+
+
नियात्रा :

चम्पादेवीमा चकचक

राजेन्द्रमान डंगोल राजेन्द्रमान डंगोल
२०८१ जेठ २६ गते ७:००

सुरुमा काटिन्छ ‘ह्वाइट फरेस्ट केक’, त्यसपछि रातो रिबन र प्रारम्भ हुन्छ हरियो पहाडको यात्रा– जो भावना र उत्सवको छ । जो प्राकृतिक महिमा र सांस्कृतिक महत्वको छ । जो मनश्चित्र र संवेदी अनुभवको छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४६ औं वार्षिक दिवस अर्थात् १५ जेठ । टान– पर्वतीय पर्यटनमा संलग्न हुनेहरूको एउटा बृहत् छाता संगठन । यही अवसरमा आयोजना गरिएको छ– कीर्तिपुरको बोसन गाउँदेखि चम्पादेवी (२,२८० मि.) सम्मको हाइकिङ ।

पर्यटनसँग सम्बन्धित छाता संगठनहरू बग्रेल्ती छन् नेपालमा । नेपालको सन्दर्भमा ‘फेसन एक्सेसरिज’ जस्तै भएका छन्– छाता संगठन । तर यस्ता छाता संगठनहरूमा टान चाहिं पुरानामध्येको एक हो । यो एक सम्मानित संस्था मात्र नभएर पदयात्रा व्यवसायमा उत्कृष्टता, नेतृत्व र नैतिक अभ्यासको आधारस्तम्भ पनि हो । यसको बहुआयामिक योगदान छ, नेपालको पर्यटनमा । यसलाई पर्वतीय पर्यटन उद्योगको दीर्घकालीन सफलताका लागि बलियो जग हो भन्दा अतिशयोक्ति नहोला ।

‘हाइकिङ गर्न आउनू’ भन्ने व्यहोरामा टानले गरेको पत्राचार बमोजिम म आठ नबज्दै कीर्तिपुरको बोसन डाँडाको अँगालोमा बाँधिन पुगिसकेको थिएँ । तर सहभागीहरूको प्रतीक्षामा पौने घण्टा त्यत्तिकै बितेथ्यो ।

उपत्यकामाथि भव्यताका साथ उठेको छ पहाड । चम्पाको फूलले मुकुट सुहाउँथ्यो त्यो पहाडले भन्ने पनि विश्वास गरिन्छ । त्यही भएर जनबोलीमा यस पूज्य शिखरलाई चम्पादेवी भनिएको होला । फगत अनुमान मेरो ।

बिहान उठ्नासाथ चम्पादेवी दर्शन गर्छन् बोसनवासी । मञ्जुश्रीका दुई श्रीमती थिए रे– केशानी, जसलाई लक्ष्मी पनि भनिन्छ र उपकेशानी– सरस्वती । किंवदन्ती अनुसार काठमाडौंमा बस्ती बसाउन उनै मञ्जुश्रीले चोभारको डाँडो काट्नुअघि लक्ष्मीलाई अहिले चम्पादेवी भनेर चिनिने २ हजार २८० मिटरमा र सरस्वतीलाई फुल्चोकी २,८०० मिटरमा व्यवस्थापन गरेको भन्ने रमाइलो किंवदन्ती छ ।

आगन्तुकहरूको सहजताका लागि बोसन गाउँको सिरानमा बनाइएको छ– एउटा टहरा । त्यहीं भएको थियो औपचारिक कार्यक्रम र काटिएको थियो सेतो केक ।

टान दिवसलाई भव्यताका साथ सफल पार्न साथीहरूबाट भए-गरेका तमाम प्रयत्नहरूको सराहना गर्छु म । रिबन काट्नु कुनै उत्सवको आधिकारिक उद्घाटन हो । केक भन्ने जिनिस नेपाली सांस्कृतिक अभ्यासको पाटो होइन यद्यपि जन्मदिनमा दीप प्रज्ज्वलन गर्ने, कलश स्थापना गर्ने, रातो टीका लगाई आशिष् दिने र त्यसपछि मात्र केक काट्ने चलन नभएको भने होइन ।

टानका साथीहरूले दियो–कलश स्थापना गरेर केक काटेको भए अर्थपूर्ण हुनेथियो । नेपालमा पाश्चात्य संस्कृति मौलाए पनि नेपाली संस्कृति त मर्थेन ! आफ्नो विचार आफैंमा गुम्स्याएर राख्छु म ।

लगभग १५० जना पदयात्री । विभिन्न उमेरका र आ–आफ्नै समूहमा बाँडिएका । सेता टी–सर्ट उनेका र प्रत्येकले पछाडिपट्टि ‘डे–प्याक’ भिरेका । उकालोतिर लस्कन्छ मानव लर्को, कमिलाका ताँती जसरी । पदयात्री र जङ्गलको मिलनले रमणीय परिदृश्य सिर्जना गरेको देख्छु म । प्राकृतिक सौन्दर्यमा मोहित भएका छन् मेरा नजर ।

०००

प्रमुख अतिथि कीर्तिपुरका संघीय सांसद राजन केसीले रिबन काट्नासाथ बादलले जलकण वर्षाउन थाल्छ । मानौं– बादल त्यसैको पर्खाइमा थियो । एउटा अनौठो संयोग !

पानी पर्नु एउटा संयोग मात्र भए पनि जेठ महिनामा चुहिने बादलको घैलाले मनसुन संक्रमणको सङ्केत गर्छ । तसर्थ यसलाई अप्रत्याशित मान्दिनँ म । बढ्दो गर्मीबाट साग जस्तै ओइलिएको ज्यानलाई स्फूर्ति दिएको भान हुन्छ । स्वागतयोग्य मानवीय राहत जस्तै लाग्छ जलवर्षा । ‘युनिभर्सल ब्लेसिङ’ भनेको यही होला भन्ठान्छु म ।

निःसन्देह रमाइलो हुन्छ जंगलभित्रको यात्रा र त्यत्तिकै चुनौतीपूर्ण पनि । मेरा पाइलाले साहसिकताको सारलाई समात्छन् । जति जति उकालिन्छु उति उति नै प्रकृतिको रमणीय र जीवन्त दृश्यको गहिराइमा पुग्छु । म आफूलाई माथि धकेल्छु । मेरो हृदयले मेरो छाती धकेल्छ । त्यहीबेला मेरो गहिरो निश्वास लयात्मक छाल बनेर बाहिर निस्कन्छ ।

पदयात्रा सुरु गर्नासाथ बाटोले आफैंलाई ढुङ्गेनी सिंढीको शृङ्खलाको रूपमा प्रकट गर्छ । मेरो हृदयको धड्कन प्रतिध्वनित गर्छ, पत्थर विरुद्ध जुत्ता लयमा बाँधिंदा । हावामा प्रसारण हुँदै जान्छ चर्को आवाज । शारीरिक परिश्रमको बाबजुद एउटा साझा लक्ष्य छ हामी सबैको । त्यो हो– पदमार्गका प्रत्येक खण्डलाई पार गर्दै अन्ततः गन्तव्य चुम्ने ।

आरोहणका प्रत्येक पाइलासँगै शनैःशनै जल्न थाल्छ मभित्रको ‘क्यालोरी’ । उकालोले सूक्ष्म रूपमा परीक्षण गरिरहेको छ, हाम्रो सहनशीलता । प्रत्येक पाइला पछिको पाइलालाई विजय ठान्छु म । बारम्बार खुट्टालाई रोकेर शक्ति सञ्चय गर्छु । निधारमा जम्मा भएको पसिनाका बँुदलाई व्यवस्थापन गर्छु । र, चुनौतीका बाबजुद लयमा फर्कन्छु ।

आफू अग्लिएपछि अरू होचिएको भान हुनु त मानवीय कमजोरी नै हो । त्यसैले होला म उकालिंदै गर्दा बोसन डाँडोलाई होचिएको देख्छु । प्राकृतिक सौन्दर्यमा नाचिरहेका मेरा नजर हठात् टौदहमा पौडन पुग्छन् । टौदहले शान्तिको अनुभूति गराउँछ मलाई ।

नेवारी भाषामा ‘ट’ को अर्थ सर्प र ‘दह’ भनेको ताल । जनजिब्रोमा ‘टौदह’ बसेको कारण यसो पो रहेछ ।

टौदह– उपत्यकामा लुकेको अनमोल रत्न । टौदह– सांस्कृतिक सम्पदाको ज्वलन्त साक्ष्य । वास्तविक गहिराइ भन्दा पनि बढी छ टौदहको ऐतिहासिक गहिराइ । यसको भौतिक उपस्थिति भन्दा निकै परसम्म फैलिएका छन् योसँग सम्बन्धित मिथकहरू । पौराणिक कथा अनुसार यस तालमा सर्पका राजा कर्कोटक नागको दरबार रहेको मानिन्छ । यसैमा घुसेको छ प्राचीन रहस्यवाद ।

त्यही बिन्दुबाट देखिन्छ– काठमाडौं उपत्यकाको फराकिलो परिदृश्य । आज जेठ १५ गणतन्त्र दिवस पनि हो नेपालको । तर गणतन्त्र दिवसभन्दा धेरै पुरानो हो– टान दिवस । पानी पर्दै गर्दा म भिजिरहेछु, सिङ्गो काठमाडौं भिजिरहेछ र भिजिरहेछ नेपालको तरुण गणतन्त्र । त्यसो त पानी पर्दा सहजै चिसिन्छ काठमाडौं । यसै पनि नेताहरूले मुसलधारे पानीमा रुझेकोे बिरालो जस्तै बनाइसकेका छन् नेपालको गणतन्त्र । गणतन्त्र दिवस र काठमाडौं दुवै ठण्डीले काँपिरहेको अड्कल काट्छु म । आकाशमा मडारिरहेको कालो बादलको भारमा दबिए झैं प्रतीत हुन्छ, नेपालको जीवन्त जीवन र गणतन्त्र ।

सहयात्री रमेश धमला, ज्योति अधिकारी, विमल नहर्की र चन्द्र रिजालले मलाई उछिनिसकेका छन् । बोधराज भण्डारी भने अलिक पछाडि परेका छन् । अगाडि जानेहरूलाई भेट्न पुगुँ कि पछाडि आइरहेका बोधराजजीलाई पर्खंू पो हुन्छ मलाई । दोधारमा पर्छु म । फेरि सोच्छु– विस्तारै उकालिंदै गर्दा बोधराजजीले मलाई कसो नभेट्लान् त ! अगाडि जाने सहयात्रीका पाइला पछ्याउँदै गर्दा स्मृतिदंशमा पुग्छु म ।

कुरो हो परार सालको । चरापे्रमी जयनाथ भण्डारीसँग मैले एक निमेष बिताएथें टौदहको किनारमा । देखेथें– प्राकृतिक अञ्जुलीमा अडिएको टौदहले वरपरका केही रूख र झाडीहरूको प्रतिविम्ब उतारिरहेको । पानीभित्र माछा र पानीमाथि राजहाँसहरू पौडिंदा असङ्ख्य तरङ्ग सिर्जेको र त्यहीबेला चराहरूको छायाँ टौदहमा खसेको ।

०००

आधा घण्टापछि वर्षाले बिदाइ गर्छ । पानी नपरेपछि जाबो डेढ पाउको बर्साती पनि हातमा लिएर हिंड्न असहज महसुस हुन्छ मलाई । अनि कोच्छु झोलामा र फटाफट लाग्छु उकालो ।

एक घण्टा उकालिएपछि एकातिर फर्पिङ र दक्षिणकाली मन्दिर तथा अर्कोतिर चम्पादेवीतर्फको बाटो फाट्छ । म समाउँछु आफ्नै गन्तव्यको बाटो ।

दक्षिणकाली मात्र होइन, तेत्तिसकोटि देउताले बास गरेको क्षेत्रका रूपमा लिइन्छ फर्पिङको सेरोफेरोलाई ।

फर्पिङ भन्नेबित्तिकै नास्पातीको याद आउँछ । उहिले उहिले दक्षिणकाली जाँदा–आउँदा खुब खान्थें म । तेलका लागि अहिले पनि उत्तिकै लोकप्रिय छ, अलि परको खोकना । यस्तै प्रख्यात ठाउँ अरू पनि छन् नेपालमा । जस्तो– एकादेशको कथा भइसके पनि स्याउको लागि प्रख्यात थियो, हेलम्बु । अहिले बन्छ कि बन्दैन थाहा छैन; नत्र खुकुरीका लागि भोजपुर र ताप्केका लागि वीरगञ्ज निकै विख्यात ठाउँ हुन् ।

फर्पिङमै थियो नेपालकै पहिलो र एशियाको दोस्रो जलविद्युत् गृह । ऊ बेला चन्द्रशमशेरले बेलायतदेखि इन्जिनियर ल्याएर पनि नेपाललाई विद्युतीकरण गराएका थिए । २०३८ सालमा सात मूल र शेषनारायणको पानीलाई पिउने प्रयोजनका लागि राजधानी आपूर्ति गर्न थालेपछि बन्द भो फर्पिङ जलविद्युत् गृह । निरन्तर ६० वर्ष काठमाडौंलाई उज्यालो दिएको त्योे जलविद्युत् गृहको खण्डहर मात्र बाँकी छ । नेपाली न प¥यौं, महत्वपूर्ण चिजको मूल्य बुझ्न नसक्नु हाम्रो विशेषता नै बनिसकेको छ ।

प्रत्येक पाइलामा चम्पादेवी पहाडसित गहिरो सम्बन्ध गाँस्दै यसको वैशिष्ट्यको अनुभूत गर्न पाएकोमा आभारी भएको छु । काठमाडौं उपत्यका लगायत लाङटाङ, गौरीशङ्कर, जुगल, दोर्जेलाक्पा र अन्नपूर्ण जस्ता हिमालय पर्वतका दृश्य देखिन्छन् चम्पादेवीको चुचुरोबाट । तिनै मनोरम दृश्यहरूमा रम्ने कामना गरिरहेछु म ।

लालीगुराँस र काफलका पोथ्रा तथा खस्रु र चिलाउनेका सघनताका बीच सिर्सिराएको मन्द वायुले ग्रीष्मकालीन फूलहरूको सौरभ बोकेको आभास गराइरहेछ । मुकुल खोल्ने भव्य तयारीमा देखिन्छन् असारे पुष्प । जीवनको निरन्तर चक्रको प्रतीक हो– मुस्काएका कुसुम र ओठ खोल्नै लागेका अनेकौं बोटबिरुवाको संयोजन । परिवर्तनशील प्राकृतिक संसारको निरन्तर परिवर्तनको निथार पनि होला यो । एक अभूतपूर्व वानस्पतिक विविधताको बेजोड संगम !

ठाउँ–ठाउँमा उभ्याइएका छन्– जस्ताका टहरा । पदयात्रीका लागि बनाइएका बिसौनी होलान् सायद । अचम्म चाहिं के भने ती टहराका छेउछाउमा पानीका बोतल, बिस्कुट र खैनीका खोलहरू असरल्लै छन् । हामी नेपालीहरूले यात्रा गर्ने बाटो छेउछाउ यस्ता कुराहरू देखिनुमा किञ्चित अचम्म लाग्दैन मलाई । तर भर्खरै खोलिएका वाइवाइ चाउचाउका खोलहरूमा नजर पर्दा भने हुनसम्मै अचम्भित हुनपुग्छु म । चौधरी ग्रुपद्वारा उत्पादित वाइवाइ चाउचाउमा अत्यधिक विषादीयुक्त रसायन प्रयोग गरिएको अर्थमा हालसालै ‘जनचेतनाका लागि सक्दो सेयर गरौं’ भनेर फेसबुक सञ्जालतिर भाइरल भएको नारा याद आउँछ मलाई । भारतमा त झन् प्रतिबन्ध नै लगाएको भन्ने कुरा युट्युबमा हेरेदेखि वाइवाइसितको संगत चटक्कै छोडेको छु मैले ।

अनेकथरी चराचुरुङ्गीको चहलपहल, अनेक जातका पुतलीको फुरफुर र अनेकखाले स्तनपायी जनावरको वासस्थान । जीवनले भरिपूर्ण छ– चम्पादेवी पहाड । पदयात्रामा सांगीतिक पृष्ठभूमि थप्दै मधुर स्वरमा चिर्बिराउँछन् चराहरू । मलाई औधी मिठो लाग्छ चराहरूको स्वरलहरी । तिनीहरूको मधुर कलरवको आनन्दानुभूति गर्न पाउनु यात्राको रमाइलो पक्ष लाग्छ मलाई ।

बादलको पर्दाले आकाश निरन्तर ढाकिरहेकै छ । तैपनि झिनो आशाको किरणले चम्पादेवीसम्म पुग्ने मार्गलाई उजिल्याइरहेछु ।

साढे दश बज्दा गोरेटोले एउटा सानो थलीमा पु¥याउँछ । थकित यात्रीले आराम गर्ने उपयुक्त थलो हो यो । स्थानीयले ‘गोठडाँडा’ नाम दिएका छन् यो थलीलाई । चिया, बिस्कुट र फलफूलको एउटा सानो थर्पु छ यहाँ ।

बोसनमा लिएको नास्ता उकालोले चोरिसकेछ । कोही चियाको चुस्की लगाउँछन् त कोही केरा टोक्छन् । भोकको जलन शमन गर्नेे उपाय ! बोसन फर्केपछि मात्र हाइकिङ पूरा हुन्छ । टानले त्यहीं व्यवस्था गरेको छ– मासुभात ।

पसलमा व्यस्त छन् आमाछोरी । “उहाँको श्रीमान् पनि ट्रेकिङ गाइड नै हो नि” भन्छन् नजिकै उभिएका एक सहयात्री ।

“तपाईंको श्रीमान्को नाम के हो ?” सोध्छु । “कर्मा बुढा मगर”– भन्छिन् उनी । कर्मा बुढा मगर– मैले सुनेको नाम तर नभेटेको मान्छे ।

“बुबाको पाइला पछ्याउने विचार छ कि छोरीको पनि ?” छोरीपट्टि पनि प्रश्न तेस्र्याउँछु । भन्छिन्– “छ नि अङ्कल ! मलाई’नि उकाली–ओराली मनपर्छ । पदयात्राका नवीन पथ पत्ता लगाउन चाहन्छु । पहाडसित साइनो गाँस्न र जीवनको यथार्थ बुझ्नु छ मलाई ।” पेशागत पहिचानको सवाल न छ । पूरा होस् उनको आकाङ्क्षा !

फगत आरामस्थल मात्र होइन गोठडाँडा; यो त सांस्कृतिक आदान–प्रदानको केन्द्र पनि हो । आमाछोरीको न्यानो आतिथ्य र उनीहरूसँग भएको छोटो संवाद मेरो यात्राको एउटा अविस्मरणीय क्षण बन्न पुग्छ । गोठडाँडालाई स्मृतिमा सजाउँदै अघि बढ्छु म ।

गहुँगोरो वर्ण । सुगठित शरीर । औसत नेपाली उचाइ । चम्पादेवीबाट ओरालिंदै गरेका राजधानीवासी तीन युवा भेटिन्छन् बाटोमा । उनीहरूसँग सङ्क्षिप्त संलाप हुन्छ मेरो ।

भन्छन्– “भ्यु त देखिएन तर स्वास्थ्यको लागि चाहिं रामै्र भो आजको हिंडाइ । प्रकृतिसँगको साइनो मज्जैले नवीकरण गरियो ।”

सधैं नयाँ अनुभव र कायाकल्पको खोजीमा हिंड्ने यायावर रहेछन् उनीहरू । चराहरूको गुन्गुन सुनिन्छ । आइरहेछ माटोको सुगन्ध । हिमाल नदेखे पनि प्रकृतिका सूक्ष्म सौन्दर्यमा मज्जाले रमेका छन् उनीहरू । घामको कडा किरणको अनुपस्थितिमा शीतल र बादलको सुरक्षात्मक छातामा आरामले हिंड्न पाउनु जीवनको अर्को रमाइलो पक्ष हो ।

साँचो खजाना (ट्रेजर्स) देखेको कुरामा होइन, संवेदनामा पाइँदोरहेछ । विचरणबाट सिक्छु म । एघार नबज्दै टेक्न पुगिन्छ चम्पादेवीको प्राङ्गण ।

२,२८० मिटर अग्लो भूतल बिछ्याएर आकाश ओढेकी छन् चम्पादेवीले । कुँदिएका दुई थान शिला, देवीको मूर्ति, शिवलिङ्ग र त्रिशूल छन् । मन्दिर अगाडि उभ्याइएको छ पत्थरको मौलो । देवल सामुन्ने बसेर आशीर्वाद बाँडिरहेका छन् एक पुजारी । अर्को छेउमा छ, बौद्ध स्तूप । हावामा सुस्तरी फर्फराइरहेछन् रङ्गीन लुङ्दर ।

भक्तजनको तिर्खा मेट्न हजार लिटरको पानी ट्याङ्की राखिएको छ चम्पादेवी परिसरमा ।

अघि बोसनकी एक वृद्घ महिलाले भनेकी थिइन्– “चम्पादेवीमा पानी छैन । उहिले चम्पादेवी (दिदी)ले फुल्चोकी (बहिनी)कोमा जाँदा पानी चोरेर ल्याइछन् । बाटोमा आउँदाआउँदै भालेले बिहानीको सङ्केत गरेछ । उज्यालो भएपछि गाउँलेले देखेछन् । त्यसपछि दिदीबहिनी बीच रडाको मच्चिएछ । तब चम्पादेवीले पानी ल्याउन पाइनन् रे ! त्यसपछि ‘तैंले पानी नदिए पनि म अमृत वर्षा गराएर यो डाँडोलाई हरियो राख्नेछु’ भनिन् रे चम्पादेवीले ।”

चाखिलो मिथक ! यथार्थमा पनि हरियाली छ चम्पादेवी डाँडो । चम्पादेवीमा पसल गर्ने चिजमाया घर्ती मगरलाई यही कुरा सुनाउँछु म ।

उनी भन्छिन्, “वर्षाकी देवी पनि भनिन्छ चम्पादेवीलाई । बालीनाली लगाउने बेलामा पानी परेन भने किसानहरू पानी माग्न यहाँसम्म आराधना गर्न आइपुग्छन् ।”

सुनेथें– “यहाँका किसानहरू पानीका लागि सबैभन्दा पहिले दक्षिणकालीलाई पूजा गर्छन्, त्यसपछि चौकोटदेवी र सेतीदेवीलाई ।”

पानी नपर्दा नेपालका किसानहरू देवीको शरण पर्छन् । यतिसम्म कि भ्यागुताको जोडी बनाएर बिहे गरेका दृष्टान्त समेत अनगिन्ती छन् हाम्रो समाजमा ।

उनी थप्छिन्, “हरेक नयाँ वर्ष र योमरी पूर्णेका दिन मेला लाग्छ यहाँ । उपत्यकाका मान्छेहरू मेला भर्न आइपुग्छन् ।”

मभन्दा अगाडि नै त्यहाँ पुगिसकेका केही सहयात्री उत्सव मनाउँछन् नाचगान गरेर । ‘रेशम फिरिरी’ लगायत परम्परागत नेपाली गीतका भाका चम्पादेवीको प्राकृतिक लयसँग मिसिन्छन् । पर्यटन व्यवसायीहरूको चकचकी छ चम्पादेवी चुलीमा । टानको हरियो लोगो सहितको सेता टी–सर्टधारीहरू सलबलाइरहेको देख्दा टानमय लाग्छ– चम्पादेवी डाँडो । सोच्छु– गुराँस त फुल्छन् नै । अझ साँच्चिकै सेता, पहेंला चम्पा फूलहरू मुस्कुराउने हो भने यो ठाउँको सौन्दर्य वर्णन कसरी गरिन्थ्यो होला !

बालवयमा चम्पा फूलसँगै खेल्थें म । लामा, चम्किला र गाढा हरिया पात । बाक्ला तर कोमल पाँचवटा पङ्खुडी मिलेर बनेका सेता, राता, गुलाबी र पहेंला फूल । उत्कृष्ट प्राकृतिक कृति हो, भव्यता र सरलताको प्रतीक चम्पा । पूरक बनाउँथे चम्पाहरूले मेरो गाउँको दृश्य सौन्दर्यलाई । तिनका मादक सुगन्धले लट्ठिन्थें म । चम्पादेवी मन्दिर परिसरमा टहलिंदै गर्दा चम्पाका तिनै आकृति मेरा आँखासामु आउँछन् ।

एकातिर उल्लासमय उत्सव र अर्कोतिर अन्वेषणको उत्साह । दुवैको सम्मिश्रणले टानद्वारा आयोजित हाइकिङमा गरिएका दृश्यपानको अमिट छाप पर्छ मेरो मानसमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?