+
+

सुन, घरजग्गा र सेयरलाई उछिन्दै रोलेक्स बन्यो लगानीको नयाँ अस्त्र

घडीलाई आभुषण वा विलासिताको वस्तुभन्दा पनि सम्पत्तिका रुपमा हेर्ने दृष्टीकोणको विकास भइरहेको छ । सेकेण्ड ह्याण्ड घडीको बजार बढ्दै जाँदा लगानीकर्ताले सुन, घरजग्गा र शेयर बजारको विकल्पको रुपमा विलासी घडीमा लगानी गरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ९ गते ११:१५

९ वैशाख, काठमाडौं । लगानी भन्ने वित्तिकै घर जग्गा कारोबार, शेयर बजार, सुन चाँदी खरिद आदितर्फ मानिसको केन्द्रित हुन्छ । तर, पछिल्ला दिनमा हाते घडी समेत लगानीको आकर्षक उपकरण बन्न थालेको छ ।

बेलायतबाट सुरु भएर स्वीजरल्याण्डमा स्थानान्तरण भएको रोलेक्स ब्रान्डको घडीमा लगानीकर्ताहरुको आकर्षण बढेको छ । रोलेक्सतिर लगानीकर्ता लोभिनुको एउटै कारण हो– सम्पत्ति सिजर्ना गर्ने लगानीका अन्य उपकरणभन्दा यसमा धेरै प्रतिफल पाउन थाल्नु ।

गत मार्चमा रोलेक्सको डेटोना मोडलको घडीको मूल्य ४८ हजार ५०० डलर पुगेको थियो । हाल भने त्यसको मूल्य दोस्रो बजारमा ३० हजार डलर रहेको वाचचार्टले जनाएको छ । सन् २०२२ को विभिन्न महिनाको तथ्यांक हेर्दा दोस्रो बजारमा रोलेक्स घडीको मूल्य निकै आकासिएको थियो । बब्स वाचेसका अनुसार लगानीका दृष्टीकोणले वितेका दशकमा सुन र शेयर बजारको तुलनामा रोलेक्सको प्रतिफल राम्रो रहेको छ ।

विलासी घडी विक्री वितरण गर्ने साइट कोर्नो ट्वान्टी फोका अनुसार त्यस साइटमा २५ प्रतिशत खोजी रोलेक्ससँग सम्बन्धित छ । त्यहाँको विक्री मध्ये १४ प्रतिशत रोलेक्स कम्पनीबाटै हुने र ८० प्रतिशत व्यक्तिगत स्वामित्वको हुने बताइएको छ ।

कोर्नो ट्वान्टी फोका संस्थापक टीम स्टार्कका अनुसार घडीमा लगानीको प्रतिफल यस वर्षको जनवरीदेखि बढेको थियो । ‘घडीमा लगानी गरेकाहरुका निम्ति जनवरी देखि यताका महिनामा निकै फलिफाप भयो तर मार्च र अप्रिलमा जस्तो राम्रो प्रतिफल अन्य महिनामा प्राप्त भएन । आगामी महिनामा यसको नतिजा के होला निकै खुलदुली छ’ उनले बिजनेश इन्साइडरसँग भनेका छन् ।

कोर्नो ट्वान्टी फोका अनुसार घडीमा नाटकीय रुपमा मूल्यवृद्धिले मुख्य तीनवटा ब्रान्डमा आकर्षण बढेको छ । रोलेक्स, पाते फिलिप र अडमार्स पिगेटमा लगानीकर्ताको ध्यान केन्द्रित छ । ‘यी तीन ब्रान्डको तुलनामा अन्य ब्रान्डप्रति लगानीकर्ताको आकर्षण निकै कम छ,’ स्टार्कको भनाइ छ ।

अनलाइनमार्त घडी विक्री वितरण गर्दै आएको बब्स वाच्सका प्रमुख कार्यकारी अधिकृत पल अलेरीले रोलेक्सको मूल्य हाल बढेपनि पाँच वर्षअघिकोझैँ नभएको बताएका छन् । रोलेक्सको रणनीतिक मूल्य कायम गर्दै हरेक मोडल विक्री गर्दै आएका उनी भन्छन् ‘रोलेक्सको मूल्यमा हाल क्रमशः वृद्धि हुँदै आएपनि पाँचवर्षअघिकोझैँ स्थिति अहिले अलि छैन ।

रोलेक्सको मूल्य हालैका दिनमा बढ्नुमा आपूर्तिमा आएको कमी पनि भएको उनी बताउँछन् । लोकप्रिय ब्रान्ड रोलेक्सले प्रतिवर्ष ८ लाख थान घडी उत्पादन गर्छ । ब्रान्डको माग धेरै भएपनि निश्चित थान मात्रै उत्पादन गर्ने भएकाले दोस्रो बजारमा भाउ बढ्ने गरेको पलको भनाइ छ ।

सन् २०१७ देखिको तुलना गर्ने हो भने रोलेक्सको भाउ सन् २०२० र २०२२ देखि ह्वात्तै बढ्न थालेको हो । सन् २०२२ को फेब्रुअरीमा रोलेक्सको मूल्यमा औसतमा १३ हजार डलर थियो । सन् २०११ को तुलनामा यो करिब तीन गुणाले बढी हो । सन् २०११ मा औसतमा ५ हजार डलर पर्ने रोलेक्स सन् २०२२ मा १३ हजार पुगेको थियो । ‘घडी किनेर स्टोर छोड्नु अगावै मूल्यमा दुइगुणासम्म वृद्धि भएको स्थिति छ । रोलेक्स किन्ने सुचीमा आफ्नो नाम चढाउन मात्रै मानिसहरुले २ वर्षसम्म प्रतिक्षा गरेको अवस्था छ’ पल भन्छन ।

लक्जरी बजारअनुसार रोलेक्स डेटोना पान्डाको मुल्य सन् २०१७ देखि २०२३ को अवधिमा १० दशमलव १५ प्रतिशतले बढेको छ । वाच चार्टस डटकमका अनुसार रोलेक्स कस्मोग्राफ डेटोनाको सन् २०२२ जनवरीमा सुरुवाती मूल्य ८२ हजार १०० डलर रहेकोमा मार्च ४ २०२४ मा ९७ हजार डलर पुगेको छ । यसको मूल्यवृद्धिमा विभिन्न कारणले प्रभाव पारेको हो । त्रुटिरहित शिल्पी, बजारमा उपलब्ध सिमिति संस्करण र बजारमा उच्च मागका कारण मूल्य लगातार बढिरहेको छ ।

सिमित उत्पादनकै कारण रोलेक्सले गत डिसेम्बरबाट सेकेण्ड ह्याण्ड घडी विक्रीको काम आफैँ सुरु गरेको थियो । नयाँ स्कीमअनुसार सेकेण्ड ह्याण्ड घडीमा समेत कम्पनीले ग्यारेन्टी प्रदान गरिरहेको छ । ‘ब्रान्डलेनै प्रमाणीकरण गरी ग्यारेन्टी प्रदान गर्दा सेकेण्ड ह्याण्ड घडी विक्रीको प्रामाणिकता थप बढेको छ, रोलेक्सले विज्ञप्तिमार्फत भनेको छ ।
सेकेण्ड ह्याण्ड घडीको बजार हाल २० अर्ब डलरको रहेको र सन् २०२५ सम्म २९ अर्ब डलरसम्म पुग्ने प्रक्षेपण गरीएको छ ।

आगामी तीन वर्षमा घडीमा लगानीको प्रतिफल थप बढ्ने स्टार्कको अपेक्षा छ । ‘हातमा बाँध्नका लागि आकर्षक शिल्पको खोजी गर्नेभन्दा पनि मूल्यको स्थिरता हेरेर घडीमा लगानी गर्नेहरुको संख्या बढिरहेको छ । घडी अब आभुषण वा विलासिताको वस्तुभन्दा पनि सम्पत्तिका रुपमा हेर्ने दृष्टीकोणको विकास भइरहेको छ’ स्टार्क भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?