+
+

नेपाली नाटक ‘गुलाफ’ मञ्चनका लागि ओस्लोमा रिहर्सल गर्दै कलाकार

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ९ गते १६:४७

काठमाडौं । नेपाली नाटक ‘गुलाफ’ आउँदो बिहीबारदेखि शनिबारसम्म नर्वेमा मञ्चन हुने भएको छ । नाटक मञ्चनका लागि कलाकारहरु दीया मास्के, सरिता साह, देव न्यौपाने, केदार श्रेष्ठ र उमेश तामाङ ओस्लो पुगेका छन् ।

रामहरि ढकालको परिकल्पना र निर्देशनमा प्रस्तुत हुन लागेको नाटकलाई ओस्लोको थिएटर मनुमा मञ्चन गर्न लागिएको हो । अंग्रेजीमा यो नाटकको नाम ‘द रोज : एन अवेकनिङ जर्नी अफ यशोधरा’ छ ।

ओस्लो पुगेका कलाकारले अहिले रिहर्सल गरिरहेका छन् । निर्देशक ढकालले काठमाडौंबाट त्यहाँ पुगेका कलाकारलाई ओस्लोमा स्वागत गरे ।

नर्वे सरकारको कला र संस्कृतिसम्बन्धी संस्था ‘आर्ट एन्ड कल्चर नर्वे’को सहयोग तथा नर्डिक कल्चर फन्ड र फुक नो नर्वेको साथमा नाटकको मञ्चन हुन लागेको हो । यो नाटक गत पुस महिनामा ठेट्ना आर्ट्सको प्रस्तुतिमा काठमाडौंको मण्डला थिएटरमा विश्व प्रिमियर हुँदै १४ श्रृंखलासम्म नियमित मञ्चन भएको थियो । ‘फिजिकल थिएटर’ विधामा रहेर तयार पारिएको नाटकमा संवाद छैनन्, दृश्यले कथा बोल्नेछ ।

सिद्धार्थ गौतमले आफ्ना प्रश्नको उत्तरको खोजीमा नवजात शिशु राहुल, श्रीमती यशोधरा र राज्य त्याग गरेर गएपछि यशोधरामा परेको मानसिक उतारचढावलाई ‘गुलाफ’ले आफ्नो विषय बनाएको छ ।

चरम पीडा र बिछोडको कारणले राजकुमार सिद्धार्थकी पत्नी यशोधराभित्र सिर्जित भावना, विकार र त्यसले पारेको प्रभाव,  परिवर्तन नै नाट्य प्रस्तुतिको मूल विषय हो । यसमा यशोधराको पीडादेखि जागरणसम्मको आन्तरिक भावनात्मक यात्रालाई शारीरिक भावभङ्गीमा मार्फत उजागर गर्ने कोसिस गरिएको छ ।

यस नाटकको दर्शक संयोजन पनि विशेष छ । मञ्च नाटकघरको बीचमा तयार पारिएको छ, जसमा मञ्चको चारैतिरबाट दर्शकले अवलोकन गर्न सक्नेछन् । नाटक हेर्न एक शोमा बढीमा ६४ जनाले मात्र प्रवेश पाउनेछन् ।

नाटकलाई नर्वे मञ्चनमा नर्वेली र नर्वेमा रहेका नेपाली दुवैलाई लक्षित गरेर मञ्चन गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?