+
+
बजेट-२०८१/८२ :

भौतिक पूर्वाधारका अधुरा आयोजनामा जोड, ‘पड–वे’ ले पायो इन्ट्री

कुल विनियोजित बजेटको ८.९ प्रतिशत अर्थात् १ खर्ब ५० अर्ब रुपैयाँ भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले पाएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८१ जेठ १५ गते २१:१५

१५ जेठ, काठमाडौं । सरकारले भौतिक तथा यातायात पूर्वाधारतर्फ अधुरा आयोजनामा जोड दिएको छ ।

कुल विनियोजित बजेटको ८.९ प्रतिशत अर्थात् १ खर्ब ५० अर्ब रुपैयाँ भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले पाएको छ । यो मन्त्रालयले कार्यान्वयन गर्ने यातायात पूर्वाधारतर्फ नारायणघाट–बुटवल सडकखण्ड र कमला–कञ्चनपुर खण्ड आगामी आर्थिक वर्ष (आव) २०८१/८२ मा सक्ने लक्ष्य सरकारले लिएको छ ।

यसमध्ये नारायणघाट–बुटवल सडक खण्डमा सरकारले सबैभन्दा बढी आलोचना बेहोर्दै आएको छ ।

सरकारले आगामी वर्ष काँकडभिट्टा–लौकही, कमला–ढल्केबर–पथलैया, पथलैया–नारायणगढ, बुटवल–गोरुसिंगे र भालुवाङ–लमही सडक खण्ड स्तरोन्नतिको काम आगामी वर्ष सुरु गर्ने घोषणा गरेको छ ।

सरकारले पूर्वपश्चिम राजमार्गका लागि २९ अर्ब ८८ करोड विनियोजन गरेको छ ।

काठमाडौं–तराई मधेश द्रुतमार्ग सडक आयोजनालाई समेत सरकारले आगामी आवमा प्राथमिकता दिएको छ । आगामी वर्ष महादेवटार, धेद्रे र लेनडाँडा सुरुङमार्ग निर्माण कार्य आगामी आवमा सम्पन्न गर्ने लक्ष्यसमेत सरकारले लिने भएको छ ।

आगामी वर्ष ५७ पुल निर्माणलाई तीव्रता दिने बताएको छ । यो आयोजनालाई २२ अर्ब ५४ करोड विनियोजन गरिएको छ ।

मध्यपहाडी लोकमार्गतर्फ कटुन्जे–आरुघाट सडक खण्डलाई प्राथमिकता दिएर ७५ किलोमिटर कालोपत्रे गर्ने बजेटको घोषणा छ । यस खण्डमा १० वटा पुल निर्माण गरिने भएको छ ।

मध्यपहाडी लोकमार्गलाई ३ अर्ब ६८ करोड र हुलाकी राजमार्गलाई ३ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको छ । यी भौतिकका साविकका योजना हुन् ।

उत्तर–दक्षिण करिडोरतर्फ कालिगण्डकी कोरिडोरको गैंडाकोट–राम्दी–मालढुंगा सडकखण्ड र मालढुंगा–बेनी–जोमसोम–कोरोना खण्ड गरी थप ५० किलोमिटर सडक कालोपत्रे गरिने भएको छ ।

कोशी करिडोरमा थप ३० किलोमिटर कालोपत्रे गर्ने घोषणा सरकारले गरेको छ । करिडोरका लागि ४ अर्ब ४३ करोड विनियोजन गरिएको छ ।

मदनभण्डारी राजमार्गका लागि आगामी वर्ष ३ अर्ब ६० करोड विनियोजन गरिएको छ । जसमा रत्न राजमार्ग, कर्णाली राजमार्ग र सिद्धार्थ राजमार्ग स्तरोन्नति र विस्तारलाई जोड दिइएको छ ।

नागढुंगा–नौबिसे–मुग्लिङ सडकको ४० किलोमिटर आगामी आवमा स्तरोन्नति हुने भएको छ । आँबुखैरेनी–पोखरा खण्डको कालोपत्रे र मुग्लिन–आँबुखैरेनी खण्ड विस्तार गर्न ९ अर्ब ५७ करोड विनियोजन गरिएको छ ।

सहिद मार्गतर्फ होलेरी–दारबोट खण्डको २० किलोमिटर सडक कालोपत्रे गरिने भएको छ । दारबोट–घर्तीगाउँ–दुई खोली खण्डमा २० किलोमिटर ग्राभेल र घोराही–होलेरी खण्डमा कालोपत्रे गरिने भएको छ ।

यसका लागि १ अर्ब २५ करोड विनियोजन गरिएको छ । भेरी करिडोर, महाकाली करिडोर, सेती लोकमार्ग र सालझन्डी–सन्धीखर्क–ढोरपाटन सडक स्तरोन्नतिमा ३ अर्ब ८६ करोड विनियोजन गरिएको छ ।

अन्तरदेशीय व्यापारिक मार्गमा स्याफ्रुबेसी–रसुवागढी खण्ड स्तरोन्नति गर्न १ अर्ब ८० करोड विनियोजन भएको छ । विभिन्न राजमार्गको पुलका लागि २ अर्ब ४६ करोड विनियोजन भएको छ । देशभरि १ सय ५० पुल निर्माणको लक्ष्य छ ।

त्यस्तै नारायणी र तिनाउ नदीमा सिग्नेचर पुल बन्दैछ । यस वर्ष विभिन्न सुरुङ, फ्लाइओभर र इन्टरसेक्सनलाई ५ अर्ब ६३ करोड बजेट विनियोजन भएको छ ।

आगामी वर्ष कोटेश्वर इन्टरसेक्सन निर्माण सुरु गर्ने घोषणा बजेटले गरेको छ । सिद्धबाबा सुरुङको मुख्य सुरुङ निर्माण आगामी आवमा सम्पन्न गरिने छ ।

सडक मर्मतमा ६ अर्ब ५४ करोड छुट्याइएको छ । काठमाडौंभित्रका ४४ चोकमा स्मार्ट ट्राफिक लाइन जडान गरिने छ । पृथ्वी राजमार्गमा ‘पड–वे’ अध्ययन र लगानी ढाँचा तय गरी निर्माण थाल्ने सरकारको योजना छ ।

केरुङ–काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययन

सरकारले केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । आगामी आवको बजेट प्रस्तुत गर्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले जयनगर–बर्दीवास रेलमार्ग अन्तर्गत बिजलपुरा–बर्दीवास खण्ड र बसनाह–विराटनगर खण्डको जग्गा प्राप्तिको काम सम्पन्न गर्नेसमेत घोषणा गरे । पूर्वपश्चिम विद्युतीय रेलमार्गको बर्दीवास खण्ड निर्माण सम्पन्न हुने उनले बताए ।

सुनकोशी र नारायणी नदीमा जलमार्ग

बजेटमा आगामी वर्ष सुनकोशी र नारायणी नदीमा जलमार्ग निर्माण घोषणा गरिएको छ । नारायणी नदीमा सञ्चालित जलयानमा यात्रु चढ्न र ओर्लिन सहज र सुरक्षित हुने गरी टर्मिनल बनाउने घोषणा गरिएको छ ।

भौतिकका कुन आयोजनालाई कति बजेट ?

  • पूर्व–पश्चिम राजमार्ग विस्तार : २९ अर्ब ८८ करोड
  • काठमाडौं–तराई मधेश द्रुतमार्ग : २२ अर्ब ५४ करोड
  • मुग्लिङ–आँबुखैरेनी सडक : ९ अर्ब ५७ करोड
  • सडक मर्मत : ६ अर्ब ५४ करोड
  • सुरुङ, फ्लाइओभर र इन्टरसेक्सन : ५ अर्ब ६३ करोड
  • उत्तर–दक्षिण लोकमार्ग : ४ अर्ब ४३ करोड
  • रेलमार्ग : ३ अर्ब ८८ करोड
  • करिडोर सडक : ३ अर्ब ८६ करोड
  • मदन भण्डारी राजमार्ग : ३ अर्ब ६० करोड
  • मध्यपहाडी लोकमार्ग : ३ अर्ब ३० करोड
  • पुल निर्माण : २ अर्ब ४६ करोड
  • स्याफ्रबेसी–रसुवागढी सडक : १ अर्ब ८० करोड
  • सहिद मार्ग : १ अर्ब २५ करोड

 

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?