+
+

पार्टी विभाजन नहुनेमा एकीकृत समाजवादी ढुक्क

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते २०:११

२५ वैशाख, काठमाडौं । सत्तारुढ घटक नेकपा एकीकृत समाजवादीका नेताहरुले पार्टी विभाजन हुने कुनै संभावना नरहेको निष्कर्ष निकालेका छन् ।

जनता समाजवादी पार्टी, नेपाल विभाजित भएकाले एकीकृत समाजवादी पनि फुट्न सक्ने चर्चा चलेको थियो । सार्वजनिक रुपमा चलिरहेको चर्चाबारे मंगलबार बसेको सचिवालय बैठकमा नेताहरुले छलफल गरेका थिए । तर हल्ला चलेजस्तो समस्या पार्टीभित्र नरहेको निष्कर्षमा नेताहरु पुगेका छन् । एक पदाधिकारीका अनुसार, पार्टी विभाजनको कुनैपनि संभावना नरहेकोमा नेताहरु एकमत भए ।

‘पार्टीको एकता कायम रहन्छ भन्नेमा दुई आधार रहेको निष्कर्षमा सबै एकमत भयौं’, ती नेताले भने । पार्टीभित्र कोही पनि नेता विभाजनको पक्षमा नरहेको साझा प्रतिबद्धता नै पार्टी एकताबद्ध रहने बलियो आधार भएकोमा नेताहरु एकमत देखिएको उनी बताउँछन् ।

दोस्रो आधार भने कानुनले नै पार्टी विभाजन हुन नदिने भएकाले चिन्ता लिनु नपर्ने निष्कर्षमा नेताहरु पुगेका छन् । ‘कुनै पार्टीबाट फुटेर बनेको पार्टी पाँच वर्षसम्म फुटाउन कानुनले नै दिदैन । कानुनी मान्यता नपाउने काम गर्ने मुर्खता कसैबाट हुँदैन भन्नेमा पनि हाम्रो साझा मत बन्यो’ ती पदाधिकारी भन्छन् ।

तर पार्टी फुटाउने प्रयास हुन सक्ने भएकाले सतर्क हुनुपर्नेमा पनि नेताहरुले जोड दिएका थिए । ‘ढुक्क भएर बस्नु हुँदैन, त्यस्तो प्रयास हुन सक्छ । पार्टीलाई एकताबद्ध बनाएर लैजान सतर्क बन्नुपर्छ’ पूर्वप्रधानमन्त्री झलनाथ खनालले भनेका थिए ।

पार्टीभित्र अन्तरसंघर्ष देखिए पनि त्यसलाई विभाजनसम्म पुग्न दिन नहुनेमा पनि नेताहरुको जोड थियो । छलफलका क्रममा अध्यक्ष माधवकुमार नेपालले अर्को सत्ता समीकरण बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवसँग कुरा गरेको विषय पनि उठेको थियो ।

तर आफूमाथि लागेको आरोपप्रति अध्यक्ष नेपालले खण्डन गरेका छन् । ‘मैले भेटेकै छैन, कुरा गरेकै छैन । त्यसै हल्ला चलाएर, हुँदै नभएको कुरा गरियो’, अध्यक्ष नेपालको भनाइ उदृत गर्दै एक नेताले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?