+
+

‘बद्रीबहादुर’ नचले कलाकारिता छाड्छु : जयकिशन बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १७:१६

काठमाडौं । फिल्मकर्मी दाजुभाइ शोभित बस्नेत र जयकिशनलाई यतिबेला भ्याइनभ्याइ छ । शुक्रबारदेखि उनीहरु अभिनित र निर्मित फिल्म ‘बद्रीबहादुर’ देशव्यापी प्रदर्शन हुँदैछ ।

यसबारे जानकारी दिन बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन केही रोचक देखियो । जयकिशनले त यो फिल्म नचले आफूले कलाकारिता छाड्ने समेत बताए ।

उनको यो अभिव्यक्ति दर्शकीय ध्यान तान्ने काइदा हो या उनले सोच विचार गरेर यस्तो भनेका हुन्, यो कुराको पुष्टि रिलिजपछि हुनेछ । यद्यपि प्रेसमिट केही रोचक सवालजवाफले भरियो ।

फिल्म छाड्ने घोषणा गर्दै जयकिशनले भने, ‘मैले निर्माण गरेका फिल्ममध्ये पछिल्लो फिल्म धुम ४ असफल भयो । असफलताको दुःख छ । यसपटक हँसाउने फिल्म निर्माण गरेको छु । यो फिल्म चलेन भने म कलाकारिता नै छोड्छु ।’

उनले अगाडि भने, ‘शुक्रबार, शनिबार र आइतबार फिल्म मज्जाले चल्छ । चलेन भने मेरो कलाकारिताले विश्राम लिन्छ ।’ यो फिल्म कमेडी र एक्सनको मिश्रण भएकाले दर्शकले रुचाउने उनको दाबी छ ।

निर्देशक शोभित बस्नेतले यो फिल्म मौलिक मसालेदार बनेको बताए । ‘यो फिल्म हेरिरहँदा दर्शकलाई नयाँ नलाग्न सक्छ, तर हेरुञ्जेल आनन्द आउँछ । मेरो २८ वर्षे फिल्मी करियरमा बद्रीबहादुर अर्को राम्रो फिल्म हो,’ उनले भने ।

शोभितले पूजा र सलोनलाई फिल्मको ब्रान्ड एम्बेस्डरका रुपमा व्याख्या गरे । ‘एउटा राम्रो उत्पादनलाई बजारीकरण गर्न ब्रान्ड एम्बेस्डर चाहिए जस्तै हाम्रो फिल्मका लागि पूजा र सलोन ब्रान्ड एम्बेस्डर हुन्,’ शोभितले भने ।

डेब्यु कलाकार राजीवजंग बस्नेत आफूले शोभित बस्नेतकै फिल्मबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकाले उनको फिल्ममा अभिनय गरिरहन पाउनु आफ्ना लागि खुसीको कुरा भएको बताए ।

फिल्ममा जयकिसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धीरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाईं र निर्देशक बस्नेतले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?