+
+

पुङ्गी खोलाले पुनर्जीवन पाउला ?

सुवास पण्डित सुवास पण्डित
२०८० चैत २१ गते १०:३१

२१ चैत, चितवन । नारायणगढ नजिकै लायन्सचोक भएर बग्ने पुङ्गी खोलालाई अहिले देख्ने जो कोहीले पनि ढल भनेर चिन्दछन् । आज पुङ्गी खोला देख्ने नयाँ पुस्तालाई लाग्दैन की यहाँ सफा पानी बग्ने खोला थियो । मानिसहरु यहीँ नुहाइधुवाइ गर्थे ।

तर बढ्दो शहरीकरणसँगै पुङ्गी खोला चपेटामा पर्‍यो । पुङ्गी खोलालाई वरपरका घर र तरकारी मण्डीको फोहोर बिसर्जनस्थल बनाइयो ।

अहिले भने भरतपुर महानगरपालिकाले पुङ्गी खोलामा कञ्चन पानी बगाउने लक्ष्यसहित खोलाको सिमाङ्कन, संरक्षण र सौन्दर्यकरण अभियान एक साथ सुरु गरेको छ । सिमाङ्कनको काम जारी रहँदा महानगरले पुङ्गीको अन्तिम विन्दु रामघाट क्षेत्रबाट सौन्दर्यकरणको काम पनि अगाडि बढाएको छ ।

महानगरपालिकाका वडा नं. ३ र ४ को सिमानामा पर्ने नारायणी र पुङ्गी खोलाको दोभानबाट सौन्दर्यकरण अभियानको सुरुवात महानगर प्रमुख रेनु दाहालले गरेकी थिइन् ।

महानगरको गौरवको योजनामा समावेश भएको पुङ्गी खोला सिमाङ्कन, संरक्षण र सौन्दर्यकरणको पहिलो चरण अन्तर्गत दुबैतर्फ ३५५/३५५ मिटर क्षेत्रमा सौन्दर्यकरणको काम गरिनेछ । वृक्षरोपण, फुटरेल, रिटेनिङ्ग वाल, रेलिङ्गसहितको मर्निङ र इभिनिङ वाक गर्न मिल्ने गरी संरचना निर्माण हुनेछन् ।

प्रारम्भिक गुरुयोजना अनुसार खोला किनारमा पर्यटकले चिया, खाजा खाने स्टेसन, विश्रामस्थल, खुला व्यामशाला पनि रहने छन् । यसका लागि २ करोड ४९ लाख रुपैयाँको बजेटमा सौन्दर्यकरणको ठेक्का टिएसएन गिरवान जेभी जोरपाटीले पाएको छ ।

भरतपुर महानगरपालिका र संघीय सरकारको बजेट खर्च गर्ने गरी थालिएको सौन्दर्यकरणको पहिलो चरणको काम ११ महिनामा भित्र गरिसक्ने सम्झौतामा उल्लेख छ ।

भरतपुरलाई सुन्दर र हेर्नलायक शहर बनाउने उद्देश्यअनुरुप दुई खोलाहरु पुङ्गी र केरुङ्गालाई हरियालीसहितको सौन्दर्यकरण गर्न लागिएको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बताइन् ।

सिमाङ्कन सकियो, कतिपयका घर नै खोलामा !

महानगरपालिकाले वडा नं. ३ का वडाध्यक्ष विकास थापाको नेतृत्वमा गठन गरेको पुङ्गी खोला संरक्षण समितिले रामघाट क्षेत्र र गणेशथान क्षेत्रबाट थालेको सिमाङ्कनको काम सकेको छ ।

पुङ्गी खोलाको सिमाङ्कन गर्न महानगरले २०२७ सालमा नापी भएको नक्सालाई आधार मानेको छ । नापी विभागले २०२२ सालमा लिएको हवाई म्याप, २०२६ सालको नापीको प्लट रजिष्ट्रर, फिल्ड बुक र स्रेस्तालाई आधार मानेर सिमाङ्कनको काम गरिएको समितिका सदस्यसचिवसमेत रहेका नापी अधिकृत विकास देवकोटाले बताए ।

वडाअध्यक्ष थापाका अनुसार २/३ ठाउँमा केही विवाद रहेको र त्यसलाई समाधान गर्ने समझदारी अनुसार सिमाङ्कनको काम सकिएको हो ।

उनले सिमाङ्ककन गर्ने काम निकै चुनौतीपूर्ण रहेको भन्दै यसकै कारण तोकिएको समयमा काम सक्न समस्या भएको बताए । ‘केही ठाउँमा खोला नै देखिँदैन, कतै व्यक्तिको जग्गामा परेको देखिन्छ, यी ठाउँहरुमा सहमतीमा सिमाङ्कन गर्ने सहमती भएको छ, वडा नं. ३ मा समस्या छैन, वडा नं. २ का केही घरधनी बाहिर भएकाले उनीहरु फर्किएपछि सहमती गर्ने भन्ने छ,’ समिति संयोजक समेत रहेका थापाले भने, ‘मुख्य विवाद समाधान भएका छन्, अब सौन्दर्यकरणको थप काम गर्न कुनै समस्या हुँदैन ।’

२०५२ सालमा सुकुम्वासी आयोगले सार्वजनिक जग्गा कतै–कतै व्यक्तिलाई बाँडेको समेत सिमाङ्कनको क्रममा पाइएको छ । वडा नं ३ र ४ को सीमा क्षेत्रमा १ नम्बर पुल नजिकै खोलाको केही जग्गा व्यक्तिलाई दिइएको छ । सिमाङ्कनका क्रममा झण्डै तीन दर्जनभन्दा बढी घर खोलाकै जग्गा मिचेर बनाएको पाइएको छ । कुनै–कुनै घर त पछि भत्काउँदा आधा हुने अवस्था छ, आधा घर नै खोलाको जग्गामा परेको छ ।

क्षेत्रपुर क्षेत्रमा धेरै घरहरूले पुङ्गी खोला मिचेर संरचनाहरू बनाएको पाइएको छ । कुनै व्यक्तिका आधा जग्गा खोला वारी, आधा जग्गा खोला पारीसमेत रहेको पाइएको छ । तर, यसपटक महानगरपालिका पुङ्गी खोला संरक्षणका लागि जस्तोसुकै परिस्थितिमा पनि दृढ भएर लाग्ने संकल्प बोकेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र राना बताउँछन् ।

महानगरले सिमाङ्कन भएका ठाउँमा ६ फिटका पिलर गाडेर नम्बरिङ गरेको छ । सिधा ठाउँमा ५० मिटर फरकमा र बाङ्गो वा घुमेको ठाउँमा २०/३० मिटरको दुरीमा पिलर गाडेर सिमाङ्कन गरिएको छ । खोलाको चौडाइ सबैभन्दा साँघुरो ठाउँमा ४ मिटर र सबैभन्दा फराकिलो ठाउँमा ६५ मिटरसम्म छ ।

लायन्सचोकभन्दा तल एनपीआई कलेज पछाडि २०२६ सालको नापी नक्सासमेत खोला देखिएको छैन । यस्तै समस्या महानगर तरकारी मण्डीको पछाडिको भागमा समेत छ । संयोजक थापाका अनुसार कतै–कतै त सिंचाइको जग्गामा समेत नक्सा पास गरेर घर उभ्याइएको छ ।

समाजमा प्रतिष्ठित भनेर चिनिएका व्यक्तिहरुलेसमेत सार्वजनिक जग्गा मिचेर संरचनाहरु बनाएको पाइएको संयोजक थापाले बताए । ‘यो महानगरको अभियान हो, सार्वजनिक जग्गा मिचेर जति बर्ष भोगचलन गर्नुभयो सकियो तर अब महानगरले लिन्छ,’ संयोजक थापाले भने ।

‘पुङ्गीमा कन्चन पानी बग्थ्यो’

आजभन्दा झण्डै ४० वर्ष अगाडि पुङ्गी खोलामा निर्मल र कञ्चन पानी बग्थ्यो । भरतपुर–११ को गणेशधामको पुण्यवती तालबाट सुरू भएको पुङ्गी खोला भरतपुर–२ को क्षेत्रपुर, लायन्सचोक, भरतपुर-४ को वडा कार्यालय हुँदै रामघाट पुगेर नारायणी नदीमा मिसिन्छ । पुङ्गी खोला लायन्सचोकभन्दा तल पुगेपछि लंकुखोला भनेर चिनिन्छ । करिब ७ किलोमिटर लामो यो खोला महानगरपालिकाको वडा नं. ११, २, ३, ४ भएर बग्ने गर्दछ ।

बुवाको हात समाउँदै पुङ्गी खोलाको सफा पानीमा पौडी खेलेको, नुहाएको स्मृति अझै पनि ताजै छ, भरतपुर महानगरपालिका वडा नंं ३ का वडाध्यक्ष विकास थापासँग । ‘शनिबारको दिन साथीभाइसँग यही खोलामा गएर दिनभर पौडी खेल्थेँ । शनिबार बिदाको दिन लंकु क्षेत्रका धेरैजसो मानिसहरू यही खोलामा नुहाउन लुगा धुन आउँथे,’ थापा स्मरण गर्छन् ।

थापाले जस्तै आफ्नो बाल्यकाल पुङ्गीमा पौडी खेलेर बिताएका भरतपुर–४ का जोन कँडेल पुङ्गीमा अहिलेभन्दा धेरै र सफा पानी बग्ने गरेको स्मरण गर्छन् । उनी पुङ्गीसँगका पुराना याद सम्झदै भन्छन्, ‘हामी सानोमा २ नम्बर पुल मुनी पौडी खेल्थ्यौँ, माछा मार्ने गर्थ्यौँ, माछा प्रशस्त हुन्थे । माछा मार्नेहरु पनि उत्तिकै हुन्थे खोलामा । कृष्णपुरदेखि मानिसहरु आफ्ना भैंसी आहाल बसाल्न, पानी खुवाउन ल्याउथेँ । गाई भैंसीले पिउनलायक पानी बग्थ्यो ।’

सानोमा देखेको पुङ्गी आज हेर्दाहेर्दै ढल बनेको देख्दा थापा र कँडेलको मन कुँडिन्छ । ‘पुङ्गी खोला, नगर वन क्षेत्र यहाँको बजार क्षेत्रलाई प्रकृतिले दिएको वरदान हो, तर हामीले चिन्न र बुझ्न सकेनौँ’ वडाध्यक्ष थापा भन्छन्, ‘विभिन्न देशमा यस्ता खोलाहरु कृतिम रुपमा तयार गरिएका छन्, हरियाली जबर्जस्ती तयार गरिएको छ, तर हाम्रोमा प्राकृतिक खोलानालाहरु पनि मासिँदै गएको छ ।’

ढल बन्दै अतिक्रमणको चपेटामा परेको यहीँ पुङ्गी खोलाको संरक्षणका लागि संयोगबस सिमाङ्कन गर्ने कामको नेतृत्व यिनै वडाध्यक्ष थापाले पाएका छन् ।

‘मलाई भित्रैबाट यो पुङ्गी खोलाको दुर्दशा देखेर मन भतभती पोलेको थियो, लौन न मलाई बचाउ भनेर मैसँग विलौना गरेजस्तो ठान्छु म यसको छेउमा उभिँदा, भाग्यबस म नै जनप्रतिनिधि भएको बेला यसको संरक्षणको दायित्व मेरो काँधमा नै आएको छ,’ थापा भन्छन् ।

संरक्षण समितिका संयोजक आफूले सानो छँदा देखेको जस्तै खोला अहिलेको नयाँ पुस्तालाई हस्तान्तरण गर्ने योजना रहेको बताउँछन् । ‘प्रमुख बजार क्षेत्र हुँदै बग्ने यो खोलाको अतिक्रमण हटाएर सुन्दर रूप दिने हो, समयमा संरचना नहटाए हामी आफैंले हटाउँछौं, संरक्षण समितिका संयोजक थापा भन्छन्, ‘म सानो छँदा जसरी पुङ्गीमा गएर पौडी खोलेर नुहाउँथे, म त्यसरी नै फेरी नुहाउन चाहन्छु, मेरो आउने पुस्तालाई मैले सानो छँदा देखेको पुङ्गी खोला जस्तै खोला हस्तान्तरण गर्नुछ ।’

खोलाका दुवैतर्फ सडक र फुटपाथ बनाउने योजना

२०४२ सालभन्दा अगाडि यसलाई पुङ्गी खोला भनिदैनथ्यो । हालको मध्यक्षेत्र प्रहरी तालिम केन्द्रको भागबाट तीनखोले मूलको पानी र महादेव मन्दिरको पछाडि देउती खोलाको मूलको पानी हिउँदमा निकै सानो र बर्खामा अलि ठूलो भएर बग्थ्यो । बर्खामा भरतपुर उकालोदेखिको पानी र नारायणगढ तथा क्षेत्रपुरमा परेको पानी यहीँबाट बग्ने गर्दथ्यो । त्यतिबेला खोला भन्दा पनि यसलाई पानी ढलोको रुपमा चिनिन्थ्यो । त्यतिबेलासम्म यसको नामकरण नगरिएको २०४९ सालमा वडा नम्बर ४ का अध्यक्ष बनेका बामदेव खनाल बताउँछन् ।

उनका अनुसार तीनधारा भन्दा तल भने लंकु खोला वा ताल थियो । तालमा पौडी खेल्ने माछा मार्न जान्थे मानिसहरु । खनालका अनुसार २०४५ सालमा आएको बाढीले गणेशस्थानमा सानो ताल फुटेर खगेरीतिर जाने पानी यता आयो । सो बाढीको एउटा भंगालो पोखरा बसपार्कतिर र अर्को लंकुतिर आएको खनाल बताउँछन् । उनका अनुसार २०४५ सालको बाढी पछि मात्रै यसको नाम पुङ्गी खोला राखिएको हो ।

धनी व्यक्तिहरुले समेत खोलाको सार्वजनिक जग्गा कब्जा गरेको सुन्नमा आएकाले उनीहरुले महानगरपालिकाको अभियानमा साथ दिनुपर्ने खनालले बताए ।

तत्कालीन वडाध्यक्ष खनालले महानगरले पुङ्गी तथा लंकु खोलाको अतिक्रमण हटाएर सौन्दर्यकरण गर्दा यसले पुनर्जीवन पाउने बताउँछन् । ‘सकेसम्म त जमिन पुग्छ भने खोलाका दुबैतर्फ सडक र फुटपाथ बनाउँदा वडा नं. ३ र ४ लाई सजिलो हुन्थ्यो, जमिन नपुगे फुटपाथ र हरियाली मात्रै बनाउँदा पनि राम्रो देखिन्छ,’ खनाल भन्छन्, ‘ढल बनेको खोला बचाएको हेर्ने रहर छ ।’

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल ‘सफा पानी बग्ने खोला, त्यसको दुबै साइडमा हरियाली सहितको फुटपाथ, मर्निङ्गवाक तथा इभिनिङ्गवाक गर्न मिल्ने आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना रहेको सुनाइन् । महानगर प्रमुख दाहालले भनिन् ‘यसको समग्र गुरुयोजना बनाएर काम गर्छौं, रकमको अभाव हुँदैन ।’

पाँच वर्ष अघि नै तयार भएको थियो डीपीआर

भरतपुर महानगरपालिकाले अहिले खोला बगिरहेको ठाउँको मात्रै नक्सा लिएर ५ वर्ष अगाडि नै डीपीआर तयार गरेको थियो । अब नापी नक्साको आधारमा खोला खोजेपछि मात्रै वृहत् डीपीआर बनाउने र त्यसलाई कार्यान्वयनमा लैजाने महानगरको योजना छ ।

महानगर प्रमुख दाहाल कुन ठाउँमा कति जग्गा निस्किन्छ सो अनुसारको विवरण प्राप्त भैसकेपछि त्यसलाई नै मुख्य आधार मानेर गुरूयोजना तयार हुने बताउँछिन् ।

बर्खाको समयमा पानी पर्याप्त भए पनि हिउँदमा पुङ्गीमा पानी कम हुने भएकोले हिउँदमा नारायणी लिफ्ट चलाएर भए पनि पानी पुंगीमा छाड्न मिल्ने गरी योजना बनाउने महानगरको सोच छ ।

भरतपुर–२ सप्तकन्या मन्दिर परिसर नजिकै पुङ्गी खोलामा प्रदेश सरकार र भरतपुर महानगरको लगानीमा रिटेन्सन वालसमेत यसअघि नै लगाइसकिएको छ ।

भरतपुर–११ गणेशथानमा ठूलो तालसहितको गणेशधाम बनाउने योजना अन्तर्गत काम भैरहेको छ । पुण्यवती तालबाट ओभरफ्लो भएको पानी यही पुङ्गीमा बगाउने सकिने गणेशधाम संरक्षण सम्वर्द्धन समितिका संरक्षक विजय सुवेदी बताउँछन् । रतपुर र नारायणगढ क्षेत्रको इतिहास झल्काउने निकै महत्वको खोला भएकाले यसको संरक्षण, विकासहितको सौन्दर्यकरण आवश्यक भएको उनले बताए ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?