
१४ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्ला चार वर्षमा आगलागीबाट ५५ जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आगलागीकै कारण ६७ करोड ९७ लाख ३२ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
कर्णालीमा आर्थिक वर्ष २०७७/७८, ०७८/७९, ०७९/८०, र चालु आवको चैत मसान्तसम्म आगलागीमा परी ६७ जना घाइते भएका छन् । आगलागीमा परी सबैभन्दा बढी मानवीय क्षति कालीकोटमा भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।
उनका अनुसार कालीकोटमा १३ जना, डोल्पामा ८ जना, सल्यानमा ७, सुर्खेत र जुम्लामा ६/६ जना, दैलेखमा ५, मुगुमा ४, जाजरकोट, रुकुम पश्चिम र हुम्लामा २/२ जनाको मृत्यु भएको छ । चैत महिनामा मात्रै आगलागीमा परी कर्णालीमा ७ जनाको मृत्यु भएको छ ।
४ वर्षमा २७८ घर परिवार विस्थापित भएका छन् । ३५८ पशुचौपाया आगलागीमा परेर नष्ट भएका छन् ।
४ वर्षमा सबैभन्दा बढी जुम्लामा १२३ घर परिवार विस्थापित भएका छन् । सल्यानमा ४०, जाजरकोटमा ३३, कालीकोटमा ३१, रुकुम पश्चिममा २५, सुर्खेतमा २०, दैलेखमा ४ र हुम्लामा २ घर परिवार विस्थापित भएको तथ्यांक छ ।
आगलागी तथा विभिन्न विपद्मा तत्काल उद्धारका लागि कर्णालीका १० वटै जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली २४सै घण्टा तयारी अवस्थामा राखिएको प्रवक्ता वलीले जानकारी दिए ।
आगलागी तथा वन डढेलो नियन्त्रणका लागि प्रहरी एक्लैले सम्भव नभएकाले स्थानीय सरकार तथा समुदायले सहयोग गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया 4