+
+

काठमाडौं महानगरमा थप १२ हजार विद्यार्थी पढाउने क्षमता विस्तार

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते १५:०६

३० चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्रमा थप १२ हजार विद्यार्थी पढाउने क्षमता विस्तार गरेको छ ।

महानगरपालिका भित्रका ८७ वटा सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा १० सम्म करिब ४७ हजार ६९४ विद्यार्थीलाई अध्ययन गराउने क्षमता रहेको महानगरको शिक्षा विभागले जनाएको हो ।

महानगरभित्र सामुदायिक विद्यालयको संख्या ८९ भए पनि २ वटा पुनर्निर्माणको क्रममा रहेकाले ८७ विद्यालयमा भर्ना लिन सकिने विभागले जनाएको छ । यीमध्ये ३ वटा कारागारभित्र छन् । ४ वटा विशेष विद्यालय हुन् । एउटा रात्रि विद्यालय र एउटा संस्कृत विद्यालय रहेका छन् । रात्रि र संस्कृत विद्यालयमा कक्षा ६ देखि मात्र भर्ना गर्ने गरिएको छ ।

गएको शैक्षिक सत्र २०८० मा करिब ३९ हजार ९५२ जना विद्यार्थीले अध्ययन गरेका थिए । यस वर्ष प्रारम्भिक बाल विकास कक्षाहरूमा ५ हजार ५१४ जना, कक्षा १ देखि कक्षा ९ सम्म थप ६ हजार ५६६ जना गरी १२ हजार ८० जना थप विद्यार्थी भर्ना गर्न सकिने सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले बताए ।

विद्यालयमा उपलब्ध भौतिक संरचना, शैक्षिक सामग्री, शिक्षकको संख्यालगायत सूचकका आधारमा विद्यालयहरूबाट माग गरिएको विवरणका आधारमा यो क्षमता निर्धारण गरिएको झाले बताए ।

शैक्षिक सत्र २०८१ का लागि महानगरपालिकाले वैशाख २ गतेदेखि ७ गतेसम्म ‘करले होइन रहरमा– हाम्रा बालबालिका सामुदायिक विद्यालयमा’ र ‘शैक्षिक रूपान्तरण अभियानमा सिर्जनात्मक सिकाइ, सामुदायिक विद्यालय अभिभावकको पहिलो रोजाइ’ नारासहित भर्ना अभियान गर्ने भएको छ ।

प्रारम्भिक बाल विकास कक्षादेखि कक्षा ३ सम्म एकीकृत सिकाइ हुनेछ । हरेक शुक्रबार ‘पुस्तकरहित’ कार्यक्रमअन्तर्गत कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ क्रियाकलाप हुनेछन् ।

कक्षा ९ र १० मा शिक्षामा सीप कार्यक्रम नियमित हुनेछ । विद्यालयका क्रियाकलापलाई सीसीटीभी क्यामेराबाट निगरानी गरिनेछ । कक्षा कोठाहरूमा स्मार्ट बोर्डबाट सूचना प्रविधिमा आधारित शिक्षण क्रियाकलाप गरिने विभागले जनाएको ।

लगानी बढाउँदै

सहरी योजना आयोगका झाका अनुसार शैक्षिक सुधारका लागि लगानी बढाउँदै लगिएको छ । यस वर्षका लागि करिब २ अर्ब ७५ करोड रुपैयाँ विनियोजित छ ।

यसमा नियमित ९२ करोड २९ लाख रुपैयाँ, ५० करोड शिक्षातर्फका महानगर गौरव योजनाका लागि, ५ करोड रुपैयाँ स्वर्णिम योजनाका लागि छुट्ट्याइएको छ । यसमा १ अर्ब ४७ करोड आन्तरिकतर्फ र संघबाट प्राप्त हुने १ अर्ब २७ करोड रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?