+
+

विश्वकपमा गुमाउनु केही छैन, गर्व महसुस गराउने गरी खेल्छौं : सोमपाल कामी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १२:४९
फोटो ।

१३ जेठ, अमेरिका (ह्युस्टन) । अमेरिका र वेस्टइन्डिजमा एक सातापछि हुने टी–२० विश्वकपका लागि अहिले नेपाली टोली अमेरिकामा विभिन्न स्थानीय क्लबसँग ‘वार्मअप’ खेल खेलिरहेको छ । वार्मअप खेलमा पनि सकारात्मक नतिजा ल्याइरहेको नेपाली टिम विश्वकपमा भिड्न उत्तिकै उत्साहित देखिन्छ ।

विश्व क्रिकेटका ‘पावर हाउस’सँग भिड्नुअघि सुपर–८ मा पुग्ने लक्ष्य राखेको छ । तर त्योभन्दा अगाडि आफ्नो समूहमा रहेको नेदरल्यान्डसलाई पहिलो खेलमै हराएर ‘मोमेन्ट क्याच’ गर्ने दाउमा नेपाली टिम छ ।

‘मेन टार्गेट नै फर्स्ट गेम जित्ने हो । त्यो मोमेन्टम क्यारी गर्‍यौं भने जुन हिसाबले यूएसएले बंगलादेशलाई हरायो, त्यसरी नै सुपर ८ मा पुग्न एक्साइटेड छौं’, नेपाली टिमका प्रमुख खेलाडी सोमपाल कामीले भने, ‘तर त्योभन्दा मुख्य गोलचाहिँ नेदरल्यान्डसलाई हराउनु हो ।’

नेपाल १० वर्षपछि विश्वकपमा छानिएको हो । १० वर्ष विश्वकप खेलेका तीव्र गतिका बलर सोमपालमात्रै अहिलेको टिममा दोहोरिएका छन्, बाँकी सबै खेलाडी पहिलो पटक विश्वकपमा सहभागी हुन लागेका हुन् ।

आइतबार ह्युस्टनमा खेल पत्रकारहरुसँग प्रतिक्रिया दिँदै सोमपालले आफूहरुले नेपाली दर्शक र समर्थकलाई निराश बनाउने पक्षमा नरहेको सुनाए । लामो समयदेखि सँगै खेलेका टिम नै विश्वकपमा आएकाले त्यसले जित निकाल्न सहज हुने उनको विश्वास छ ।

‘हाम्रो जीतको आधार युनिटी नै हो । २, ३ वर्षदेखि हामी सँगै खेलिरहेका छौं । त्योभन्दा अगाडि १९ लेभलदेखि नै सँगै खृलरहेका छौं’, सोमपालले भने, ‘बाउन्डिङ पनि राम्रो छ । कम्युनिकेसन राम्रो छ । त्यसले हामीलाई राम्रो गर्छ भन्ने लाग्छ ।’

विश्वकप आफूहरुको लागिमात्रै नभएर क्रिकेटमा आउन चाहेका नयाँ पुस्ताका लागि पनि राम्रो अवसर भएकाले यसलाई गुमाउने पक्षमा नरहेको सोमपाल बताउँछन् । आफूहरुले विश्वकपमा राम्रो गरे नयाँ पुस्तालाई ‘मोटिभेट’ गर्ने जिम्मा आफूहरुको रहेको उनको भनाइ छ ।

विश्वकपमा आफूहरुले गुमाउनुपर्ने केही नरहेकाले कुनै पनि तनावबिना खेल्न तयार रहेको सोमपाल बताउँछन् । ‘वल्डकर्पमा प्रेसर केही पनि छैन । हामीलाई गुमाउनु केही छैन, सबैजना पोजेटिभ एटिट्युडले आएका छौं’, उनले भने, ‘केही प्रुभ गर्न आएका हौं । योभन्दा राम्रो प्लेटफर्म केही छैन । सबैजना एक्साइटेड छौं ।’

सोमपालले अगाडि थपे, ‘रियलस्टिक भएर सोच्नुपर्छ भन्ने लाग्छ, वार्मम्याचमा पनि आएर राम्रो सपोर्ट गरिराख्नु भएको छ’, सोमपालले भने, ‘हाम्रो खेल इन्जोय गरेर हेर्नुहोस्, सबैलाई प्राउड फिल गराउने कोशिस गर्नेछौं ।’

विश्वकपमा नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । कम्तीमा नेदरल्यान्डससहित एक टेस्ट टोलीलाई हराउन सके नेपाल सुपर–८ खेल्न पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?