+
+

संगीतमा एआईको दुरुपयोग रोक्न आह्वान गर्दै २०० संगीतकर्मीले लेखे खुलापत्र

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १७:०७
बिली इशिल (बायाँ) र निकी मिनाज

काठमाडौं । बिली इलिश र निकी मिनाजसहित २०० संगीतकर्मीले विश्व संगीत उद्योगमा कृत्रिम बौद्धिकता (एआई)को दुरुपयोग रोक्न आह्वान गरेका छन् ।

खुलापत्र लेख्दै उनीहरुले यदि एआईको जाँच नियन्त्रण नगरिएको खण्डमा यसले संगीत उद्योगको पींधसम्म असर पर्ने चेतावनी दिएका छन् । यो पत्रमा केटी पेरी र फ्रान्क सिनात्राजस्ता स्टार संगीतकर्मीले पनि हस्ताक्षर गरेका छन् ।

युट्युबसहित प्रविधिका दिग्गज कम्पनी र प्लाटफर्मले एआईबाट संगीत सिर्जना गर्ने उपकरण र प्रविधिको परीक्षण गरिरहँदा विश्व संगीतका हस्तीहरुको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।

‘हामीले कलाकारको आवाज र समानतालाई सिकारी शैलीमा चोरी गर्ने एआईको प्रयोगलाई रोक्नैपर्छ,’ उक्त खुलापत्रमा भनिएको बीबीसीले उल्लेख गरेको छ ।

उनीहरुले प्रविधि कम्पनीलाई एआईबाट संगीत सिर्जना गर्ने परीक्षण नगर्न समेत आग्रह गरेका छन् । ‘गीतकार र कलाकारको कलात्मकतालाई कमजोर पार्ने, प्रतिस्थापन गर्ने वा हामीलाई हाम्रो कामको लागि उचित क्षतिपूर्ति दिन अस्वीकार गर्ने काम रोक्नुपर्छ,’ उनीहरुले भनेका छन् ।

अभियान समूह आर्टिस्ट्स राइट्स एलायन्सद्वारा आयोजित खुलापत्रलाई एक वेबसाइटमा प्रकाशित गरिएको छ । जसमा कलाकारले भनेका छन्, ‘यदि एआई गैरजिम्मेवार रुपमा प्रयोग भयो भने यसले हाम्रो अधिकारको उल्लंघन र मानव कलाकारको सिर्जनात्मकलाई अवमूल्यन गर्न सक्छ ।’

उनीहरूले केही एआई मोडल प्रणालीलाई कलाकारको काम गर्ने शैलीअनुसार तालिम दिइएको उल्लेख गर्दै यसलाई मानवीय रचनात्मकतामाथि आक्रमण भएको बताएका छन् । ‘सिर्जनाकर्ताको अधिकार उल्लंघन गर्न र संगीतको पारिस्थितिकीय प्रणालीलाई नष्ट गर्न यसको प्रयोग भइरहेको छ,’ उनीहरुले पत्रमा लेखेका छन् ।

संगीत उद्योग संघ बेलायतका अन्तरिम प्रमुख टम किहलले आफ्नो कामलाई उनीहरूको अनुमति बिना एआईलाई तालिम दिन प्रयोग भइरहेको छ भन्ने बारेमा कलाकारले चिन्ता व्यक्त गरिरहेको बताए ।

चर्चित संगीतकर्मीहरु ड्रेक र द वीकेन्डको आवाजको नक्कल गर्दै एआईको प्रयोग गरी सिर्जना गरिएको गीत अनलाइनमा भाइरल भएपछि संगीतकर्मीले रचनात्मक अनुशासनको पक्षमा आवाज उठाउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?