+
+

रुस–युक्रेन युद्धमा विराजनको मृत्यु, कुशको शव बनाएर आफन्तले गरे अन्त्येष्टि

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते १३:३९

२७ वैशाख, काठमाडौं । रुसी सेनामा भर्ना भएका कञ्चनपुरका विराजन विष्टको मृत्यु भएको खबर पाएपछि उनका परिवारका सदस्यहरूले कुशको शव बनाएर अन्त्येष्टि गरेका छन् ।

परिवारका सदस्य र आफन्तहरूले कञ्चनपुरको भुजेला घाटमा बिहीबार बिहान विराजनको अन्त्येष्टि गरेका हुन् ।

कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरका बासिन्दा विराजन पूर्वनेपाली सेनासमेत हुन् ।

विराजन विष्ट र निराजन विष्ट दाजुभाइ नै रुसी सेनामा भर्ना भएका थिए । गत शनिबार बंकरभित्र विष्फोट भएर विराजनको मृत्यु भएको खबर उनका साथीहरुमार्फत घरका सदस्यहरूले पाएका थिए ।

नेपाल सरकारबाट भने विराजनको मृत्युको पुष्टि भएको छैन ।

रुसी सेनामा भर्ना भएका नेपालीहरूलाई सकुशल उद्धारको पहल गर्न माग गर्दैै अभियान चलाउँदै आएकी कृतु भण्डारीले विराजनको मृत्यु युक्रेनको भूमिमा भएको जानकारी आफूले पाएको बताइन् ।

‘विराजन र निराजन दाजुभाइ सँगै रहेछन्,’ कृतुले अनलाइनखबरसँग भनिन्, ‘भाइलाई तँ बाहिर बस्, म बंकर क्लियर गरेर आउँछु भनेर भित्र छिरेको बेला विष्फोट भएर विराजनको मृत्यु भएको रहेछ ।’

कृतुले अघि भनिन्, ‘भाइ निराजनले म यो घटना भाउजूलाई सुनाउन सक्दिनँ, तिमीहरूले सुनाइदिनू भनेपछि सँगै भएका अर्का एक नातेदारले घरमा जानकारी दिएका रहेछन् ।’ आफूले भने निराजनबाटै विराजनको मृत्युको पुष्टि गरेको कृतु बताउँछिन् ।

अनलाइनखबरसँग सुरक्षित एक अडियो रेकर्डमा एक व्यक्तिले रुँदै भाउजू सम्बोधन गर्दै विराजन यो ‘संसारमा नरहेको’ कुरा गरेका छन् । विराजनको मृत्युको जानकारी दिने व्यक्ति को हुन् भन्ने विवरण अडियोमा खुल्दैन ।

परराष्ट्र मन्त्रालय भन्छ– हामीलाई जानकारी छैन

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले भने विराजनको मृत्युको विवरण आफूहरूलाई प्राप्त नभएको बताए । ‘विराजनको मृत्युको जानकारी परराष्ट्र मन्त्रालयमा छैन,’ राईले अनलाइनखबरसँग भने, ‘यसबारे मैले कन्सुलरलाई पनि सोधें, त्यहाँ पनि थाहा छैन ।’

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि विराजनको मृत्युबारे अनभिज्ञता प्रकट गरेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले विराजनको मृत्यु भएको आधिकारिक जानकारी प्रशासनलाई नभएको बताए ।

रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षार्थ अभियानकी अभियन्ता भण्डारीले रुस–युक्रेन युद्धमा परेर नेपालीहरूको मृत्यु भएको खबर दिनहुँजसो आइरहेको बताउँछिन् । हालसम्म रुसी सेनामा गएका ४१ जना नेपालीको मृत्यु भइसकेको खबर आएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?