+
+

अर्थमन्त्रीलाई विपक्षीले बाटो छेके, सत्तापक्षले रोष्ट्रममा उकाले

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ जेठ १३ गते १८:५१

१३ जेठ, काठमाडौं । प्रतिनिधि सभामा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुबीच धकेलाधकेल भएको छ ।

आइतबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले अर्थमन्त्री वर्षमान पुनलाई चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेश गर्न समय दिएका थिए ।

समय पाएपछि अर्थमन्त्री पुन रोष्ट्रममा जान खोजे । तर त्यसअगावै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु वेलमा पुगिसकेका थिए ।

अर्थमन्त्री पुन आफ्नो सिटबाट उठेर रोष्ट्रममा जान खोज्दा सुरुमा रौतहट ४ बाट निर्वाचित कांग्रेसका सांसद देवप्रसाद तिमल्सेनाले अर्थमन्त्रीको अगाडि उभिएर रोके । लगत्तै कांग्रेसका अर्का सांसद रामहरि खतिवडा लगायतका अरु सांसद पनि अर्थमन्त्री पुनलाई रोक्न पुगे ।

त्यसपछि सत्तापक्षका सांसदहरु पनि अर्थमन्त्री पुनका लागि बाटो खाली गराउन वेलमा पुगे । माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले अर्थमन्त्री मुनलाई वेलमा पुर्‍याउन खोजे । रास्वपाका सांसद परियारले अर्थमन्त्री पुनको हात समातेर अगाडि लैजान खोजे । नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव र माओवादी केन्द्रका जनार्दन शर्माले पनि अर्थमन्त्री पुनका लागि बाटो खाली गराउन भूमिका खेले ।

सत्तापक्षका अन्य सांसदहरु पनि वेलमा आएर अर्थमन्त्री पुनका लागि बाटो खुला गराउन खोज्दा कांग्रेसका सांसदहरुसँग धकेलाधकेल भयो । सत्ता पक्षकै सांसद र मर्यादापालकहरुको सहयोगमा मन्त्री पुन रोष्ट्रममा पुगे ।

यसअघि ३ जेठमा बसेको प्रतिनिधि सभाको बैठकमा पनि सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच धकेलाधकेल भएको थियो । त्यसदिन कांग्रेसका सांसद धनराज गुरुङ सत्तापक्षको सिटतिर आएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत सत्तापक्षका सांसदहरुले विरोध गरेका थिए । त्यस क्रममा सांसदहरुबीच धकेलाधकेल भएको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै संसदीय छानबिन गर्न माग गर्दै आएको छ ।

संसदीय छानबिन समिति गठन गर्न सत्तापक्ष र प्रतिपक्षमा रहेका दलहरु सहमत छन् । तर, समितिको कार्यादेश टुंगो लागेको छैन । कार्यादेशको टुंगो नलागेका कारण संसदीय समिति गठन हुन सकिरहेको छैन ।

यो विषयले झण्डै तीन महिनादेखि संघीय संसदको दुवै सभाको बैठक प्रभावित हुँदै आएको छ ।

संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीर्ष नेताहरुसँग संवाद जारी राखेका छन् । आइतबार बिहान प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवास पुगेका थिए ।

तर, प्रतिपक्षी कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम लेख्नुपर्ने अडान राखेको छ । यो विषयमा कुरा नमिल्दा प्रतिनिधि सभाको बैठक प्रभावित हुँदै आएको छ ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?