+
+

टीकापुरमा फोहोर बोक्ने गाडी भित्रिएपछि नगर सफा 

रासस रासस
२०८१ वैशाख ३ गते १५:३६

३ वैशाख, टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले सरसफाइसम्बन्धी सन्देशमूलक गीत सुनाउँदै बजार क्षेत्रमा फोहोर संकलन गर्ने गरेको छ । नगरपालिकाको फोहोर बोक्ने गाडी आउँदा ‘सरसफाइ गरौं’ भन्ने सन्देशमूलक गीत बजाउँदै आउने गरेको स्थानीय गणेश चौधरीले बताए ।

टीकापुर बजार क्षेत्रमा दैनिक ५ ट्रली फोहर संकलन हुने गरेको छ । फोहोर संकलनका लागि नगरपालिकामा नवप्रवर्द्धन कार्यक्रमअन्तर्गत गत वर्ष नै ‘गारबेज कम्प्याक्टर मेसिन’ (फोहर बोक्ने मेसिनसहितको गाडी) प्राप्त भएको थियो । उक्त मेसिन सुदूरपश्चिममै ठूलो रहेको नगरपालिका कार्यालयको दाबी छ ।

पालिकाभित्र फोहोर संकलन गर्न दुई वटा ट्रली र एउटा फोहर वाहन दैनिक प्रयोग हुने गरेको छ । साथै १४ जना सरसफाइकर्मी दैनिक सरसफाइमा जुट्ने गरेका छन् ।

‘बिहान ५ बजेदेखि सरसफाइ सुरू गर्छौं, नगरबासीले डस्टबिन (फोहोर फाल्ने भाँडो)मा फोहोर राखिदिएमा सहज हुने थियो’, सरसफाइकर्मी कालुराम डगौंरा थारुले भने, ‘फरकफरक खालका फोहोर फरक भाँडोमा राखिदिएमा हामीलाई सजिलो हुने थियो । नगरबासीले सबै खाले फोहोर एउटै डस्टबिनमा राख्ने गर्नुहुन्छ ।’

विगतमा बजार क्षेत्रमा मात्र सरसफाइ गरिने गरिएको थियो । हाल सेवा विस्तार गरी वडा नं १ का केही ब्लक, वडा नं ५ को टीकापुर पार्क रोड, वडा नं २, वडा नं ३ का बजार क्षेत्रमा समेत सरसफाइ गर्न थालिएको डगौराले जानकारी दिए ।

सरसफाइकर्मी सञ्जु कुश्मीले हरेक दिन बिहान ६ घण्टा सरसफाइमा खट्ने गरेको बताइन् । ‘सरसफाइ गर्दा चोटपटक लाग्ने, कहिलेकाहीं सुई (सिरिन्ज), सिसाले काट्ने डर हुन्छ’, उनले भनिन्, ‘फोहोरमा काम गर्दा विभिन्न रोग लाग्ने, चोटपटक लाग्ने भएकाले पालिकाले स्वास्थ्य बीमा गरिदिनुपर्ने माग गरिरहेका छौं ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्द्धन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ जारी गरी देशका विभिन्न पालिकामा उक्त कार्यक्रम लागू गरेको हो । पहिलो वर्ष टीकापुरसहित सुदूरपश्चिमका ४ पालिका छनोटमा परेका छन् । टीकापुरमा फोहर व्यवस्थापन र गौशालामा ग्यास उत्पादनमा लगानी गरिएको नगरपालिकाका इञ्जिनियर नवराज जोशीले बताए ।

‘हामीले नवप्रवर्द्धन कार्यक्रममार्फत प्रदेश सरकार र स्थानीय तह मिलेर सरसफाइका क्षेत्रमा लगानी गर्‍यौं’, उनले भने, ‘नगर सफा राख्न र वडा नं २ मा रहेको गौशाला व्यवस्थापन, गोबरबाट ग्यास उत्पादन, गोबर मल उत्पादनमा समेत लगानी गरेका छौं ।’

नवीनतम् सोच, अवधारणा, लगानीको ढाँचा र प्रविधिका माध्यमबाट फरक तरिकाले उद्यमशीलता, सीप विकास, वस्तु तथा सेवाको उत्पादन तथा वितरणमा यस कार्यक्रमले सहयोग गर्ने इन्जिनियर जोशीको भनाइ छ ।

नगरपालिकालाई फोहोर संकलनमा समस्या नभएको भन्दै व्यवस्थापन तथा फोहर फाल्ने ठाउँको केही समस्या रहेको नगरपालिकाका सरसफाइ उपशाखा प्रमुख लोकबहादुर बुढाले बताए । हाल अस्थायी रुपमा फोहर व्यवस्थापन गरिंदै आएको उनको भनाइ छ ।

कार्यपालिकाले टीकापुर नर्सरीको १० कठ्ठा जमिनमा ल्याण्डफिल साइट बनाउने निर्णयसँगै बजेट व्यवस्था गरेकाले केही सहज हुने बुढाले बताए । ‘अहिलेसम्म सङ्कलित फोहोर व्यवस्थापनमा समस्या छ’, उनले भने, ‘केही दिनअघिको कार्यपालिका बैठकले ठाउँ र बजेट व्यवस्था गरेको छ । अब फोहोर व्यवस्थापनमा समेत सहज हुनेछ ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?