+
+

टाट पल्टेका कम्पनी सूचीकृत भइरहँदा बिग्रिए सेयर बजारका तथ्यांक

सूचीकृत भएका तर वर्षौंदेखि कारोबार नभएका १९ कम्पनीको कुल पूँजीकरण रकममा ५ अर्ब ३१ करोड रुपैयाँ दैनिक जोडिँदै आएको छ । यसले सेयर बजारको आकारलाई वास्तविकभन्दा ठूलो देखाएको छ ।

कमल नेपाल कमल नेपाल
२०८१ वैशाख २० गते ९:२१

२० वैशाख, काठमाडौं । वि.सं. २०५० सालदेखि स्वदेशमै टायर उत्पादन थालेको गोरखकाली रबर उद्योग २०७१ चैतदेखि बन्द भयो । उपयुक्त नीति अभाव र उद्योगलाई राजनीतिक भर्ती केन्द्रका रूपमा विकास गरिनुले उद्योग व्यवस्थापन सहीरूपमा हुन सकेन ।

गोरखा मजुवामा अहिले यस उद्योगको करिब साढे ५ सय रोपनी जग्गा छ भने काम नलाग्ने अवस्थाका मेसिनरी पार्टपूर्जा छन् । रेखदेख गर्न केही कर्मचारी छन् । बहुसरकारी स्वामित्वको यस उद्योगले सर्वसाधारणमा २५ प्रतिशत सेयर जारी गरेको थियो ।

अहिलेसम्म पनि गोरखकालीको कुल ३८ लाख ३३ हजार ४ सय कित्ता सेयर बजारमा सूचीकृत छ । अंकित मूल्य ७५ रुपैयाँ रहेको यसको नेप्सेमा अन्तिम पटक कारोबार हुँदा मूल्य कित्ताको ३८ रुपैयाँमा झरेको थियो । अहिले पनि प्रतिकित्ता ३८ रुपैयाँका दरले यसको पूँजीकरण १४ करोड ५६ लाख ६९ हजार २ सय रुपैयाँ कुल पूँजीकरणमा जोडिँदै आएको छ । तर कारोबार कहिलै हुँदैन ।

त्यस्तै कमजोर व्यवस्थापनकै कारण २०६६ देखि पूर्णरूपमा बन्द बुटवल धागो कारखानाको दोस्रो बजारमा १३ लाख ६ हजार ६ सय ९३ कित्ता सेयर सूचीकृत छ । अंकित मूल्य १ सयमा जारी भएको यसको सेयर अन्तिम पटक बजारमा कारोबार हुँदा १८ रुपैयाँमा झरेको थियो । त्यही मूल्यका आधारमा अहिले यसको कुल पूँजीकरण रकम २ करोड ३५ लाख रुपैयाँ जोडिँदै आएको छ । तर काराेबार कहिलै हुँदैन ।

यी दुई कम्पनी प्रतिनिधि उदाहरणमात्र हुन् । बजारमा सूचीकृत, तर वर्षौंदेखि कारोबार नभएका उत्पादन समूहका यस्ता १३ कम्पनी छन् । तिनमा अरुण वनस्पति घिउ उद्योग, विराट सुज, बुटवल धागो कारखाना, हिमालयन फ्लोर (जडीबुटी उद्योग), गोरखकाली रबर उद्योग, हरिसिद्धि इँटा उद्योग, ज्योति धागो कारखाना, नेपाल बिटुमिन एन्ड ब्यारेल उद्योग, नेपाल खाद्य उद्योग, नेपाल वनस्पति घिउ उद्योग, रघुपति जुट मिल, भृकुटी कागज कारखाना र श्रीराम सुगर मिल छन् ।

तीमध्ये हिमालयन फ्लोर र बिटुमिन एन्ड ब्यारेल कम्पनी अहिले पनि सञ्चालनमा छन्, तर बजारमा सेयर कारोबार हुन छाडेको वर्षौं भइसक्यो । हिमालयन फ्लोरले हर्बल औषधिहरू उत्पादन गर्दै आएको छ । बजारमा यसको २ लाख ६२ हजार १ सय २ कित्ता सूचीकृत छ । अरुण वनस्पति घिउ उद्योगको ५ लाख ५० हजार ३ सय ४३ कित्ता सेयर सूचीकृत छ । सुनसरी मोरङ औद्योगिक क्षेत्रमा रहेको यस उद्योगका उपकरण कवाड अवस्थामा छन् ।

अन्य समूहको एउटा कम्पनी नेपाल फिल्म डेभलपमेन्ट कम्पनी पनि कारोबारमा आउँदैन । त्यस्तै पाँच फाइनान्स कम्पनी क्रिस्टल, क्यापिटल मर्चेन्ट, हिमालयन फाइनान्स, नेपाल सेयर मार्केट्स र सम्झना फाइनान्स पनि टाट पल्टेको वर्षौं भइसक्यो ।

टाट पल्टिएका कम्पनीका सरसामान कवाड भइसके, सेयर कागजी खोस्टोमा परिणत भइसक्यो, सेयर मूल्य शून्यमा झर्‍यो । तर, कम्पनी अहिले पनि नेप्सेमा सूचीकृत छन् ।यस्ता कम्पनीलाई नेप्सेले अहिलेसम्म पनि सूचीकृत कम्पनीको संख्यामा जोड्दै र कुल पूँजीकरणमा गणना गर्दै आएको छ । सूचीकृत भएका तर वर्षौंदेखि कारोबार नभएका १९ कम्पनीको कुल पूँजीकरण रकममा ५ अर्ब ३१ करोड रुपैयाँ दैनिक जोडिँदै आएको छ । यसले सेयर बजारको आकारलाई वास्तविकभन्दा ठूलो देखाएको छ ।

सूचीकृत सबै धितोपत्रको कुल मूल्य नै बजार पूँजीकरण हो । हाल धितोपत्र बजारको कुल पूँजीकरण (सबै धितोपत्रको मूल्य) ३१ खर्ब ८१ अर्ब रुपैयाँबराबर छ । यसमा टाट पल्टेका कम्पनीका सेयरलाई पनि मूल्य दिएर तथ्यांकमा राखिएको छ ।

बजारको आकार मात्रै नभई कम्पनीहरूको संख्यामा पनि यसले भ्रम पारेको छ । सेयर बजार नेप्सेमा कुल सूचीकृत कम्पनीको संख्या २ सय ७२ हो । यसले जनाउने अर्थ हो– नेप्सेमा २ सय ७२ कम्पनीको धितोपत्र कारोबार हुन्छ । यो अर्थ बिग्रिएको वर्षौं भइसक्यो । यी कम्पनीमध्ये डेढ दर्जनको अस्तित्व नै छैन । मर्जर तथा एक्विजिसनका कारण केही महिना कारोबार रोकिनु अलग विषय हो, तर अस्तित्व नै सकिएका कम्पनीहरू पनि वर्षौंदेखि सूचीकरण गरिरहँदा त्यसले कम्पनीको संख्या, बजारको पूँजीकरण जस्ता तथ्यांक गलत बनेका छन् ।

सञ्चालन भइरहेका कम्पनीको किन हुँदैन कारोबार ?

हिमालयन फ्लोर, नेपाल बिटुमिन एन्ड ब्यारेल कम्पनी, याक एन्ड यती होटलसहित केही कम्पनी सञ्चालनमा आइरहेका छन्, तर बजारमा केही वर्षदेखि ती कम्पनीको सेयर कारोबार हुन छाड्यो । अन्तिम मूल्य प्रतिकित्ता ६ सय रहेको याक एन्ड यती होटल सञ्चालनमा छ, सूचीकृत भए पनि कारोबार हुँदैन । होटल समूहको यस कम्पनीको संस्थापक सेयर पनि साधारणसरह नै कारोबारमा आउने हो । यी कम्पनीहरू सूचीकरणबाट नहट्ने, तर सञ्चालन प्राइभेटसरह हुँदै आएका छन् ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्स) का प्रवक्ता मुराहरि पराजुलीका अनुसार कम्पनीहरूले हरेक वर्ष सूचीकरण शुल्क बुझाउनुपर्छ । शुल्क नबुझाएपछि नेप्सेले कारोबार बन्द गरिदिन्छ । त्यहीअनुसार सञ्चालन भइरहेका कम्पनीको पनि कारोबार बन्द भएको हो ।

सर्वसाधारणलाई सेयर जारी गरेका पब्लिक कम्पनीको सञ्चालक समितिमा साधारण सेयरधनीका तर्फबाट एक जना हुनैपर्ने व्यवस्था छ । पब्लिक कम्पनीका रूपमा दर्ता भइसकेपछि पनि प्राइभेटमा परिणत हुन सक्ने व्यवस्था कम्पनी ऐनले नै दिएको छ ।

सेयरधनीको संख्या सातभन्दा कम भए वा तोकिएको चुक्ता पूँजी कायम गर्न नसके वा घटाएमा पब्लिक कम्पनीले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गरी प्राइभेट कम्पनीमा परिणत गर्नुपर्ने व्यवस्था ऐनमा उल्लेख छ । त्यसपछि पब्लिक कम्पनीको सबै सम्पत्ति तथा दायित्व प्राइभेट कम्पनीको हुने व्यवस्था छ ।

सूचीकरण भएर वर्षौंदेखि कारोबार नभएका कम्पनीलाई निश्चित प्रावधान राखेर ‘डिलिस्टिङ’ गर्नुपर्ने अधिवक्ता ज्योति दाहाल बताउँछन् । ‘विभिन्न सर्त पूरा नगरेपछि स्वतः डिलिस्टिङ हुने व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘कम्पनी वर्षौंदेखि अस्तित्वमा नरहने, तर बजारको पूँजीकरण र संख्यामा गणना भइरहनु उचित भएन ।’

कम्पनीहरू दोस्रो बजारबाट डिलिस्टिङ हुँदैमा प्राइभेट कम्पनीका रूपमा बुझ्न नहुने तर प्राइभेटमा लैजान सक्ने स्वतन्त्रता ऐनले नै दिएको उनले बताए । कम्पनी रजिस्ट्रार कार्यालयमा हालसम्म कुल ३ लाख २७ हजार २ सय ९० कम्पनी दर्ता रहेकोमा १ हजार ९ सय ९४ पब्लिक कम्पनी छन् ।

यस्ता कम्पनीलाई सूचीकरणबाट हटाउन सकिँदैन ?

नेप्सेले यी कम्पनीलाई सूचीकरणबाट हटाएर तथ्यांकलाई केही तथ्यपरक बनाउन सक्छ । तर, नेप्सेले हाल यी कम्पनीलाई सूचीकरणबाट हटाउने योजना भने बनाएको छैन । सूचीकरणबाट हटाउँदा यी कम्पनी दायित्वबाट झनै पन्छिने भएकाले सूचीकरणबाट नहटाइएको नेप्से प्रवक्ता पराजुलीले बताए ।

‘सूचीकरणबाट हटाएपछि ती कम्पनी प्राइभेटजस्ता हुन्छन्, जसले गर्दा कसैप्रति पनि उत्तरदायी हुनुपरेन,’ उनले भने । त्यस्तै सरकारी स्वामित्व समेत रहेका कम्पनीको जग्गा छ । ‘सूचीकरणबाट हटाउँदा कम्पनी प्राइभेटमा लगेर जग्गामा समेत चलखेल हुन सक्ने देखिएकाले ती कम्पनीलाई सूचीकरणबाट हटाइँदैन,’ उनले भने ।

समस्याग्रस्त फाइनान्स कम्पनीहरू भोलि ‘रिभाइभ’ भएर आउँछन् र फेरि कारोबार हुन्छ भन्ने मान्यता राखिएको उनले बताए । समस्याग्रस्त फाइनान्स कम्पनीमध्ये नेपाल सेयर मार्केट्सलाई सम्हाल्न व्यवस्थापन समूह छनोट भएको छ । अरू कम्पनीमा पनि त्यसैगरी व्यवस्थापन समूहले सम्हाल्ने र पछि पुनः कारोबार हुन सक्ने छ ।

अर्को कम्पनीसँग मर्ज वा एक्विजिसनमा गएका विभिन्न बैंक तथा वित्तीय संस्थालाई भने नेप्सेले डिलिस्टिङ गरेको छ । हालसम्म डिलिस्टिङ भएका कम्पनीमा १२ वाणिज्य बैंक, ३ उत्पादन कम्पनी, १ अन्य समूहको कम्पनी, १ हाइड्रोपावर कम्पनी, १ व्यापार कम्पनी, ६ निर्जीवन बीमा कम्पनी, ४ जीवन बीमा कम्पनी, ८० विकास बैंक, ५५ फाइनान्स कम्पनी, र १५ माइक्रोफाइनान्स कम्पनी छन् ।

लेखकको बारेमा
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?