+
+

कांग्रेस महामन्त्री भन्छन् : यो सहकारीबन्धु गठबन्धन हो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १३:१३

११ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धनलाई सहकारीबन्धु गठबन्धनको संज्ञा दिएका छन् ।

सहकारी प्रकरणमा एमालेले साथ दिने, गिरीबन्धु प्रकरणमा रास्वपाले साथ दिएकाले यो सहकारीबन्धु गठबन्धन भएको उनले बताए । शुक्रबार संसद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले भने, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हामीमाथि आरोप लगाउनु भएको होइन, कांग्रेसले गिरीबन्धुको जग्गा बेचेर खायो भनेर ? छानबिन समिति त्यसमा पनि बनाऔं ।’

गृहमन्त्री रवि लामिछानेले संसद्‌मा बोल्दा कांग्रेस नेताहरूमाथि आरोप लगाएको भन्दै उनले सबैमाथि छानबिन गर्न तयार रहेको बताए । ‘कांग्रेसको सभापतिमाथि छानबिन गर्ने हो कि महामन्त्रीमाथि ? दाजुमाथि हो कि भाउजूमाथि ? प्रत्येकमाथि छानबिन गर्नुस्’ उनले भने, ‘नाम, थर गोत्र लेख्नुस् । माइतीपट्टी पनि लेख्नुस्, ससुराली पनि लेख्नुस् । हाम्रो आपत्ति छैन ।’

२०४६ साल पछाडि सरकार गएकाहरूमाथि छानबिन गर्न माग गर्दै कांग्रेस उपसभापति धनराज गुरुङसहितका नेताहरूले संसद्‌मै प्रस्ताव दर्ता गरेको उनले स्मरण गरे । ‘कांग्रेसको प्रत्येकमाथि छानबिन गर्न माग गर्न म उभिएको छु’ उनले भने, ‘छानबिन गर्दा कोही दोषी देखियो भने उहाँ जेल जानुहुन्छ ।’

‘केही साथीहरुलाई के परेको छ भने हाम्रो सभापतिले केही गडबड गर्नुभएको छैन । उहाँ दोषी देखिनुभयो उहाँले राजनीति छाड्नुहुन्छ, हामी छाड्छौं’ रास्वपा नेताहरूतर्फ संकेत गर्दै उनले भने, ‘हामी छोड्दैनौं, यो सतिप्रथा होइन ।’

जो दोषी हो, ऊ जेल जाने भन्दै उनले भने, ‘संसारमा कहीँ नभएको कानुन यहाँ हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?