+
+

लण्डन टु पेरिस : साम्राज्ञीलाई हिटको आशा, गरिमालाई सिक्ने मौका

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते १७:११

काठमाडौं । फिल्म ‘लण्डन टु पेरिस’को रिलिज मिति नजिकिएसँगै निर्माताले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । यो मेसोमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ‘कास्ट एन्ड क्रू’ले मिडियासँग फिल्मबारे सवालजवाफ गरे ।

बेलायतको लण्डनदेखि फ्रान्सको पेरिससम्मको यात्रामा हुने प्रेम र त्यस वरपर घुम्ने सम्बन्धको उतारचढाव वरपर फिल्म केन्द्रित छ । यसअघि ‘धौली’ र ‘पञ्चेबाजा’जस्ता ग्रामीण कथावस्तुका फिल्म निर्देशन गरेका घनश्याम लामिछानेले यसपटक सहरको कथा, त्यसमा पनि ‘डायस्पोरा’लाई फिल्मको मुख्य विषय बनाएका छन् ।

उनलाई सोधियो– डायस्पोराको कथावस्तुसँग नेपाली दर्शकको अपनत्व कस्तो होला ?

फिल्मको प्रस्तुतीकरण र कथाले नेपाली दर्शकसँग पनि जोडिन सक्ने तर्क उनले गरे । ‘हामीले कथालाई न्याय दिने तरिकाले काम गरेका छौं । एउटै खालका फिल्म हेर्दा हेर्दा वाक्क भएका दर्शकको लागि यो फिल्ममा ताजापन हुनेछ,’ उनले भने ।

अभिनेत्री साम्राज्ञी शाहका लागि यो प्रेसमिट खास रह्यो । आफूलाई भिन्न जनरा र चरित्रमा आधारित फिल्म गर्न मन लागेपनि त्यस्ता खालको फिल्मको ‘अप्रोच’ नहुने बताइन् । ‘मलाई पनि भिन्न जनराका फिल्ममा काम गर्न मन लाग्छ तर त्यस्ता फिल्मको प्रस्ताव नै आउँदैन,’ उनले भनिन् ।

२६ वर्षको हुँदा आफूले फिल्म साइन गरेपनि रिलिज हुने बेलासम्म आफ्नो उमेर २८ लागेको साम्राज्ञीले बताइन् । ‘यो रोमान्टिक फिल्म हो । गुड र इन्टरटेनिङ फिल्म हो,’ भनिन् । साम्राज्ञीले अनलाइनखबरसँग पनि करिअरबारे विस्तृत कुरा गरेकी छन्, जहाँ उनले फिल्म नचल्दा आफ्नो मनोविज्ञान, आगामी समय र अन्य कुरा गरेकी छन् ।

फिल्म लेखक प्रदीप भारद्वाजले युवा दर्शक केन्द्रित यात्राको कथा यो फिल्म रहेको बताए । ‘मैले लेख्न खोजेको जस्तो कथा यसमा छ,’ भारद्वाज भन्छन्, ‘लकडाउन समयमा लेखेको थिएँ । यसमा लार्जर देन लाइफको कथा छैन । एउटा सरल सम्बन्धको कथा हो ।’

उनले पछिल्लो समय लेखक र निर्देशकबीच समन्वय नहुनु नेपाली फिल्मको सबैभन्दा ठूलो समस्या रहेको बताए । ‘फिल्म लेखेदेखि तयार भएर हलसम्म पुग्दा आकाशको पातालको फरक हुन्छ । गोरो फिल्म पठाएको, कालो भएर आउँछ,’ उनले गुनासो गरे ।

अभिनेता कवीर खड्काले आफूले यो फिल्ममा विदेश देखेको बताए । ‘अहिलेसम्म अब्रोड देखेको थिइनँ,’ उनी भन्छन्, ‘यसमा अब्रोड देख्न पाइयो ।’ डेब्यु ब्वाय निश्चल खड्काले साम्राज्ञी र गरिमासँग आफ्नो केमेस्ट्री मिलेको बताए ।

सिनियर कलाकारको रुपमा आफूले साम्राज्ञीबाट धेरै कुरा सिकेको निश्चलले बताए । ‘उमेरमा हामी एउटै भएपनि व्यावसायिकरुपमा उनी सिनियर हुन् । सेटमा मैलै धेरै कुरा सिकेको छु,’ उनले भने ।

डेब्यु एक्ट्रेस गरिमा शर्माले ‘लण्डन टु पेरिस’ आफ्ना लागि सिक्ने मौका भएको बताइन् । एबी इन्टरनेसनलको प्रस्तुति, गौतम प्रोडक्सन र अर्किड भेस फिल्म्सको सहकार्यमा फिल्मको निर्माण भएको हो ।

तस्वीर : प्रकाश नगरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?