प्रत्येक वर्ष झाडापखालाले नेपालको कुनै न कुनै ठाउँमा महामारीको रुप लिने गरेको छ । जसको चपेटामा सबैभन्दा बढी बालबालिका पर्छन् । विश्व स्वास्थ संगठन (डब्लुएचओ)का अनुसार विश्वभरमा प्रत्येक वर्ष यस समस्याबाट ४० लाख बालबालिकाको मृत्यु हुन्छ । सो महामारी सबैभन्दा बढी गर्मीयाममा देखिन्छ ।
डब्लुएचओका अनुसार दिनमा तीन वा तीनभन्दा बढी पटक खुकुलो वा तरलता भएको दिसा आएमा झाडापखाला भनिन्छ ।
झाडापखालालाई दुई भागमा विभाजन गर्न सकिन्छ ।
एक्युट : झाडापखला एकदेखि दुई दिनसम्म रहन्छ । र, पटक-पटक दिसा लाग्छ । र, आफैं बिस्तारै ठीक हुने झाडापखालालाई चिकित्सकीय भाषामा एक्युट डायरिया भनिन्छ ।
क्रोनिक : लामो समयसम्म चल्नु झाडापखाला केही सातादेखि चलिरहेको छ । जुन इरिटेबल बाउल सिन्ड्रोमको कारणले हुनसक्छ । आन्द्रासम्बन्धी समस्यामा पनि दीर्घ झाडापखाला लाग्न सक्छ ।
गर्मी मौसममै किन लाग्छ झाडापखाला ?
झाडापखाला गर्मी र जाडो मौसम दुवैमा देखिन्छ । तर सबैभन्दा बढी गर्मी महिनामा बिरामी प्रभावित हुन्छन् । र, यो तीव्र गतिमा फैलिन्छ । कारण भनेको तापक्रम बढेसँगै बाह्य जीवाणु सक्रिय हुन्छ । र, संख्या पनि बढ्दै दोब्बर-तेब्बर विकास हुन्छ ।
पानीको स्रोतहरु दूषित हुन्छ । दूषित पानीमा जीवाणु अति छिटो फैलिन्छ । र, खानेकुराहरु छिट्टै सड्ने र गल्ने गर्छन् । यस्ता खानेकुरा र पानी उपभोग गर्दा झाडापखाला लाग्छ । र, नियन्त्रण गर्न सकिएन भने समुदाय स्तरमा फैलिन्छ ।
अन्य कारण
संक्रमण
दूषित पानी वा खानेकुरामा सक्रिय रहेको जीवाणु तथा भाइरस तथा विषादीले संक्रमण गराउँछ । सालमोनेला, इकोली, कमपाइलोब्याकटेइ र सिगेला जस्ता ब्याक्टेरिया, गीरायिया, लामबडा, ई-हिस्टोलीटिका र व्रिप्टोस्पोरिडियम जस्ता विषादी, रोटा र नोरो भाइरस शरीरमा प्रवेश गरी पाचनमा असर गर्दा पनि झाडापखाला भएको बुझिन्छ ।
बालबालिकामा रोटा भाइरस, व्यस्कमा नोरोभाइरसले पखाला लगाउन सक्छ ।
फुड पोइजनिङ
दूषित खानेकुरा तथा पानीमा रहेको विषाक्त पदार्थले पखाला लगाउन सक्छ । एकपटक ती विषाक्तयुक्त खानेकुरा पेटमा पुगेपछि कीटाणु वा टक्सिले पखाला लाग्नसक्छ ।
एन्टिबायोटिक औषधि
कुनै रोगका कारण खाइरहेको एन्टिबायोटिक औषधिले बाह्य कीटाणुलाई मात्र नभई पेटमा भएको फाइदाजनक जीवाणुलाई पनि मार्छ । जसकारण झाडापखाला लाग्न सक्छ ।
झाडापखलाले पाचनतन्त्रको सन्तुलन कसरी बिगार्छ ?
दूषित खानेकुरा वा पानीको सम्पर्कमा रहेको भाइरस, विषादी र ब्याक्टेरियाहरुले शरीरमा पुगेपछि विषाक्त पदार्थ रिलिज गर्छ । र, यो विषाक्त पदार्थले आन्द्रामा रहेको कोषको नियमित कार्यलाई अवरोध गर्छ । कोषको अवरुद्ध भएको कोषले इलेक्ट्रोलाइट र पानी भएका तरलपदार्थलाई निकाल्छ जुन दिसामा रुपान्तरण भएर आउँछ । जसलाई हामी झाडापखाला लागेको भनेर बुझ्छौं ।
झाडापखाला लाग्दा शरीरमा पानी र इलेक्ट्रोलाइट्स (सोडियम, पोटासियम र मिनरल्स) दिसाबाटै अत्याधिक मात्रामा जाँदा शरीरमा अत्याधिक मात्रामा पानी कम हुन थाल्छ । र, तुरुन्त ध्यान दिएन भने डिहाइड्रेसन सम्बन्धी अन्य स्वास्थ्य समस्या हुनसक्छ ।
कसलाई बढी प्रभाव पार्छ ?
झाडापखाला सबै उमेर समूहलाई हुन्छ । वयस्क उमेरमा ‘एक्युट’ खालको भाडापखाला वर्षमा एक पटक र बालबालिकामा वर्षको दुई पटक देखिन्छ ।
तर गर्मीयाममा जो बढी दूषित वातावारणमा यात्रा गर्छन् वा फोहोर पानी तथा बाहिरको दूषित खानेकुरा र विषादीयुक्त खानेकुरा खाने व्यक्तिलाई पखालाले चपेटामा पार्न सक्छ ।
लक्षण
मुख्य लक्षण भनेको पातलो र पानी भरिएको दिसा पटक-पटक आउनु हो । त्यसबाहेक पेट दुखाइ, खान मन नलाग्नु, हतार-हतार दिसा गर्न जानु यसका लक्षण हुन् । पखाला लाग्दा जे खायो त्यही मुखबाट फर्किने समस्या पनि देखिन्छ ।
यी लक्षण एक दिन मात्र छ भने प्राथमिक उपचारले ठीक हुन्छ । तर पखालासँगै अत्याधिक दुखाइ, ज्वरो, बान्ता भइराख्नु, अत्याधिक तौल घट्नु (शरीरले पोषक तत्व ग्रहण नगरेको लक्षण हो) र दिसामा रगत देखा परेको छ भने तत्काल अस्पताल जानुपर्ने हुनसक्छ ।
त्यसबाहेक बालबालिकामा पखालासँगै डिहाइड्रेसन, सुक्खा छाला, वाकवाक लाग्नु र झर्को लाग्ने भएमा पनि अस्पताल जानुपर्छ ।
परीक्षण
कतिपय पखाला लागेका बिरामीमा पहिचान र उपचारको आवश्यकता हुँदैन । झोलिलो खानेकुरा खाने र आराम गर्दा ठीक हुन्छ । तर कतिपय अवस्थामा भने कारण पत्ता लगाई सोही अनुसार उपचार गर्नुपर्ने हुन्छ । चिकित्सकले मेडिकल हिस्ट्री, ट्राभल हिस्ट्री बुझ्नुका साथै संक्रमण पत्ता लगाउन रगत र दिसाको परीक्षण गर्न सक्छन् ।
उपचार
सामान्यतया घरमै खानपानमा ध्यान दिने, पर्याप्त मात्रामा पानी तथा झोलिलो र फाइबरयुक्त खानेकुरा खाने, चिल्लो खानेकुरा नखाने जीवनजल खाने गर्दा निको हुन्छ । शिशुलाई झाडापखाला लागेको छ भने पटक-पटक स्तनपान गराइरहनुपर्छ ।
यति गर्दा निको भएन भने एन्टिबायोटिक र एन्टिपारासाइट औषधि दिइन्छ । यी औषधिले संक्रमणलाई नष्ट गर्छ । पखाला लागेको समयमा क्याफिनयुक्त मदिरा तथा कफीको सेवन गर्नुहुँदैन ।
जटिलता
झाडापखलाले ल्याउने प्रमुख जटिलता भनेको डिहाइड्रेसन हो । जुन विशेषगरी ६५ वा सो भन्दा माथि उमेर समूहलाई हुनसक्छ । बालबालिका र वृद्धमा प्रतिरोधात्मक क्षमता पनि कम गराउँछ । डिहाइड्रेसन पनि भइरहेको छ तर उपचार भएन भने मिर्गौला खराब, स्ट्रोक, हृदयघात वा मृत्यु हुने जोखिम रहन्छ ।
रोकथाम गर्न सकिन्छ ?
झाडापखालालाई रोकथाम गर्न सकिन्न । तर जोखिम कम गर्न सकिन्छ ।
सरसफाइमा ध्यान दिने : शौचालय गएर आएपछि र खाना खानुअघि राम्रोसँग हातधुने, घरभित्र र बाहिरी वातावरणको सरसफाइ गर्नुपर्छ । सागपात तथा फलफूल सफासँग पखालेर र पानी शुद्धीकरण गरेर मात्र पिउनुपर्छ ।
खानेकुरालाई राम्रोसँग भण्डारण गर्ने : ठिक्क तापक्रममा खानेकुरा भण्डारण गर्ने र केही दिनमै भण्डारण गरिएको खानेकुरा पकाएर खानुपर्छ । लामो समयदेखि भण्डारण गरिएको खानेकुरा खानुहुँदैन ।
यात्रा गर्दा पानी खाँदा विचार गर्ने : यात्रा गर्दा जथाभावी बाटोमा धाराको पानी पिउनु हुँदैन, पानी दूषित भएको शंका लागेमा तताएर मात्र खानुपर्छ ।
प्रतिक्रिया 4