+
+

ब्रोकर कम्पनीलाई उधारोको सास्ती, पुल एकाउन्टका सेयर बेच्न नेप्सेमा आवेदन

कमल नेपाल कमल नेपाल
२०८० चैत १९ गते ९:०२

१९ चैत, काठमाडौं । नासा सेक्युरिटिज (५८) ले एउटै ग्राहकबाट करिब २ करोड रकम उठाउन नसकेपछि ती ग्राहकको सेयर बेचेर अशुल गर्न स्वीकृति माग गर्दै नेप्सेमा आवेदन दियो ।

ती ग्राहकले केही महिनाअघि नासासहित अन्य ब्रोकर कम्पनीबाट ठूलो रकमको सेयर खरिद गरेका थिए । तर सेयर खरिद गरेपछि ब्रोकर कम्पनीलाई दिनुपर्ने रकम भुक्तानी गरेनन् । आफूसँग नगद रकम नभइकन उनले ठूलै रकममा सेयर खरिद गरेका थिए । बजार थप बढ्ने आश गर्दै बढेका बेला बेचेर ब्रोकरको रकम पनि चुक्ता गर्ने र नाफा पनि लिने उद्देश्यले ती व्यक्तिले सेयर खरिद गरेको देखिन्छ । तर खरिदपछि बजार घट्दै गयो ।

केही दिनको अन्तरालपछि भुक्तानी हुनेगरी खरिदकर्ताले ब्रोकर कम्पनीलाई चेक दिएका थिए, तर खातामा रकम नभएपछि ‘बाउन्स’ भयो । रकम भुक्तानी नभएपछि ब्रोकर कम्पनीले पनि ती व्यक्तिले खरिद गरेको सेयर उनको डिम्याट खातामा पठाएनन् ।

‘पुल एकाउन्ट’मा त्यो सेयर जम्मा भयो । त्यहीं पुल एकाउन्टमा रहेको सेयर बेचेर अहिले ब्रोकर कम्पनीले रकम अशुल उपर गर्न चाहेका छन्, जुन ब्रोकर कम्पनीको अधिकार पनि हो । नेप्सेबाट स्वीकृति पाएपछि ब्रोकर कम्पनीले ती कारोबारीले खरिद गरेको तर पुल एकाउन्टमा जम्मा भएको सेयर बेचेर रकम अशुल गर्नेछन् । अब सेयर बिक्री गर्दा पनि सम्पूर्ण रकम अशुल नहुने ब्रोकर कम्पनीहरू बताउँछन् ।

यो त एउटा उदाहरण मात्रै हो, यीबाहेक साना–साना रकममा ब्रोकर कम्पनीले उठाउन नसकेको रकम प्रशस्तै छ । सेयर खरिद गर्नुअघि कारोबारी/लगानीकर्ताले कम्तीमा २५ प्रतिशत रकम धितो (कोल्याट्रल) ब्रोकर कम्पनीको बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ । यदि १ लाख रुपैयाँको सेयर खरिद गर्ने हो भने कम्तीमा २५ हजार रुपैयाँ धितोका रुपमा जम्मा गर्नुपर्छ । हालको कारोबार प्रणाली टीएमएसबाटै कारोबारीले पहिले नै धितो जम्मा गरेर मात्रै सेयर खरिद गर्न मिल्ने व्यवस्था छ ।

कतिपय अवस्थामा कारोबारी वा लगानीकर्ताले धितो रकम जम्मा नगरे पनि ब्रोकर कम्पनीहरुले विश्वासका भरमा धितो जम्मा गरिदिएर खरिदका लागि बाटो खोलिदिन्छन् । यहीं विश्वासका कारण २ करोडको सेयर खरिद गर्नेले पछिल्लो मितिमा दिएको चेकका भरमा ब्रोकर कम्पनीले धितो मिलाइदिएका थिए ।

धितो जम्मा गरेपछि खरिद गरेको अपुग रकम (७५ प्रतिशत) भोलिपल्टसम्म ब्रोकर कम्पनीहरुलाई बुझाउनुपर्छ । सेयर खरिद गरेकाले बुझाएको रकम नै ब्रोकर कम्पनीहरुमार्फत बिक्री गरेकाले लिने हो । खरिद गरेकाले रकम समयमै नबुझाए पनि ब्रोकर कम्पनीहरुले ३ दिनभित्र बिक्रीकर्तालाई खातामा रकम भुक्तानी गर्दै आएका छन् ।

२५ प्रतिशत रकम धितोका रुपमा जम्मा गरेर सेयर खरिद गर्ने, त्यसपछि मूल्य घटेपछि, थप घट्ने जोखिम ठानेपछि वा अरु समस्याले खरिदकर्ताले रकम नबुझाउने गरेका उदाहरण प्रशस्तै छन् ।

कारोबार सम्पन्न भइसकेपछि बिक्रीकर्ताले दुई दिनभित्र मेरो सेयर प्रणालीमार्फत बेचेको सेयर हस्तान्तरण गर्दछन् । बिक्रीकर्ताबाट सेयर हस्तान्तरण भइसकेपछि सो सेयर सिधै खरिदकर्ताको डिम्याट खातामा नभई ब्रोकर कम्पनीको ‘पुल एकाउन्ट’मा आउँछ । पुल एकाउन्टमा सेयर आएसँगै राफसाफ कार्य अगाडि बढ्छ । खरिदकर्ताले पूरै रकम चुक्ता गरेको अवस्थामा मात्रै ब्रोकर कम्पनीले उसको डिम्याट खातामा सेयर जम्मा हुनेगरी स्वीकृत गर्छन् । ग्राहकको डिम्याट खातामा गइसकेको सेयर भने ब्रोकरले चलाउन सक्दैनन् ।

तर खरिदकर्ताले रकम चुक्ता नगरेको अवस्थामा ब्रोकर कम्पनीको पुल खातामै जम्मा भएको सेयर बेचेर अशुल गर्न सक्छन् । यसका लागि नेप्सेबाट स्वीकृति लिनुपर्ने नासा सेक्युरिटिजका प्रवन्ध संचालक मदन पौडेलले बताए । समग्र बजार बढ्दो क्रममा हुँदा उधारो समस्या नहुने गरेको तर घट्दा बढी समस्या हुने गरेको उनी बताउँछन् । ‘बजार बढिरहँदा उधारो समस्या रहँदैन, तर घट्दा वा उतारचढावका क्रममा यो समस्याका रुपमा देखिने गरेको छ’ उनले भने ‘पुल एकाउन्टमा रहेको केही ग्राहकका सेयर बिक्रीका लागि नेप्सेमा आवेदन पनि दिएका छौं ।’

आवेदन आइसकेपछि नेप्सेले औचित्यका आधारमा सेयर बिक्रीका लागि स्वीकृत दिन्छ र ब्रोकर कम्पनीले बेच्न पाउँछन् । यसरी बेचेपछि आफ्नो रकम अशुल उपर भई बढी भएको खण्डमा लगानीकर्ता संरक्षण कोषमा जम्मा हुन्छ । सेयर बेचेर रकम बढी भए पनि खरिदकर्ताले फिर्ता पाउँदैनन् । यदि रकम नै अपर्याप्त भएमा दायित्व खरिदकर्ताको थप हुन्छ ।

ब्रोकर कम्पनीहरुले आफ्नो पुल खाताबाट बेचेको सेयरको तथ्यांक भने नेप्सेसँग पनि छैन । पछिल्लो समय यसरी ब्रोकरबाट आउने आवेदनको संख्या बढेको प्रवक्ता मुराहरि पराजुलीले बताए । ‘सेयर बेचेर रकम अशुलका लागि आउने आवेदन बाक्लै हुने गरेको छ’ उनले भने ।

जब बजार बढ्छ, त्यसपछि अझै बढ्ने आशले आक्रामक खरिदकर्ताले खरिद बढाउँछन् । नगद रकम नभएकै अवस्थामा पनि खरिद गरेको सेयरको मूल्य बढेमा खरिदकर्ताले रकम जोहो गरी ब्रोकर कम्पनीलाई भुक्तानी गर्ने र डिम्याट खातामा सेयर पाएपछि तुरुन्तै बेचेर कारोबार मिलाउने गर्छन् । ‘बजार बढ्दो क्रममा रहँदा त केही नाफा समेत उठ्छ, त्यसकारण अन्यन्त्रबाट रकम जुटाएर पनि खरिदकर्ताले भुक्तानी गर्छन्’ अर्का ब्रोकर कम्पनी संचालकले भने ‘ब्रोकरले रकम पाइसकेपछि सेयर तुरुन्तै डिम्याट खातामा पठाइन्छ र डिम्याट खातामा सेयर पाएलगत्तै बेचेर हिसाव मिलान गर्छन् ।’

तर सेयर खरिद भइसकेपछि समग्र बजारसँगै कम्पनीको मूल्य उच्च दरमा घटेमा भने भुक्तानीमा आनाकानी हुने गरेको छ । ब्रोकर कम्पनीहरु पनि आफ्नो उधारो कारोबार रकम बताउन चाहन्नन् । आक्रामक कारोबार गर्नेहरुबाटै ब्रोकर कम्पनीहरुलाई उधारो समस्या हुने गरेको छ । यो उधारो समस्या अहिले धेरै ब्रोकर कम्पनीहरुले भोगिरहेका छन् । नयाँमा भन्दा पूराना ब्रोकर कम्पनीहरुमा समस्या रहेको संचालकहरु बताउँछन् । रकम भुक्तानीमा समस्या आउँदा समग्र बजारलाई नै नकारात्मक असर पर्ने गरेको छ ।

लेखकको बारेमा
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?