+
+

कोशीका मुख्यमन्त्री कार्कीविरुद्ध परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १७:१८
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्की ।

२८ वैशाख, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले संविधानको व्याख्यासँग जोडिएकाले पूर्ण सुनुवाइबाट निरूपण हुनुपर्ने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्ति बदर गर्न र आफूलाई मुख्यमन्त्रीका रूपमा कामकारबाही गर्न दिन अन्तरिम आदेश माग गरेका थिए ।

न्यायाधीश फुयाँलको एकल इजलासले भने यसका लागि पाँच वटा प्रश्न निरूपण हुनुपर्ने बताएको छ ।

· संविधानको धारा १६८ (५) बमोजिम नियुक्त भएको मुख्यमन्त्रीले समर्थन गर्ने दल वा सदस्यहरूले समर्थन फिर्ता लिएको जानकारी गराएपछि धारा १८८ (२) बमोजिम विश्वासको मत लिनुपर्ने हो वा होइन ?

· धारा १६८ (५) बमोजिम नियुक्त भएको मुख्यमन्त्रीको पद धारा १६९ (१) को अवस्थाभन्दा बाहेक अरू तरिकाबाट रिक्त हुनसक्छ वा सक्दैन ?

·  १६८ (५) बमोजिम नियुक्त भएको मुख्यमन्त्रीले धारा १८८ (४) मा उल्लेखित स्पष्टीकरणको सुविधा प्राप्त गर्न सक्छ वा सक्दैन ?

· सरकार गठनका लागि दाबी पेस गर्न अह्वान गर्ने कोशी प्रदेश प्रमुखको निर्णयको संवैधानिक आधार तथा त्यसका लागि आधार बनाएको संकल्प प्रस्तावको संवैधानिक र कानुनी बैधता के कसो हो ?

· प्रदेश सरकार गठन विघटनमा प्रदेश प्रमुख तथा प्रदेश सभाको क्षेत्राधिकारको परिधि र सीमा के हो ?

यो सबै विषय संविधानको व्याख्याको विषय अन्तर्निहित भएको र यसको निरूपण पूर्ण सुनुवाइबाट हुनुुपर्ने न्यायाधीश फुयाँलको एकल इजलासको ठहर छ ।

इजलासले ९ जेठमा अर्को पेसी तोकेर विपक्षीहरूसँग लिखित जवाफसमेत मागेको छ ।

के हो विवाद ?

२१ फागुनमा केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि प्रदेशमा सरकार परिवर्तनको गृहकार्य सुरु भएको थियो । तर संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीले आफ्नो विकल्पमा सरकार नबन्ने दाबी गर्दै विश्वासको मत नलिने र राजीनामा पनि नदिने अडानमा बसे ।

२६ चैतमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कार्की अल्पमतमा परे । ७ वैशाखमा प्रदेश सभाले विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पारित गरे पनि उनले मानेनन् ।

एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएको ३० दिनपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीले विश्वासको मत नलिएको कारण देखाउँदै बुधबार नयाँ सरकार गठनको आह्वान गरे ।

बिहीबार बिहान ११ बजे हिक्मतकुमार कार्कीले एमालेका ३९ र माओवादीका १३ गरी ५२ जनाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरे ।

कोशी प्रदेश सभा ९३ सदस्यीय रहेकाले मुख्यमन्त्रीमा दाबी पेस गर्न कम्तीमा ४७ सांसदको समर्थन आवश्यक थियो । एमाले र माओवादी सांसदले प्रदेश प्रमुख कार्यालयमा नै गई हस्ताक्षर प्रमाणित गरेपछि खापुङले मुख्यमन्त्रीमा कार्कीलाई नियुक्त गरे ।

मुख्यमन्त्रीमा कार्की नियुक्त भएपछि निवर्तमान मुख्यमन्त्री बनेका केदार कार्कीले भने प्रदेश प्रमुखको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?