+
+

नागढुंगा ब्रेकथ्रुपछि प्रचण्ड : राजमार्गमा सुरूङमार्ग र फ्लाइओभरमा जोड दिन्छौं

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते १५:५२
सोमबार सिस्नेखोला नागढुंगा सुरुङ छिचोलिएको अवसरमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

३ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय राजमार्गहरूमा सुरूङमार्ग, फ्लाइओभर तथा अन्डरपास निर्माणमा जोड दिने बताएका छन् ।

सोमबार सिस्नेखोला नागढुंगा सुरुङ छिचोलिएको अवसरमा बोल्दै उनले राष्ट्रिय राजमार्गहरुमा सुरुङ, फ्लाइओभरजस्ता आधुनिक सडक सञ्जाल विस्तार तथा निर्माण गर्ने नीति लिने बताएका हुन् ।

उनले काठमाडौंबाट नारायणगढ, भैरहवा, वीरगञ्ज, पोखरा विराटनगरलगायतका ठाउँसम्म कम समय र थोरै लागतमा ढुवानी हुनसक्ने द्रूतमार्गहरु बनाउनुपर्ने पनि बताएका छन् । नागढुंगा सुरुङमार्ग छिचोलिएपछि नेपाल पूर्वाधार विकासको नयाँ गन्तव्यमा प्रवेश गरेको उनले घोषणा गरेका छन् ।

सिस्नेखोला– नागढुंगा सुरूङले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालन खर्च घटाउने भन्दै उनले यसबाट सङ्घीय राजधानी काठमाडौं र देशका अन्य प्रमुख शहरहरूबीचको सहज यातायात सञ्जालमा योगदान पुर्‍याउने बताए ।

‘यस सुरूङमार्गलाई आधार मान्दै नेपाली माटो सुहाउँदो सुरूङसम्बन्धी दस्तावेज निर्माण हुनेछ । यसले नेपाललाई सुरूङ युगमा पुर्‍याउन महत्वपूर्ण योगदान गर्नेछ’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको निर्माण कार्य समयमै सम्पन्‍न गर्न मिहिनेत गरिरहेको बताएका छन् । केही दिनभित्र सुनकोशी मरिन डाइभर्सन सिँचाइ आयोजनाको पनि सुरूङ छिचोलिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?