 
																			काठमाडौँ । कुनैबेला हलिउडको लोकप्रिय जोडी रहेको ब्राड पिट र एन्जेलिना जोलीबीचको विवाद अझै साम्य हुने छाँटकाँट छैैन । सम्बन्धविच्छेद भएको चार वर्ष बितिसकेपनि सन् २००८ मा खरिद गरेको वाइनरीलाई लिएर दुईबीच सम्पत्तिको विवाद छ ।
यो पूर्वदम्पतीले फ्रान्सको दक्षिणी क्षेत्रमा मिरावल एस्टेट र वाइनरी किनेका थिए । यो मुद्दामा नयाँ ट्विस्ट आएको छ । एन्जेलिनालाई उद्धृत गर्दै उनका वकिलले ब्राड पिटमाथि आक्रमणको आरोप लगाएका छन् । यति मात्र होइन, सन् २०१६ को चर्चित विमान घटना हुनुअघि पनि ब्राड धेरै पटक हिंसात्मक बनेको बताइएको छ ।
‘सीएनएन’ले अदालतमा पेश भएको कागजातको प्रतिलिपि प्राप्त गरेको जनाएको छ । उक्त कागजातअनुसार जोलीले फ्रेन्च वाइनरी मिरावलमा आफ्नो सेयर बेच्न खोजेको दावी गरिएको छ ।
यद्यपि, जब ब्राड पिटले ‘नन-डिस्क्लोजर एग्रिमेन्ट’ सम्झौतामा हस्ताक्षर गर्न जोड दिए, त्यसपछि यी प्रयास रोकिएका थिए । उक्त सम्झौता जोलीलाई ब्राड पिटको कथित बाल दुव्र्यवहारको बारेमा बोल्नबाट रोक्नको लागि रहेको जनाइएको छ ।
ब्राड पिटले सन् २०२२ मा यो मुद्दा दायर गरेका थिए । यसमा उनले आफू र एन्जेलिनाबीच एक अर्काको सहमतिबिना वाइनरीमा आफ्नो सेयर बेच्न नदिने सम्झौता भएको दाबी गरेका छन् । अभिनेत्रीले आफ्नो फाइलिङमा ब्राड पिटसँग शारीरिक दुव्र्यवहारको आरोप समेत लगाएकी छन् ।
सन् २०१६ को सेप्टेम्बरमा उनको परिवार फ्रान्सबाट लस-एन्जलस उड्नुअघिदेखि नै उनले यस्तो व्यवहार गरिरहेको दावी गरिएको छ । यद्यपि यसअघिका घटनाबारे थप जानकारी दिइएको छैन ।
अदालतमा पेश गरिएको नयाँ कागजातमा लेखिएको छ, ‘यस मुद्दामा एन्जेलिना जोलीले साक्षी, इमेल, तस्वीर र अन्य प्रमाणका माध्यमबाट ब्राड पिट आफ्नो नराम्रो व्यवहारबाट किन रिसाएका थिए, किन उनले मिरावलमा एन्जेलिनालाई डिल हुन दिएनन् किनभने जोलीले पिटको ‘नन-डिस्क्लोजर एग्रिमेन्ट’मा हस्ताक्षर गर्न अस्वीकार गरिन् भन्ने कुरालाई सावित गर्नेछिन् ।’
एन्जेलिनाले आफू सुरुमा यो सम्झौतामा हस्ताक्षर गर्न उनी राजी भएको किनभने त्यो समयमा यो सहमति वाइनरीको शेयर बिक्री नगर्ने बारे रहेको बताएकी छन् । तर, एन्जेलिनाले अदालत बाहेक अन्य कुनै पनि सार्वजनिक फोरममा अभिनेताको बारेमा अपमानजनक कुरा बोल्दैनन् भनेर उनीमाथि नन-डिस्क्लोजर एग्रिमेन्ट गर्न दवाव दिएको भनिएको छ ।
नयाँ फाइलिङमा यो पनि भनिएको छ कि एन्जेलिना जोलीले ब्राड पिटविरुद्ध सन् २०१६ को विमान घटनाको बारेमा कहिल्यै आरोप लगाइनन् । ब्राड पिटले यो जिम्मेवारी स्वीकार गर्नु राम्रो हुने अभिनेत्रीको विश्वास छ । यद्यपि, चलिरहेको कानुनी प्रक्रिया र ब्राड पिटको जिद्दी मनोवृत्तिले एन्जेलिना जोली र उनको परिवारलाई भावनात्मक र आर्थिक असर गरिरहेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4