+
+

जापानकी विदेशमन्त्री काठमाडौं आउँदै, आजै टोकियो फर्किने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते ६:०७

२३ वैशाख, जापान । जापानकी विदेशमन्त्री खामिखावा योको आज काठमाडौं आउँदैछिन् ।

अप्रिल २६ बाट विदेश भ्रमणमा निस्किएकी विदेशमन्त्री खामिखावा श्रीलंकाको राजधानी कोलम्बो हुँदै काठमाडौं आउन लागेकी हुन् ।

काठमाडौंमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी हुने सूचनामा उल्लेख छ । नेपाल र जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको अवसरमा उनको यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउन मद्दत मिल्ने विश्वास छ ।

मन्त्री श्रेष्ठसँगको भेटवार्तालगत्तै खामिखावा आजै काठमाडौंबाट टोकियो फर्किने जापानको विदेश मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ ।

जापानकी विदेशमन्त्री खामिखावाले अप्रिल २६ देखि नेपाल र श्रीलंकासहित मादागास्कार, कोट डी आइवर, नाइजेरिया र फ्रान्सको भ्रमणमा निस्किएकी थिइन् । ४ मे मा श्रीलंका पुगेकी उनी त्यहाँ एक दिन बसेर ५ तारिख नेपालको राजधानी काठमाडौं आउन लागेकी हुन् ।

जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।

नेपालमा सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरीको भ्रमण भएको थियो । यो नै हालसम्मको उच्चस्तरीय भ्रमण हो ।

त्यसपछि सन् २०१९ मा जापानका तत्कालीन परराष्ट्रमन्त्री कोउनो तारोउको मन्त्रीस्तरीय भ्रमण भएको थियो ।

नेपाललाई निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा जापान अग्रस्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?