+
+

बर्लिन कार्निवलमा झल्किएको नेपाल (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १० गते ७:४३

१० जेठ, बार्सिलोना । सेन्टर बर्लिनको केन्द्रभागमा रहेको सडक । जहाँ रातो रङको ट्रक गुडिरहेको थियो ।

ध्वजापतकादेखि आँखिझ्यालले सजिएको ट्रक । नेपालका पर्यटकीय स्थलहरुको फ्लेक्सहरु समेत राखेर सजाइएको ।

यस्तो लाग्थ्यो, ट्रकले सिंगो नेपाल बोकिरहेको छ ।

दायाँतर्फ ‘सुन्दर शान्त नेपाल’ लेखिएको रातो ठूलो पोस्टर । अघि र पछि लाखे नृत्य । वरिपरि विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरुको प्रदर्शन ।

ट्रकभन्दा पछाडि अलग्गै बौद्ध स्तूप । स्तूपमा टायर राखिएकोले सडकमै गुड्ने । एकातर्फ सिंगो नेपाल बोकेको ट्रक र अर्कोतर्फ बौद्ध स्तूप गुडिरहेकोको दृश्य । भान हुन्थ्यो, बर्लिनमै नेपाल छ ।

त्यसैले पनि जर्मनीको राजधानी बर्लिनको दृश्यले ‘मिनी नेपाल’ को झझल्को दिन्थ्यो।

यो मे १७ देखि २० सम्म सडकमा नै चलेको बर्लिन कार्निवलमा दृश्य हो । जहाँ ५८ देशका ५००० भन्दा बढी कलाकारहरुले सडकमा नै घन्टौं नृत्य गरेका थिए । ५ लाख भन्दा बढी दर्शकले सडक किनाराबाट अवलोकन गरे ।

कार्भिवलमा नेपालको ‘इनास  सम्सारा’ टोली पहिलो बन्न सफल भएको छ । नेपाली टोलीले एक हजार युरो नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ । त्यो भन्दा पनि बढी नेपालको जातीय र सांस्कृतिक विविधता, नृत्य, संगीत र कला प्रदर्शनको उजागर गरेको छ ।

इनास जर्मनी र सम्सारा बर्लिन दुवै छुट्टाछुट्टै संस्थाहरु हुन् । तर दुवै संस्थाले मिलेर ‘इनास सम्सारा’ को नाममा नेपालको प्रतिनिधित्व गरेका हुन् ।

नेपालको प्रतिनिधित्व गर्दै ३२ जना कलाकारहरू विभिन्न वेषभूषामा सजिएका थिए । जातीय वेषभूषामा, बाजागाजा र झाँकीसहित संगीतकर्मी र स्वयंसेवक गरी सयौंको संख्यामा थिए नेपालीहरू । जहाँ जीवित देवी मानिने कुमारी परम्परा र लाखे नृत्यलाई पनि छुटाइएको थिएन । चार किलोमिटर उनीहरु सडकमा नै नाच्दै हिँडे । निर्णायक प्यानल नजिकै पुग्दा उनीहरुको प्रस्तुति गजबको थियो । कलाकारहरु नृत्य गर्दै थिए नेपथ्यको ‘कर्णाली’ बोलको गीतमा।

! जौका बारी, गौका पुला कम्पनी

स…! पुल बान्दी जया बैनै कम्पनी

स…! हास्दैँ खेल्दै दिन काटम्ला कम्पनी

स…!घरबार्‍या भया बैनै कम्पनी

झल्काइदऊ झल्काइदेउ 

गलैको कम्पनी माला झल्काइदेउ

नृत्यमा थारु, गुरुङ, नेवार, बाहुन, क्षेत्री, तामाङ, शेर्पा, राईलगायत विभिन्न जातजातिको वेषभूसा झल्किएको थियो । नेपाली नृत्यले निर्णायक प्यानलको समेत मन जित्यो । सन् २०११ देखि कार्निवलमा सहभागिता जनाउदै आएको नेपाल अन्तत : यो वर्ष सर्वोत्कृष्ट बन्यो।

जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काले कार्निवलमा ‘सुन्दर शान्त विशाल’ को थिम नेपालले प्रस्तुत गरेको बताए । ‘विविधतालाई हामीले एकताको स्रोतको रुपमा लिन्छौं । विश्व समुदाय माँझ कलामार्फत पनि त्यही सावित गरेको छौं’, उनले भने । प्रस्तुतिमा एनआरएनए जर्मनी, नेपाल पर्यटक बोर्ड र नेपाली राजदूतावास जर्मनीले सहयोग गरेका थिए ।

बर्लिनको केन्द्रभागको सडकमा गरिएका नृत्यहरु अहिले सामाजिक संजालमा भाइरल बनेका छन्। सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म परदेशमा नेपालको सामूहिक नृत्य निकै रुचाइएको छ । नेपालदेखि डायस्पोरामा रहेका नेपालीले मुक्त कण्ठले प्रशंसा गरेका छन्।

इनास जर्मनीकी अध्यक्ष लेजुना श्रेष्ठले मेहनतको फल आफूहरुले प्राप्त गरेको बताइन् । ‘सबैको समय मिलाएर ठूलो ग्रुपमा डान्सको तयारी गर्न ठूलो चुनौती थियो’, अध्यक्ष श्रेष्ठले भनिन्, ‘सम्सारा बर्लिनकी प्रतिनिधि अनिता मोक्तान बहिनी र मैले नै नृत्यको कोरियोग्राफ गरेका हौं ।’

कार्निवलमा देखाइएको बौद्ध स्तूप बनाउन पनि ठूलो मेहेनत लागेको श्रेष्ठले बताइन् । ‘सुनिल रानामगर र जर्मनी नागरिका बेन्जामिनको टिम र साथीहरुको सहयोगमा जर्मनीमा नै स्तुपा तयार गरिएको हो। एक महिना पहिले देखिनै उहाँहरुले योजना बनाएर तयार गर्नुभयो’, उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?