+
+

मुर्झाउँदैछ सेरामिक्स कला

राजन भट्टराई राजन भट्टराई
२०८१ जेठ २६ गते ८:०५

सदियौंदेखि एकोहोरो सुसाइरहेको छ, दरौंदी नदी। दरौंदी पर बायाँतिरको फाँट। फाँट पर झुरुप्प परेका बस्ती। बस्ती तल धर्सा झैं कोरिएका सडक। चोरकाटे बजार देखियो, गोरखा बजार नजिकैमा। जिल्लाकै उत्तरी र पूर्वी भूभागको नाका हो, चोरकाटे बजार। पहिले व्यापारिक केन्द्र थियो, यो भूगोल।

करीब २०० कुमाल बस्ती छन्, चोरकाटे बजारको छेउछाउमै। पहिले माटोका भाँडावर्तन पाउने हाटबजार थियो, यहाँ। गोरखा बजारदेखि चितवन, पोखरा र भैरहवासम्म यही ठाउँबाट माटोका भाँडाकुँडा लैजान्थे, व्यापारीले। कुमालेका नाइके, मिझार, मुखियादेखि सबैका घर–आँगनमा काँचो माटो थुप्रिन्थ्यो। काठका चक्का फनफनी घुमेर गाग्रो, घ्याम्पो, चिलिम, गमला, मकल, घैंटो, देवताहरूका मूर्ति आदि बन्थे। जेनतेन गुजारा यसैगरी चलेको थियो, कुमाले समुदायका पुर्खाको। यहाँका कुमाले जाति माटोको कला मात्र होइन, नेपाल एकीकरणको महाअभियानमा पनि सरिक थिए। डोरबहादुर बिष्टले लेखेका छन्– “नेपाल एकीकरणको संग्राममा गोरखाका कतिपय कुमालले आहुति दिए त कतिपयले डौडाहा (समाचारवाहक) का रूपमा काम गरेका थिए।”

समयले कोल्टो फेर्‍यो। खुला बजारले रैथाने सीप र कलालाई खर्लप्पै खायो। गाउँका हाटबजारमा प्लास्टिकका रङ्गीचङ्गी भाँडाबर्तन भित्रिए। भारत र चीनका भाँडावर्तन घरघर भित्रिए। ग्राहकका रुचि बदलिए। जीवनशैली फेरिए। माटाका भाँडाबर्तन प्रयोगमै आउन छाडे। अनि पूर्वजको पेशा छाडे कुमाल समुदायका नयाँ पुस्ताले। पुर्ख्यौली पेशामा स्वाद देखेनन्। जीवन गुजाराको सम्भावना थियो मेटियो त उद्यमशीलता खासै सोच रहेन। चटक्कै छाड्दै गए, बाउबाजेको मौलिक पेशा। त्यस ठाउँमा विकासका पूर्वाधारहरू सडक, स्वास्थ्य केन्द्र, विद्यालय, पानी, बिजुली, बत्ती त पुगे तर कुमाल समुदायको पेशाको स्तरोन्नति होइन। बरू जमिन बेचेर चितवन, मकवानपुरदेखि तराई हुँदै नेपालका बजारतिर झरे।

गोरखाको सिरानचोक गाउँपालिका कुमाल जातिको पुर्ख्यौली पेशा जगेर्नामा लाग्यो। कुमाले जातिको पेशाको पहिचान, प्रवर्धन, ब्रान्डिङको सपना देख्न थाल्यो। माटोको कलामा नवप्रवर्तनको सुगन्ध देख्यो, गाउँपालिकाले। आफ्नो पालिकाको पहिचान नै सेरामिक्स आर्ट (माटोको कला) देख्यो। एकातिर रैथाने कला जोगाउनु त गाउँपालिकाको दायित्व थियो नै अर्कोतिर सीमान्तीकृत कुमाल जातिलाई आयआर्जनमा जोड्ने चिन्ता थियो। गाउँपालिकाले रैथाने प्रविधि सहित उद्यमको मोडल विकास गर्‍यो। बान्की भरियो, रैथाने कुमाले शैलीको। सेरामिक्स आर्ट (माटोको कला) आफैंमा सीप, ज्ञान र प्रविधिको संयोजन थियो। रैथाने माटोको कलाको संयोजन र ब्रान्डिङमा जुटेको थियो। गाउँपालिकाले वडा नं ४ मा छरिएका कुमाल जाति छनोट गर्‍यो। माटोको कलामा रंग भर्दै फरक शैलीमा वस्तु उत्पादनको उद्घोष गर्‍यो। अनि मौलिक कलालाई बजारको माग अनुसार व्यवसायीकरण र बजारीकरण गरिने एकीकृत विकासे मोडल तय गर्‍यो।

सुरूमा गाउँपालिकाको योजना पत्याएनन्, कुमाल समुदायले। कुमालेका घर–झुपडीमा जाइकादेखि मेडेपासम्मका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था कुमालेको सेरामिक्स कलाका तानाबाना बुनेर नआएका होइनन्, तर पानीको फोका झैं ती टिकाउ रहेनन्। चटके र पटके अभियान भए।  सिकेको सीप पनि दरौंदीको पानी झैं बगेर गए। कुमालेका अगुवा यस्ता लहडी योजनाको विश्वासमा लाग्न सकेनन्। तैपनि गाउँपालिकाले यस समुदायमा व्यावसायिकता र उद्यमशीलता जगाउने हुटहुटी थियो। प्रतिबद्ध थियो।

गाउँपालिकाका दुई कर्मचारी कमल चापागाइँ र उत्तम वस्ती सेरामिक्स कलाको प्रशिक्षक खोज्न काठमाडौंतिर हान्निए। काठमाडौंका विद्यालयमा “फ्राइडे फर फ्युचर” कार्यक्रम अन्तर्गत विद्यालयमा पढाउँदै हिंडेका सेरामिक्स प्रविधिका प्रशिक्षक अम्मर प्रजापतिलाई भेटे। माटोको कलामा निपुण प्रशिक्षकलाई गोरखाको कुमाले बस्तीमा आइदिन आग्रह गरे। प्रशिक्षकले खासै चासो दिएनन्, ती केटाको आग्रहलाई। अरू प्रशिक्षक खासै भेटिएनन्, सेरामिक्स कलाको। पुन: अनुरोध गरे। सातदिन धर्ना बसेर हारगुहार गरेर अम्मर प्रजापतिलाई गोरखा ल्याए।

प्रशिक्षक त ल्याए तर गाउँमा पढ्ने सहभागी थिएनन्। फेरि कमल चापागाइँ र उत्तम वस्ती कुमाल समुदायको घरदैलो गर्दै तालिमका सहभागी खोज्दै हिंडे। सेरामिक्स समूह कला सञ्जाल बनाउने तानाबाना बुन्दै हिंडे। गाउँपालिकाका यी जुझारू कर्मचारीलाई लागेको छ, गोरखाको सिरानचोक गाउँलाई चिनाउने, बुझाउने र कमाउने यही रैथाने कला हो। माटोमा नै उद्यम छ, व्यावसायिकता छ। कमाइ छ र साथमा  मौलिक संस्कृतिको जगेर्ना छ। रैथाने माटोको कलाभित्र आगोमा पोलेर माटोका सामान बनाउने र ब्रान्डिङको योजना गाउँपालिकासँग थियो। गाउँले आफैंमा कला र सीपका खानी हुन्। मात्र ज्ञान, सीप उजागर गर्न गाउँपालिका लागेको थियो। तर गाउँलेमा उत्साह थिएन। आफ्नो पेशाले कमाइ हुन्छ भन्नेमा विश्वास थिएन।

प्रशिक्षक अम्मर प्रजापति गोरखा आए, सेरामिक्स कलामा त डुबे। उत्तिकै कुमाल समुदायसँगको रहनसहनसँग पनि भिजे। यो प्रविधि र कलाको बखान मात्र होइन, कमाइखाने र कमाइखाने उद्यमको उदाहरण दिए। अलि जागरण देखियो गाउँमा, यो पेशाको। कुमाल समुदायका युवादेखि बुढ्यौलीसम्मका उमेर समूह वडा नं ४ समूह भवनमा भेला भए। नाम दर्ता गरे, प्रशिक्षकको रोस्टरमा। सुरू–सुरूमा दश एघार जना मात्र भेला भए। गाउँपालिकाले सेरामिक्स कलालाई चाहिने सबै उपकरण किनिदियो। दिनरात प्रशिक्षक अम्मर प्रजापति दत्तचित्त भएर सिकाउनमै लागे।

 सबैभन्दा पहिला गाउँमै मुलायम माटो खोजेर ल्याउन लगाए। कालो माटो, चुन–ढुङ्गा मिसिएको माटो। त्यो एकखालको ब्याक्टेरिया भएको माटो थियो, छाम्दा लेसाइलो। सिलिका मिसिएको र पोटास, सोडा आदि घुलेको माटो। मुछेर प्लास्टिकका साना–साना पोकामा प्याक गर्न सिकाए, प्रशिक्षकले।  कम्तीमा एक हप्तासम्म माटोमा हावा नछिर्ने गरी प्लास्टिकमा प्याक गर्न लगाए। खुब चासो राखे सहभागीले। यस्तो माटो जति पुरानो भयो, त्यति राम्रो हुन्छ। प्रशिक्षक अम्मर प्रजापति भन्दै थिए- “उहिले उहिले त बाजेले बनाएको माटो नातिले प्रयोग गर्थे रे!”

पहिले गाउँपालिकाको योजनामा बेवास्ता गरे पनि प्रशिक्षकले हौसला दिए। चोरकाटेको समूह भवननेर माटोको सिकाइ केन्द्र बनाइयो। गाउँले भेला भए, एकएक गर्दै। हुँदाहुँदै ४० जनाको दुई समूह बन्यो। माटोमै जन्मेर माटोसँगै खेलेर त्यही माटोमा जीवन विलय भएका पुर्खाको पेशा र सीपले विस्तारै विस्तारै सिंगो कुमाल गाउँलाई नै लोभ्यायो। श्रद्धा थियो बाउबाजेको सीप र कलाको। अनि ममता र संरक्षण उत्तिकै। अनि मुलायम माटोमा कुमालेका मुलायम हातहरू चल्न थाले। गर्मी भनेनन् उनीहरूले। बिहान या साँझ भनेनन्, सहभागीहरूले। रस बस्दै गयो कलामा। पुर्ख्यौली कला प्रवर्धनमा एकढिक्का भएर कुमाल समुदाय जुर्मुराए। माटोको सुगन्धसँगै कला भर्न १८ वर्षदेखि ७२ वर्ष उमेरसम्मका गाउँले एकढिक्का भए।

प्रशिक्षक अम्मरले ४५ दिनको पाठ्यक्रम हातमा बोकेर बसेका छन। सेरामिक आर्टका लागि पहिले  माटो परीक्षणमा लागे। कोहीलाई माटोको खानी खोज्न पठाएका छन् त कसैलाई मुछ्न लगाएका छन्। अनि माटो तयारी (प्रिपेसन) चरणमा प्रवेश गरे। प्रशिक्षार्थी हातले, साँचोको सहायताले, चक्कामा घुमाएर, औंलाले चपचप गरेर, माटोको डल्लोलाई कुनै औजारले खुर्केर, माटोलाई फनफनी घुमाएका छन्। यस ४५ दिनमा सात प्रकारका कचौरा, पाला, गमला, मूर्ति, धुपौरो, खुत्रुके उत्पादन गर्ने योजना उनीसँग छ। यसपछि सात प्रकारका माटोका  साम्रगी  बनाउने तरिका पढाए, विधि सिकाए। प्रयोगात्मक रूपमा माटो सुकाउने र माटो पोल्ने तरिका बताए। सेरामिक्स प्रविधिमा  पेन्टिङ,  डेकोरेसन,  ग्लेज राखेर पोल्ने जस्ता पद्धतिको बखान गरे। कला सिर्जनापछि सिसाको झोलमा डुबाएर ग्लेज गरिनेसम्मका सिद्धान्त पढाए। दिन–रात एकोहोरो भनिरहे उनले- “मस्तिष्कमा सृजना छ, हातमा सफाइ छ। धर्तीमा माटो छ। तर प्रवीणता दिने ज्ञानको खाँचो छ। व्यावसायिकता र उद्यमको कमी छ।”

राजन भट्टराई

क्रमश: उत्साही बन्दै गए, सहभागी। प्रशिक्षकलाई तोकिएको समयमा आफ्नो सीप हस्तान्तरण गर्न दृढ छन्। गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरूङलाई सुनाउँदै थिए, प्रशिक्षक- “सहभागीले साँचोमा ढालेर माटोका कचौरा, पाला, गमला, मूर्ति, धुपौरो, खुत्रुके त बनाएका छन्। हावा अनि घाममा सुकेका छन् ती कला। आठ सयदेखि एक हजार डिग्री सेल्सियस तापक्रममा पोल्नुपर्छ। तर विद्युतीय चुलो छैन। कमसल खालका माटोका वस्तु (अर्थनवेयर) ११ सय डिग्री भन्दा तलको तापक्रममा नै उत्पादन हुन्छन्। तर १३ सय डिग्री वा सोभन्दा माथिको तापक्रममा उत्पादन हुने वस्तुलाई (स्टोनवेयर) जुन निकै कडा हुने गर्दछन्। सेरामिक्स उत्पादन र तापक्रम परिपूरक छन हजुर।”

त्यहाँ विद्युतीय चुलो थिएन। बाहिरतिर खुला चउरमा दाउराले पोल्ने योजना थियो माटोका सामग्रीलाई। माटोका कला (सेरामिक्स) मा परम्परागत र आधुनिक गरी दुई तरिका देखियो। परम्परागत विधिबाट फूल रोप्ने गमला, हाँडी, घैंटो, बत्ती बाल्ने पाला लगायत बन्थे भने आधुनिक शैलीमा माटोका कप, गिलास, चियादानी र सजावटका वस्तुहरु उत्पादन हुन्थे। विशेषतः माटोलाई पोलेर विभिन्न प्रकारले कलाको रूप दिइने रहेछ। एकपटक पोलिसकेपछि पनि पुनः पोलेर आफूले खोजेको रङ,  इफेक्ट,  टेक्चर,  चमक ल्याउन अनेक प्रयोग गरेको भेटिन्छ। कहिले चर्को घाममा सुकाएर त कहिले छायाँमा राखेर। अनि कहिले ताप दिएर माटोको कला बनाउने प्रचलन रहेछ। यसैलाई पोटरी,  टेराकोटा, सेरामिक्स कला आदि नामले पुकारिन्छ। नेपालमा सेरामिक्स कला उत्पादनका लागि बल क्ले, चाइना क्ले, फायर क्ले जस्ता माटो आयात गर्नुपर्ने अवस्था रहेछ।

तालिममा सहभागी मध्येका भेषराज कुमाल भन्दैथिए- “विद्युतीय भट्टा चाहियो हामीलाई। एड्भान्स तालिम थप्नुपर्छ, पालिकाले।” सहभागीकै टोली नेता थिए उनी। अरू होस्टेमा हैंसे मिलाउँदै थिए। “जेहोस् विकास माग्ने अधिकार ल्याएछ, लोकतन्त्रले”- मेरा सहकर्मी सन्दिप ढुंगाना खुसुक्क बोलेको सुनियो।

लाग्यो, सेरामिक्स आर्ट (माटोको कला) सम्भवतः मानव सभ्यताकै प्राचीन कला हो। इतिहासका दस्तावेजमा सिन्धु घाँटीको सभ्यता (इसापूर्व ७००० देखि ६०० सम्म) होस् या मेसोपोटामियन र इजिप्सियन कला होस्, यो कलाको व्याख्या पाइन्छ। युरोपको रोमन वास्तुकलामा डेकोरेटिभ आर्टका रूपमा टेराकोटा उहिल्यैदेखि प्रख्यात थियो। अझ टेराकोटाको पहिलोपल्ट ‘भेनस अफ डल्नी भेस्टोनाइस’ प्रयोग भएको गाथा पढ्न सकिन्छ।

नेपालको तराई, मधेश र काठमाडौं उपत्यकामा सबैतिर माटो कलाको रैथाने सीप, ज्ञान र प्रविधि छ। इसापूर्व तेस्रो शताब्दीका सम्राट अशोकले स्थापना गरेको स्तम्भ कला पनि माटोकै थियो। सिरानचोक गाउँपालिकाका वडाध्यक्ष भरत हमाल व्याख्या गर्दैथिए- “विभिन्न जात्रा, चाडपर्व मात्र होइन, जन्मदेखि मृत्युसंस्कार जीवनचक्रमै माटाका कलात्मक भाँडाकुँडा प्रयोग हुन्छन्। यो कला त हाम्रो जीवनपद्धति नै हो।” हामीले घरमा चलाउने धेरैजसो गाग्री, घैंटो लगायत भाँडाकुँडा माटाकै हुने गर्दथे। चाडबाडका बेला अन्नबाली दिएर माटाका भाँडाकुँडा लैजाने गरिन्थ्यो। घैंटामा राखेको चिसो पानी पिउँदा स्वाद नै मिठो लाग्थ्यो। माटाका राम्रा भाँडाकुँडा बनाउन यहाँका बलवीर कुमाल, पदम कुमालहरू कलामा नामुद थिए। पछिल्लो पुस्ताले यो कलामा रुचि राखेनन्। यही भएर गाउँपालिकाले अभियान ल्याएको हो।”

गाउँपालिकाले सेरामिक्स उद्योगको परिकल्पना गरेको छ। स्थानीय तहमा यस कलालाई चाहिने विशेष गुणस्तरको माटो उपलब्ध छैन। माटो ल्याई स्टक राख्नुपर्ने हुन्छ। गाउँपालिकासँग समस्या नभएका होइनन्, कच्चा पदार्थ, टेक्नोलोजीको असुविधा, बाहिरी उत्पादनको ज्ञान, बजार, माटो ओसारपसार, राजस्व लगायत रहेका छन्।

“सेरामिक्स आर्ट गर्न थ्रीडी अर्थात् डेन्जर, डर्टी, डिफिकल्टलाई सामना गर्छु भन्ने सोच छ। बाउबाजेले पहाड र अनकन्टार पखेराबाट माटो ढुवानी गर्दा पहिरो आई अनाहकमा धेरै जनाको ज्यान गुमेको बलिदानी गाथाको कला हो। अहिलेको पुस्ताले सिक्नैपर्छ। बजार राम्रो छ, तर काम गाह्रो छ। यो क्षेत्रमा निरन्तर खट्ने धैर्य र  नवीनताको खाँचो छ। उद्यमीले विदेश जानुपर्दैन” १२ क्लास उत्तीर्ण सञ्जु कुमालले बताइन्। कति त पेशाबाटै पलायन भए भने कतिले बाउबाजेको थातथलो छोडेर चितवन झरे। अहिले युवाको विदेशिने लर्को छ।

“पछिल्लो समयमा नयाँ युवाले यस मौलिक प्रविधिको न जगेर्ना गरे न उद्यम। यो त कला संरक्षण मात्र होइन रहेछ, उद्यम पेशा रेहछ” सात वर्ष मलेशियामा बसेर फर्केका प्रकाश कुमालले भने। थपे उनले- “एक त मिहिन माटो र मिहिनेतको खेल रहेछ। ह्विल घुमाउनेदेखि पोल्ने, पेन्टिङ गर्ने सबै काम एउटैले गर्दा रमाइलो मात्र होइन, दिग्दारी पनि छ। मिहिनेत र लगनशीलता चाहिने रहेछ।”

२०७८ सालको जनगणना अनुसार देशका ७० जिल्लामा बसोबास गर्दै आएको कुमाल समुदायको जनसंख्या एक लाख २९ हजार ७०२ छ। तथ्यांक अनुसार नवलपरासी, दाङ, चितवन, कास्की, गोरखा, पाल्पा, धादिङ, तनहुँ लगायत जिल्लामा कुमाल समुदायको बसोबास बाक्लो छ। अल्पसङ्ख्यक जातिका रूपमा लिइएको छ।

स्थानीय ७२ वर्षका विष्णु कुमालले भने “पहिले पनि कुमाल बस्तीमा माटाका घैंटो,  गाग्री, अम्खोरा, बौना, चिलिम, सुल्पा, धुपौरो, वर्तनका लागि चाहिने भड्का लगायत सामग्री त बन्थे। तरपछि प्लाष्टिक र सिल्टेका भाँडाकुँडा सस्तोमा पाइन थाल्यो। माटोका भाँडाकुँडा मानिसले खोज्न छाडे। त्यसपछि हाम्रा पुर्खाहरूले गर्दै आएको पेशा हामीले लिएर हिंड्न कठिन भयो।”

“गोरखाको त्यो भूगोलमा माटो, माटोको भाँडा पोल्ने भट्टा, प्रविधि, सीप अभावले यो कला मर्दै गएको छ र अब केही उत्साह थपिएको छ” ३५ वर्षीय कृष्ण कुमालेले भने।

“भारतमा जब रेल चढ्दा चिया बिक्री गर्न माटोका कप प्रयोग भएको देखें, तब मेरो मनमा कुमालेको पेशा प्रवर्धन गरिने सोचले जन्म लियो” गाउँपालिकाका कर्मचारी कमल चापागाइँले भने।  भारतमा लालु यादव रेल मन्त्री भएको समयमा रेलमा चिया बिक्री गर्न माटोका कप मात्र प्रयोग गर्न पाउने व्यवस्था गरिएको थियो। नेपालमा पनि मड्का चिया र मासुका परिकारमा माटोकै भाडा प्रयोग गर्ने प्रचलन बढेको छ। रैथाने वस्तु प्रयोग र उपयोगमा राज्यको नीति संरक्षणकारी हुनुपर्छ भन्ने तथ्यको उजागर सेरामिक्स कलाले गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?