+
+

रुसमा आफन्त गुमाएकाहरुले भेट्न पाएनन् प्रधानमन्त्री

प्रधानमन्त्रीलाई भेट्ने र आफ्ना दुःख बिसाउने योजनाका साथ २० बढी परिवारका सदस्य काठमाडौंमा जम्मा भएका थिए । तर एक साता पर्खिँदापनि समय नपाएपछि निराश भएर फर्किएका छन् ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० फागुन १३ गते २२:०४
प्रधानमन्त्रीलाई भेट्न आएका हरिमाया थोकर (बाँया) र भद्रा शाही ।

१३ फागुन, काठमाडौं । तीन महिनाको नानी काखी च्यापेर तीनदिन अघि कैलालीदेखि काठमाडौं आइन्, भद्रा शाही । रुसी सेनामा गएका श्रीमानको मृत्युको खबर सुनेपछि विक्षिप्त बनेकी उनी २४ घण्टा बढी लामो बसयात्रा गरेर काठमाडौं आइपुगेकी हुन् ।

उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफ्नो दुःख सुनाउन चाहिन्थन् । श्रीमानको शव फर्काइदिन र क्षतिपूर्ति दिलाइदिने माग गर्न चाहन्थिन् ।

रुस युक्रेन युद्धका क्रममा मृत्यु भएका, घाइते र रुस सेनामा फसेकाहरुको परिवारले संयुक्त रुपमा प्रधानमन्त्रीलाई भेटेर आफ्ना मागहरु राख्ने योजनाअनुसार उनी काठमाडौं आएकी थिइन् । तर प्रधानमन्त्रीसँग भेट्न हुन पाएन ।

भद्राका अनुसार उनका श्रीमान् भरतबहादुर शाही साउन ३० गते रुस गएका थिए । केही महिना अघि उनी मारिएको खबर आयो । श्रीमानका साथीहरुले पठाएका खबरकै भरमा परिवारले अन्तिम संस्कार गरिसकेको छ ।

तर भद्राले भने श्रीमानको शव ल्याउन पहल होस् भन्ने चाहन्छिन् । ‘कोखमा ३ महिनाकी छोरी छे, अर्काे छोरी सानै छ’, उनले अनलाइनखबरसँग भनिन्, ‘श्रीमान् मारिए पनि शव फर्काइदिन र क्षतिपूर्ति दिलाई दिन भनेर आएकी थिएँ ।’

बाराकी हरिमाया थोकर तामाङका श्रीमान् पनि चार महिनादेखि बेपत्ता छन् । दशैंको मुखमा रुसी सेनामा भर्ना हुन गएका उनका श्रीमान् विजयबहादुर थोकर कात्तिक यता सम्पर्कमा छैनन् ।

‘कसैले मान्छे बितिसके भनेर खबर पठाएका छन्, तर मृत्यु भएको भनेर पत्याउनलाई केही छैन’ उनले भनिन्, ‘शवको फोटो पनि नभएपछि कसरी पत्याउनु ?’

अपुष्ट खबरले अत्तालिएकी उनी डेढ वर्षकी छोरी बोकेर विभिन्न सरकारी निकाय धाइरहेकी छिन् । आफ्नो कुरा कतै सुनुवाइ भएपछि उनी एकपटक प्रधानमन्त्रीसँग भेट्न खोजेकी थिइन् ।

‘श्रीमानको अवस्था पत्ता लगाइदिन भनेर धेरै ठाउँ निवेदन पनि दिइसके । ‘जति निवेदन दिँदा पनि हाम्रो कुरा सुनिएन’ उनले भनिन्, ‘प्रधानमन्त्रीले सुनदिए पत्तो पो लाग्थ्यो कि भन्ने आश राखेका थियौं । तर प्रधानमन्त्रीले हामीलाई भेट्ने समय नै दिनुभएन ।’

लमजुङको दूधपोखरी गाउँपालिका– १ का श्रीमान गुरुङ पनि प्रधानमन्त्रीसँग भेट हुने आशले १० दिनअघि काठमाडौं आएका थिए । उनी पनि छोराको अवस्थाबारे बुझिदिन आग्रह गर्न चाहन्थे । जति प्रयास गर्दा पनि भेट्न नपाएपछि घर फर्किए ।

उनका अनुसार रुसी सेनामा भर्ना भएका छोरा साजनको मृत्यु भएको खबर आयो, तर कतैबाट पुष्टि भएको छैन । ‘मृत्यु भयो भन्ने खबरमात्र आयो, त्यत्तिले मात्र मृत्यु भयो भनेर पत्याउन सकेका छैनौं’ उनले भने, ‘मृत्यु भएको हो भने त हामीलाई प्रमाण चाहियो, शव भए ल्याइदिन पर्‍यो । क्षतिपूर्ति पनि दिनपर्‍यो ।’

रुसी सेनामा भर्ना भएका नेपालीहरुको परिवारलाई संगठित गरिरहेको ‘पीडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना अभियान’की कृृति भण्डारीका अनुसार प्रधानमन्त्रीलाई भेट्न भनेरै विभिन्न जिल्लाबाट २० जना बढी पीडित परिवारका सदस्यहरु काठमाडौंमा जम्मा भएका थिए ।

पीडित परिवारले आफ्नो समस्या राख्ने र सम्पर्कमा आएका परिवारहरुको विवरणहरु प्रधानमन्त्रीलाई हस्तातरण गर्ने योजना थियो । त्यसका लागि १० दिनदेखि प्रधानमन्त्रीको समय माग गरिएको थियो ।

तर प्रधानमन्त्रीको सचिवालयले भेट्न समय नै नदिएको उनको गुनासो छ । ‘रुसी सेनामा गएर घाइते, मृतक, बेपत्ता र अलपत्र परेका परिवारहरु टाढाटाढाबाट पनि भेट्न भनेर आउनुभएको थियो’, उनले भनिन्, ‘धेरै प्रयास गर्दा पनि प्रधानमन्त्रीको समय पाएनौं ।’

अभियानका अनुसार रुसी सेनामा भर्ना भएका २७२ जना लामो समयदेखि परिवारको सम्पर्कमा छैनन् भने ११६ जना घाइते भएका छन् । १६ जनाको मृत्यु भएको खबर छ ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?