+
+

गण्डकीका मुख्यमन्त्री पाण्डे राजीनामाको तयारीमा

उपलब्ध सांसदसँग आज छलफल गर्दै

संसदबाट विश्वासको मत लिँदा बहुमत आउने नदेखेपछि आज ३ बजे उपलब्ध सांसदहरुसँग छलफल गरेर राजीनामा दिने तयारीमा मुख्यमन्त्री पाण्डे छन् । उनी ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री बन्ने रणनीतिमा छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते ७:२०

२० चैत, पोखरा । विश्वासको मत नलिने बरु राजीनामा दिएर नयाँ सरकार गठनको लागि बाटो खोल्ने योजनाका साथ गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा उपलब्ध सांसदहरुसँग छलफल राखेका छन् ।

गत फागुन २३ गते नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि गण्डकीका मुख्यमन्त्री पाण्डेले संविधानअनुसार २२ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्छ र प्रदेश सभा नियमावलीअनुसार आज मंगलबार दिउँसोसम्ममा विश्वासको मत लिने भए संसद सचिवालयमा सूचना पठाइसक्नुपर्छ । तर, मुख्यमन्त्री पाण्डेले संसदबाट विश्वासको मत लिँदा बहुमत आउने नदेखेपछि आज ३ बजे उपलब्ध सांसदहरुसँग छलफल गरेर राजीनामा दिन लागेका हुन् ।

सरकारको अबको बाटोबारे छलफल गर्ने उपलब्ध सांसदलाई डाकिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए । संसदबाट विश्वासको मत प्राप्त गर्ने स्थिति नदेखिएकाले राजीनामा दिएर फेरि मुख्यमन्त्री हुने रणनीतिका साथ नै पाण्डेले गठबन्धनमा रहेका राजीव गुरुङ (दीपक मनाङेले) भौतिक पूर्वाधार मन्त्री बनाएका थिए । किनकी दुई सदस्य रहेको राप्रपाले पनि २७ गतेको आन्दोलनअघि निर्णय नलिने बताउँदा एमाले–माओवादीको पनि स्पष्ट बहुमत पुग्दैन र फेरि ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त हुने पाण्डेको योजना छ ।

गण्डकीमा निर्णायक देखिएको राप्रपाले २७ गतेको आन्दोलन अघि कुनै पनि सरकारलाई समर्थन नदिने अध्यक्ष राजेन्द्र राजेन्द्र लिङ्देनले नै बताइरहेका छन् । अहिलेको समीकरण अनुसार एमाले र माओवादी मिलेरमात्र सरकार बन्ने स्थिति नहुँदा गठबन्धनलाई दबाब उत्तिकै छ । एमालेका २२ र सभामुखसहित माओवादीका ८ सांसदले मात्र ६० सदस्यीय प्रदेश सभामा बहुमत पुग्ने स्थिति छैन । त्यसका लागि राप्रपा निर्णायक देखिएको हो ।

२७ सांसदसहित गण्डकीको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस त झनै सत्ता संकट सजिलै टार्नसक्ने स्थितिमा छैन । एकीकृत समाजवादीमा प्रवेश गरेका मनाङका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्री बनाए पनि मुख्यमन्त्री पाण्डेलाई सत्ता जोगाउन सकस छ ।

मुख्यमन्त्री पाण्डेको सत्ता जोगिन राप्रपा, दीपक मनाङे र माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले पनि साथ दिनुपर्छ । यही बुझेरै मनाङेलाई एमाले–माओवादीका नेताहरुले एकीकृत समाजवादीमै फर्काउन छलफल गरिरहेका छन् ।

सत्ताको संकट टार्ने सन्दर्भमै निर्णय लिन भन्दै काठमाडौं पुगेका एमाले संसदीय दलका नेता खगराज अधिकारी र माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान आजै पोखरा फर्किँदैछन् । गण्डकी सरकारको नेतृत्व एमालेले प्राप्त गर्ने भनिए पनि निर्णय भइनसकेको भन्दै नेतृत्वको दाबी गर्न अधिकारी र चुमान काठमाडौं पुगेका थिए । नेताहरुका अनुसार केन्द्रको सत्ता गठबन्धनका नेताहरुबीच भागबण्डा गर्दा गण्डकी एमालेको भाग परेको छ ।

संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा पनि विपक्षीको सरकार बन्न नसक्ने हुँदा ठूलो दलको हैसियतमा फेरि आफू नै मुख्यमन्त्री  बन्ने रणनीति पाण्डेले बनाएका छन् ।

१६८ (३) बमोजिम प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरु भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखबाट आह्वान भएसँगै ठूलो दलको नेताका हैसियतले मुख्यमन्त्री नियुक्त हुने र एक महिना भए पनि लब्याउने योजनामा रहेको उनी निकट नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?