+
+

डेढ महिनामै तानिए महोत्तरी र सर्लाहीका एसपी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २३ गते २२:४४

२३ चैत, काठमाडौं । डेढ महिनामै जिल्ला प्रहरी कार्यालय महोत्तरी र सर्लाहीका एसपी तानिएका छन् । प्रहरी प्रधान कार्यालयले शुक्रबार १६ एसपीको सरुवा गरेको थियो ।

जसमा जिम्मेवारी सम्हालेको डेढ महिनामै महोत्तरीका एसपी श्याम राई र सर्लाहीका एसपी दयानिधि ज्ञवाली तानिएका छन् । उनीहरुले २ फागुनमा मात्रै जिल्ला कमाण्ड सम्हालेका थिए । सामान्यतया एक वर्ष नपुगी सरुवा नगरिने बताए पनि उनीहरुको डेढ महिनामै जिम्मेवारी खोसिएको छ ।

जिम्मेवारी खोसिएका मध्ये राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेर मुद्दा चलाइएका प्रहरी अधिकृत हुन् । डेढ महिनामै तानिएका ज्ञवालीलाई पनि यसअघि २०७२ फागुनमा अख्तियारले मुद्दा चलाएको थियो ।
राईको ठाउँमा महोत्तरीमा रवीन्द्रबहादुर सिंहलाई पठाइएको छ । ज्ञवालीको ठाउँमा नकुल पोखरेललाई पठाइएको छ।

त्यसैगरी जिम्मेवारी सम्हालेको ६ महिना नपुग्दै बाँकेका एसपी सुवासचन्द्र बोहराको पनि सरुवा भएको छ । उनी २५ असोजमा बाँके सरुवा भएका थिए । आर्थिक अनियमितता गरेको आरोप बोहरामाथि लागेपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले एसएसपी रमेश बस्नेतको कमाण्डमा आजै शुक्रबार मात्रै छानबिन समिति बनाएर बोहरामाथि अनुसन्धान अघि बढाएको थियो । एसपी बोहराको ठाउँमा तुलबहादुर कार्कीलाई पठाइएको छ ।

सुन प्रकरणमा कारबाहीका लागि सिफारिस भएपछि नुवाकोटको एसपीबाट तानिएका सञ्जयसिंह थापाको ठाउँमा शान्तिराज कोइरालालाई पठाइएको छ । गत १५ भदौमा मात्रै थापाले नुवाकोट प्रहरी प्रमुखको कमाण्ड सम्हालेका थिए ।

थपासँगै १५ भदौमा बाराको कमाण्ड सम्हालेका सुरेश काफ्ले पनि ७ महिनामै तानिएका छन् । उनको ठाउँमा एसपी महेन्द्र खड्कालाई पठाइएको छ । काफ्लेको पनि कमाण्ड कन्ट्रोल कमजोर भएको गुनासो आएपछि सरुवा गरिएको प्रहरी हेडक्वाटरको दाबी छ ।

त्यसैगरी पाँचै महिनामा जिल्ला प्रहरी कार्याल धनुषाका एसपी मित्रबन्धु शर्माको पनि सरुवा गरिएको छ । गत कात्तिक २३ मा आरती साह मृत्यु प्रकरणमा राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै विश्वराज खड्कालाई तानेर शर्मालाई धनुषा प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो । तर ५ महिना नबित्दै एसपी शर्मालाई धनुषा प्रहरी प्रमुखबाट हटाउँदै प्रहरी एकेडेमी महाराजगञ्जमा सरुवा गरिएको छ।

१६ भदौमै जिल्ला प्रहरी कार्यालय रौतहटको कमाण्ड सम्हालेका महेन्द्रकुमार श्रेष्ठ पनि ७ महिना नपुग्दै तानिएका छन् । एसपी श्रेष्ठलाई प्रहरी प्रधान कार्यालयको आतंकवाद प्रतिरोध संयन्त्र सचिवालयमा तान्दै रौतहट प्रहरी प्रमुखमा दिलिप घिमिरेलाई पठाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?