+
+

अर्थतन्त्रको वर्तमान अवस्थाबारे चेम्बरले गरायो ओलीको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १३:५८

२८ वैशाख, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । चेम्बरले अर्थतन्त्रको वर्तमान अवस्थाबारे अध्यक्ष ओलीलाई ध्यानाकर्षण समेत गराएको छ ।

चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष एवम् चेम्बर सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका पदाधिकारी टोलीले भक्तपुरको बालकोटस्थित निवासमा ओलीसँग भेटवार्ता गरेको हो ।

अर्थतन्त्र शिथिलताबाट गुज्रिरहेको भन्दै सरकारको नीति तथा कार्यक्रम र बजेट मार्फत सम्बोधन गर्नुपर्ने विषयमा चेम्बरले एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण गराएको हो ।

अध्यक्ष अग्रवालले अर्थतन्त्रमा आएको मन्दीले निजी क्षेत्रको सम्पत्तिमा ५० प्रतिशतसम्मको गिरावट आएको बताए ।

शिथिल अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन आर्थिक र वित्तीय नीतिमा सहजीकरण गर्नुपर्ने अध्यक्ष अग्रवालको भनाइ छ ।

वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत अर्थतन्त्रलाई चलायमान एवम् निजी क्षेत्रको मनोवल उकास्नुपर्ने बेला आएको अध्यक्ष अग्रवालले बताए ।

‘विगतमा लिएका संकुचित नीतिका कारण अर्थतन्त्र शिथिल अवस्थामा पुगेको छ । व्यापार असहजीकरण, सेयर बजारको संकुचन, घरजग्गा कारोबारमा सुस्तता लगायतका कारणले आर्थिक गतिविधि खुम्चिएको छ । सरकारको नीति तथा कार्यक्रम अर्थतन्त्रलाई चलायमान गराउने गरी आउन आवश्यक छ,’ उनले भने ।

आयकर ऐन २०५८ का अधिकांश  प्रावधानहरू स्पष्ट नहुँदा  अन्तःशुल्क, भन्सार आदिमा पछिल्लो समय भूत प्रभावी दायित्वहरू देखा परेको भन्दै अन्त्य गर्न चेम्बरले अध्यक्ष ओलीको ध्यानाकर्षण समेत गराएको छ ।

चेम्बर अध्यक्ष अग्रवालले सहकारी क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि अबिलम्व पहल गर्नपनि अध्यक्ष ओली समक्ष आरे ।

‘सहकारी क्षेत्र समस्याग्रस्त हुँदा साना, मझौला उद्यमी व्यवसायी पीडित भएका छन् । सहकारी क्षेत्रको समस्या अबिलम्व समाधान हुनुपर्दछ,’ चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विगतमा चरम आर्थिक मन्दीका कारण पीडित उद्यमी व्यवसायीहरुलाई कुनै जरिबाना लाग्ने अवस्था आए पूर्ण छुट दिने व्यवस्था गर्नुपर्ने धारणा चेम्बरले राखेको छ ।

यस्तै करका कारण विवादित मुद्दाहरूको यथाशिघ्र समाधानका लागि कर व्यवस्थापन आयोग गठन गर्न पनि चेम्बरले माग गरको छ ।

चेम्बर पदाधिकारीसँगको भेटका क्रममा एमाले अध्यक्ष ओलीले राष्ट्रिय हितलाई सर्वोपरी ठानेर सरकारले नीति तथा कार्यक्रम ल्याउने बताए ।

निजी क्षेत्रको समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन ओलीले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?