+
+

विश्वासको मत लिनुअघि सुदूरपश्चिमका मुख्यमन्त्री आन्तरिक परामर्शमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते ९:१३

२२ चैत, धनगढी । सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

तर, सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवादका कारण मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सम्भावना कम छ ।

विश्वासको मत पाउने टुंगो नभएपछि  मुख्यमन्त्री शाह प्रदेश सभामा विश्वासको मत लिने वा सभालाई सम्बोधन गरेर राजीनामा घोषणा गर्ने विषयमा आन्तरिक परामर्शमा जुटेका छन् । शाहले कांग्रेस संसदीय दलको बैठक बोलाएका छन् ।

धनगढीस्थित मुख्यमन्त्री निवासमा बस्ने बैठकमा शाहले अहिलेसम्मको अवस्थाका बारेमा  ब्रिफिङ गर्दै प्रदेश सभा सदस्यसँग सुझाव लिनेछन् ।

नागरिक उन्मुक्ति पार्टीको विवादले गर्दा विश्वासको मत पाउने सम्भावना नरहेका भन्दै मुख्यमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने आवाज कांग्रेसभित्र उठेको छ ।

‘उहाँ(मुख्यमन्त्री) ज्यूले अहिलेसम्म गरेका सबै प्रयास अन्तिममा आएर विफल हुने देखियो । यस्तो अवस्थामा विश्वासको मत लिनुभन्दा राजीनामा दिनु उचित हुन्छ भन्ने हाम्रो भनाइ हो,’ एक प्रदेश सभा सदस्यले अनलाइनखबरसँग भने ।

मुख्यमन्त्री शाहले प्रदेश सभामा सम्बोधन गर्दै राजीना दिएमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गर्नसक्ने सांसदहरू बताउँछन् । तर, एकथरीले भने यसअघि एमालेका राजेन्द्र रावल उक्त धाराअनुसार मुख्यमन्त्री नियुक्त भइसकेको कारण उपधारा (५) अनुसार सरकार गठनका लागि आह्वान गर्नुपर्ने तर्क गरिरहेका छन् ।

अहिलेकै परस्थितिमा उपधारा (५) मा जादा प्रदेश सभा विघटनतर्फ जाने जोखिम भएकाले उपधारा(२) अनुसार नै  सरकार गठन गर्नुपर्नेमा सबै राजनीतिक दल एकमत जस्तै देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?