+
+

हत्या आरोपीलाई भगाउन मोटरसाइकलको चाबी दिनेविरुद्ध पनि मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १२:१९

६ वैशाख, काठमाडौं । ललितपुरको ढोलाहिटीमा फागू पूर्णिमाको राति दुई जनाको हत्या गरेका आरोपीलाई भगाउन मोटरसाइकलको चाबी दिनेविरुद्ध पनि मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ ।

हत्या आरोपीलाई भगाउन मोटरसाइकलको चाबी दिएको आरोपमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ घर भएका २५ वर्षीय सुशील राईविरुद्ध मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको हो ।

यसअघि प्रहरीले हत्यामा पाँच जनाको संलग्नता रहेको भन्दै उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । तर पक्राउ परेकाहरूले बयानमा मोटरसाइकलको चाबी सुशीलले दिएको बताएपछि उनलाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ ।

प्रहरी वृत्त चापागाउँका प्रमुख, डीएसपी डिलबहादुर मल्लले सुशीलसहित ६ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित जिल्ला सरकारी वकील कार्यालय ललितपुरमा अनुसन्धान प्रतिवेदन बुझाइएको बताए । ‘६ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित आज बिहीबार प्रतिवेदन पठाएका छौं’ डीएसपी मल्लले अनलाइनखबरसँग भने ।

सुशीलले मोटरसाइकलको चाबी दिएपछि मोटरसाइकलमा राखेर हत्याको मुख्य अभियुक्त विजय राईलाई राजु गुरुङले बूढानीलकण्ठसम्म पुर्‍याएको खुलेको थियो । २० चैतमा राजुले जिल्ला प्रहरी परिसर ललितपुरमा आत्मसमर्पण गरेका थिए । घटना भएलगत्तै प्रहरीले चार जनालाई पक्राउ गरेको थियो ।

फागू पूर्णिमाको राति होटलमा मदिरा खाने दुई समूहबीच झडप हुँदा दुई युवक मारिएका थिए ।

ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा राति ११ बजेतिर पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रेबस राई र सुनसरी घर भएका ३० वर्षीय पुजन राईको हत्या भएको थियो ।

डी पोपिना खाजाघरमा दुई पक्षबीच विवाद हुँदा चक्कु प्रहारबाट उनीहरूको हत्या भएको थियो । डी पोपिनाका तीन सञ्चालकमध्ये एक विजय राई घटनाका मुख्य अभियुक्त रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । उनले नै हानेको चक्कुका कारण दुई जनाको मृत्यु भएको प्रहरीको दाबी छ ।

कर्तव्य ज्यानको मुद्दा चलाउन सिफारिसमा परेकाहरूमा खोटाङको साकेला गाउँपालिका–२ सेखुवा घर भई ललितपुर जैनखेल बस्ने ३१ वर्षीय विजय राई, साकेला गाउँपालिका–२ रतन्छा घर भई ललितपुर खुमलटार बस्ने ३० वर्षीय सुलभ राई, भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२ अन्नपूर्ण घर भई ललितपुर जैनखेल बस्ने ३८ वर्षीय विशाल हाङ मुकारुङ राई, काठमाडौंको गोकर्णेश्वर नगरपालिका–११ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने २५ वर्षीय छेङ्वीहाङ राई, दिपु्रङ चुइचुम्मा गाउँपालिका–१ घर भएका २५ वर्षीय सुशील राई र तेह्रथुमा राजु गुरुङ गरी ६ जना छन् ।

पक्राउ परेका डी पोपिना खाजाघरका सञ्चालक विजयलाई यसअघि लागूऔषधको कसुरमा २०७५ सालमा प्रहरी वृत्त थानकोटले पक्राउ गरेको थियो । त्यतिबेला २ वर्ष जेल बसेर उनी २०७७ सालमा कारागारमुक्त भई खाजाघर खोलेका थिए ।

खाजाघरका अर्का सञ्चालक सुलभले भने प्रमाण नष्ट गर्ने काम गरेको अनुसन्धानबाट खुलेको थियो । उनले घटनास्थलको रगत धोइपखाली प्रमाण नष्ट गर्ने काम गरेको र नियोजित रूपमा घटनालाई लुकाउने प्रयास गरेको प्रहरीको भनाइ छ ।

अर्का प्रतिवादी विशाल भने मृतक रेबस र छेङ्वीहाङसँग विवाद गर्ने व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरूबाट सुरु भएको विवाद उग्र बन्दा २ जनाको ज्यान गएको थियो ।

आत्मसमर्पण गरेका गुरुङले भने विजयलाई मोटरसाइकलमा राखेर भगाउन सहयोग गरेका थिए । अहिले प्रतिवादी बनाइएका सुशीलले मोटरसाइकलको चाबी दिएको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?