाने भन्ने चिन्ता परेको छ । खनियावासको झार्लाङ, रुविभ्यालीको तिप्लिङ र गङ्गाजमुनाको रिगाउँ आसपासको आलु र मकै देशभर प्रख्यात मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?