
१७ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने युवाबाट असुली भएकोबारे छानबिन भइरहँदा भिजिट भिसामा विदेश जानेहरुको संख्या नै घटेको छ ।
अनुसन्धान चलिरहेका बेला समेत केही युवा विदेशिएको विवरण आएपछि थप कडाइ गरिएको थियो । यसपछि भिजिट भिसामा जानेकै संख्या घटेको पाइएको हो ।
विमानस्थल अध्यागमन कार्यालयमा निरीक्षणका लागि आइतबार पुगेका अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले विमानस्थलबाट भिजिट भिसामा विदेश जानेको संख्या उल्लेख्य रुपमा घटेको बताए । उनले अनलाइनखबरसँग भने, ‘पहिले एक दिनमै ९ देखि १० हजारसम्म जाने गरेकोमा अहिले ६ हजार, ६ हजार ७ सय/८ सय, कहिले ७ हजार जाने गरेको तथ्यांक छ ।’
पछिल्लो समय विमानस्थलमा पूर्ण कागजात नभएकाहरुलाई समेत कडाइ गरिएको र त्यसका कारण संख्या घटेको हुनसक्ने उनले बताए ।
अहिले दुबई लगायत मुलुकमा जाने हवाई भाडा समेत घटेको छ । विगतमा विमानस्थल अध्यागमन प्रमुखमा सहसचिव तीर्थराज भट्टराई रहेका बेला चार महिनामा २१२ जना भारतीय नागरिकलाई विना एनओसी (नो अब्जेक्सन लेटर) विदेश पठाएको खुलेको थियो ।
यसपछि काठमाडौंस्थित भारतीय दूतावासले पनि चासो देखायो भने भारतीयलाई काठमाडौं हुँदै तेस्रो मुलुक पठाउन कडाइ गरिएको छ । भारतीय नागरिकलाई विना एनओसी विदेश पठाएको विषयमा अख्तियारको छानबिन अझै जारी छ ।
अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘विना एनओसी विदेश पठाइएको एउटा क्याटागोरी मात्र हो, नक्कली एनओसी, भारतमा अपराधमा संलग्नलाई समेत पठाएको विषयमा छानबिन गरिरहेका छौं ।’
भारतमा साढे ९५ किलो सुन तस्करी प्रकरणमा ‘मोस्ट वान्टेड’ रहेका आरोपी जागेश्वर शाह कालोसूचीका बाबुजद विमानस्थलबाट उम्किएको भेटिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार, जागेश्वर र उनका छोरा आशिफ शाहलाई अध्यागमनको कालोसूचीमा राखिदिन भन्दै काठमाडौंस्थित भारतीय दूतावासले पत्राचार गरेको थियो ।
पत्रको आधारमा १९ मार्च २०२५ मा अध्यागमन व्यवस्थापन सम्बन्धी सफ्टवेयर ‘नेपाली पोर्ट’मा देखिने गरी उनीहरुलाई कालोसूचीमा राखिएको थियो । विमानस्थल अध्यागमनलाई लिखित पत्र समेत पठाइएको थियो ।
तर, कालोसूचीमा राखेको भोलिपल्टै जागेश्वर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई गएको पुष्टि भएको थियो । अधिकारीहरुका अनुसार, उनका छोरा आशिफ शाह भने दूतावासले पत्र पठाउनु अगावै काठमाडौंबाट उडिसकेका थिए ।
यसबारे छानबिन गर्न गृह प्रशासनले समेत समिति बनाएको भए पनि दुई जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएर शाह तेस्रो मुलुक उड्नुलाई ‘प्राविधिक गडबडीको परिणाम’ भनिएको थियो ।
विमानस्थल अध्यागमनमा भिजिट भिसाका नाममा लामो समयदेखि संगठित असुली भइरहेको भन्दै सूचना आएपछि अख्तियारले झण्डै डेढ महिनादेखि गोप्य अनुसन्धान गरिरहेको थियो । केही ठोस प्रमाणहरु हात परेपछि अख्तियारका अधिकारीहरुले ५ जेठदेखि ‘कोभर्ट अपरेसन’ थालेका थिए ।
तर, तेस्रो दिनमा अख्तियारको अपरेसनबारे गृह प्रशासनलाई सूचना चुहियो, सहसचिव भट्टराई एकाएक मन्त्रालय सरुवा भए । त्यसपछि आयोगका अधिकारीहरुले भोलिपल्टै कार्यालयमा छापा हानेर भट्टराईलाई नियन्त्रणमा लिएका थिए ।
हठात् भएको अधिकारीको सरुवालाई लिएर गृहमन्त्री रमेश लेखकमाथि समेत प्रश्न उठेको थियो । पछि उनको सचिवालयमा समेत पहिले भिजिट भिसा प्रकरणमा संलग्न कर्मचारीहरु कार्यरत् रहेको खुलेको थियो ।
अख्तियारले भट्टराईका तीन वटा मोबाइल नियन्त्रणमा लिएर साँझ छाडेको थियो ।
प्रतिक्रिया 4