+
+
एसिसी प्रिमियर कप सेमिफाइनल :

नेपाललाई युएईसँग त्यो हारको बदला लिने अवसर

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८१ वैशाख ६ गते २०:४६

६ वैशाख, काठमाडौं । नेपालले सन् २०२२ फेब्रुअरी २२ मा आईसीसी टी–२० विश्वकप क्वालिफायर ए को सेमिफाइनलमा युएईसँग अल अमरेत क्रिकेट ग्राउन्ड–१ मा खेल्दै थियो ।

नेपालको चाहना युएईलाई हराउँदै अष्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्ने थियो । सन् २०१४ पछि पुनः विश्वकप खेल्ने चाहना पूरा हुन लागेकाले खेलाडीहरु उक्त खेललाई लिएर उत्साहित थिए ।

ओमान, क्यानडा र फिलिपिन्सलाई हराउँदै नेपाल समूह बी बाट अपराजितका साथ सेमिफाइनल पुगेको थियो । युएई आयरल्यान्ड र जमर्नीलाई हराउँदै र बहराइनसँग पराजित भए पनि सेमिफाइनल पुगेको थियो ।

टस जितेर पहिला ब्याटिङ रोजेको युएईलाई ओपनर वृत्य अरविन्दले २३ बलमा ५ चौका र ३ छक्कासहित ४६ रनको आक्रामक सुरुवात दिलाउँदै आउट भएका थिए । मोहम्मद वासिम ४८ बलमा ४ चौका र छक्कासहित ७० रन बनाएपछि युएईले २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो ।

तर त्यो लक्ष्य नै भारी बन्दा नेपाल ६८ रनले पराजित हुँदै विश्वकपमा पुग्न सकेन । जुनैद सिद्दिकले ३ र अहमद राजाले ५ विकेट लिएपछि नेपाल १०७ रनमा अल आउट भएको थियो । नेपाली क्रिकेटले भोगेको त्यो एउटा ठूलो पीडादायी क्षण थियो । त्यसअघि पनि नेपाल विश्वकपमा पुग्न सकेको थिएन । तर त्यसपटक आशा र अपेक्षा बढी थियो ।

सोही मैदानमा एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा नेपाल र युएईबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ । अर्को सेमिफाइनलमा ओमान र हङकङ भिड्नेछन् । प्रतियोगिता विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने अवसर पाउनेछन् । नेपाल ए को समूह विजेता र युएई समूह ए को उपविजेता हो ।

दुई वर्षअघिको त्यो हारको बदला लिँदै नेपाल फाइनलमा स्थान पक्का गर्ने सोचमा छ । पछिल्लो एक वर्षमा नेपालको सुधार लोभलाग्दो छ । युएईको टोलीमा खासै परिवर्तन छैन, त्यहाँको क्रिकेट आन्तरिक राजनीतिमै अल्झिएको छ ।

नेपाल र युएईबीचको खेललाई एसोसिएट एल क्लासिको पनि भन्न थालिएको छ । पछिल्लो समय नेपाल युएईमाथि लगातार हाबी बनेको छ । गतवर्ष प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले पहिलो पटक एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो ।

नेपालले आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै १० वर्षपछि विश्वकपमा स्थान बनाएको थियो । आईसीसी विश्वकप लिग–२ को अन्तिम खेलमा ३१० रन बनाएर पनि युएई हारेको थियो । विश्वकप र एसिया कप खेल्न नपाएको पीडा युएईले ओमानमा पुगेर भुलाउन चाहेको छ ।

नेपालले घरेलु दर्शक र मैदान भने धेरै मिस गर्नेछ । पछिल्लो समय लगातार अन्तर्राष्ट्रिय क्रिकेटमा ब्यस्त भएको नेपालको मनोबल उच्च छ । यसअघि जस्तो खेल अनुभवमा कुनै कमी छैन ।

ओमानमा युएईविरुद्ध कमजोर इतिहासबारे कप्तान रोहित पौडेलले विगतको कुरा महत्वपूर्ण नहुने प्रतिक्रिया दिए । ‘विगतमा के भयो त्यो मलाई महत्वपूर्ण जस्तो लाग्दैन । भविष्यमा आउने के हो र वर्तमानमा बस्न एकदमै महत्वपूर्ण छ । आउने खेलको लागि सबै तयार छन् । आफ्नो उत्कृष्ट क्रिकेट कसरी खेल्ने त्यही मात्रै सोच छ’, रोहितले भने ।

यसअघि मोहम्मद वासिममा बढी निर्भर युएईले उनी नचल्दा पनि राम्रो गरेको छ । वृत्य अरविन्द पढाइका कारण हाल टिममा छैनन् । तर उनको स्थानमा ओपनिङ गरेका एलिसान शराफुले ४ खेलमा २ अर्धशतकसहित १८९ रन बनाउँदै यो प्रतियोगितामा धेरै रन जोड्नेको तेस्रो स्थानमा छन् ।

आसिफ खान ४ मध्ये ३ खेलमा अर्धशतकका साथ २११ रन जोड्दै शीर्ष स्थानमा छन् । मोहम्मद वासिम १५८ रनका साथ पाँचौं स्थानमा छन् । बासिल हामिद, आयन खान र अली नासिर पनि मध्यक्रममा राम्रो ब्याटिङ गर्न सक्ने खुबी भएका क्रिकेटर हुन् । बलिङ युएईको कमजोर पक्ष हो ।

तीव्र गतिका बलर जुनैद सिद्दिक र स्पिनर आयन खानबाहेक अन्य प्रभावशाली बलर टोलीमा छैनन् । सर्वाधिक रन बनाउने ब्याटरमा शीर्ष १० मा नेपाली खेलाडी छैनन् । आसिफ शेख १२६ रनका साथ ११ औं स्थानमा छन् । त्यसपछि दीपेन्द्रसिंह ऐरी १०१ रनका साथ २० औं स्थानमा छन् ।

दीपेन्द्रको उच्च लय

नेपालका प्रमुख खेलाडी दीपेन्द्रले ४ खेलमा ६ विकेट लिनुको साथै १०१ रन बनाएका छन् । कतारविरुद्ध एकै ओभरमा ६ छक्कासहित ६४ रन बनाएका थिए । उनको अफ स्पिन खेल्न हरेक विपक्षी ब्याटरले संघर्ष गरेका छन् । फिल्डिङबाट खेललाई मोड्न पनि सक्छन् उनको लयले टोलीलाई थप ऊर्जा प्रदान गरेको छ ।

नेपालसँग ९ नम्बरसम्म ब्याटिङबाट खेल जिताउन सक्ने खेलाडी हुँदा मनोबल उच्च छ । युएईका ब्याटर तिब्र गति भन्दा स्पिनमा बढी संघर्ष गर्ने गर्छन् । करण केसी र सोमपाल कामीले पावर प्ले भित्र वासिमलाई आउट गरे खेलमा नेपालको पकड हुनसक्छ ।

नेपाल र युएईबीच ९ टी–२० आई खेल भएका छन् । नेपाल ५ मा जित र ४ मा पराजित भएको छ । पछिल्लो एक वर्षमा नेपालले युएईसँग घरेलु मैदानमा चारमध्ये तीन खेलमा जित हात पारेको छ । जसमध्ये त्रिकोणात्मक सिरिजको फाइनलमा पराजित भएको थियो ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी. र अभिनाश बोहरा ।

यूएईको टोली :

मोहम्मद वासिम (कप्तान), आयन खान, एलिशान शराफु, अली नासिर, आसिफ खान, बासिल हामिद, जुनैद सिद्दिक, मोहम्मद फारुक, मोहम्मद हैदर शाह, ओमैद रहमान, राहुल भाटिया, राजा अकिफ, टानिश सुरी र विष्णु सुकुमारान ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?