+
+

एक वर्षमा पर्यटकको ५३२ उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १८:०९
फाइल तस्वीर

६ वैशाख, काठमाडौं । नेपाल घुम्ने आउने पर्यटकले एक वर्षमा ५३२ वटा उजुरी पर्यटक प्रहरी समक्ष गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यसरी आएका उजुरीमध्ये ३४५ वटा विभिन्न सामान हराएको सम्बन्धमा छन् । दोस्रो स्थानमा चोरीका उजुरी आएका छन् । ८२ वटा उजुरी चोरी सम्बन्धमा आएको देखिएको छ ।

मन्त्रालयका अनुसार ठगीमा ३३ वटा उजुरी गरेका छन् । उत्पीडनबारे २८ र डकैतीमा १३ उजुरी गरेका छन् । विभिन्न ५ वटा उजुरी धम्की दिएको सम्बन्धमा छन् । पर्यटक हराएको उजुरी ४ वटा परेको तथ्यांकमा देखिएको छ । दुई वटा दुर्घटना, पाकेटमारीमा दुई र एउटा अपहरणको उजुरी समेत पर्यटक प्रहरीमा दर्ता भएको तथ्यांकमा देखिएको छ । यस वर्ष १० लाख १४ हजार पर्यटक नेपाल आएका थिए ।

पर्यटकमाथि हुने यस प्रकारका घटना र उजुरी सबैभन्दा धेरै सन् २०१९ मा आएका थिए । सो वर्ष पर्यटक आगमन समेत अधिक थियो । सो वर्ष ६३३ वटा उजुरी आएका थिए । सन् २०२० मा ५४०, सन् २०२१ मा ७९, सन् २०२२ मा १८० यस्ता उजुरी दर्ता भएको मन्त्रालयको तथ्यांक छ ।

यसरी उजुरी दर्ता गराउनेमध्ये सबैभन्दा धेरै भारतीय छन् । उनीहरुको संख्या ७० छ । चिनियाँ नागरिक ६५, अमेरिकी ४६, बेलायती ४१, फ्रान्सका २८, अष्ट्रेलियाका २६ र जर्मनका २० नागरिकले उजुरी गरेका छन् । उजुरी दिनेमध्ये १७२ जना महिला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?