+
+

मधेशमा प्रचण्ड र ओलीले खोजे माधव नेपालको साथ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १८ गते २१:१४

१८ जेठ, काठमाडौं । केन्द्रीय समीकरणअनुसार मधेश प्रदेशमा सरकार गठनबारे शीर्ष तीन नेताबीच छलफल भएको छ ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफल सकारात्मक रहेको नेताहरूले बताएका छन् । अब जनमत पार्टीका नेतृत्वमा नयाँ सरकार गठन हुने एमाले संसदीय दलका नेता सरोजकुमार यादवले बताए ।

मधेश प्रदेशका जनता समाजवादी पार्टी (जसपा) नेपालका सरोजकुमार यादव मुख्यमन्त्री छन् ।

सुरुमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका उनलाई बीचमा कांग्रेसले साथ दियो । केन्द्रमा जसै गठबन्धन फेरियो, कांग्रेस सरकारबाट बाहिरियो भने एमाले सरकारमा गयो । हरेक गठबन्धनमा मधेश सरकारको नेतृत्व जसपाले लियो ।

प्रतिनिधि सभामा १२ सांसद भएको जसपा बहुमतका लागि महत्वपूर्ण थियो, त्यसैले मधेशमा सबभन्दा ठूलो दल र दोस्रो दल भएर पनि क्रमशः एमाले र कांग्रेसले जसपाको नेतृत्व स्वीकार गरेको थियो । जसपामा आएको फुटपछि भने अवस्था फेरियो ।

जसपा नेपालका ७ सांसदले २३ वैशाखमा अशोक राईको नेतृत्वमा नयाँ दल जसपा दर्ता गरे । त्यसका बाबजुद मधेश सरकारको नेतृत्व जोगाउन जसपा नेपालले सरकार छाडेन । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आफैं उपप्रधान तथा स्वास्थ्यमन्त्री थिए भने दीपक कार्की वन राज्यमन्त्री रहिरहे ।

तर सत्ता गठबन्धनले मधेशमा सरकार फेर्न चाह्यो । ३० वैशाखमा एमाले र माओवादी केन्द्रले मधेश प्रदेशबाट मन्त्रीहरू फिर्ता बोलाएर समर्थन फिर्ता लियो । साथै एमाले, जनमत, माओवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच मधेश प्रदेशमा नयाँ सरकार गठन गर्ने सहमति समेत भयो ।

जवाफमा जसपा नेपालले पनि मन्त्रीहरूलाई फिर्ता बोलाएर केन्द्रको सरकार छाड्यो । मधेश सरकार जोगाउन जसपा नेपाल अध्यक्ष यादव आफैंले दौडधुप थाले । सुरुमा जसपा नेपालका लागि मधेश सरकार जोगाउन असम्भव जस्तै देखिएको थियो ।

तर राष्ट्रिय राजनीतिमा देखिएको ध्रुविकरणसँगै लोसपा नयाँ सरकार गठनको सहमतिबाट पछि हट्यो भने कांग्रेसले पनि जसपा नेपाललाई साथ दिने संकेत गर्‍यो ।

केन्द्रको सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले पनि मधेश सरकार सरकार छाडेकै थिएन । जसपा नेपाल १९ सांसद छन् । कांग्रेस २२, लोसपाको ८ र एकीकृत समाजवादीका ७ ले साथ दिनासाथ बहुमत (५४) सहजै पुग्ने देखियो ।

मधेश सरकारबारे बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको बैठकमा जसपा नेपाल र लोसपाका नेताहरूका साथै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफैं सहभागी भएपछि केन्द्रको सत्ता गठबन्धन दबावमा आयो ।

एमाले र माओवादीका प्रदेशका नेताहरू जनमत पार्टीलाई मुख्यमन्त्री दिने सहमति गरे । तीन दलका नेताहरू काठमाडौं आएर शुक्रबार नै एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेटे । त्यो भेटमा नेता नेपालले मधेशसँगै कोशी, कर्णाली, सुदूरपश्चिम प्रदेश सरकारबारे प्याकेजमै सहमति हुनुपर्ने अडान राखे ।

लगतै सिंहदबारमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेट भयो । ‘सकारात्मक कुराकानी भएको छ’ माओवादी केन्द्रका एक नेता भन्छन्, ‘प्रधानमन्त्री र माधव नेपालबीच फेरि कुराकानी गर्ने भन्ने भएको छ । त्यसपछि सबै प्रदेशको विषय टुंगिन्छ ।’

स्रोतका अनुसार एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रचण्डसँग प्रदेश सरकारबारे थप प्रष्ट हुन चाहेका छन् । कोशीमा एमाले नेतृत्वमा सरकार छ, माओवादी पनि सरकारमा गएको छ । तर एकीकृत समाजवादीलाई समेटिएको छैन ।

मधेश प्रदेशमा जसपा नेतृत्वको सरकारमा एकीकृत समाजवादीले अहिले २ वटा मन्त्रालय लिएको छ । संसदीय दलका नेता गोबिन्दबहादुर न्यौपाने आफैं मन्त्री छन् । स्रोतका अनुसार भागवण्डामा एकीकृत समाजवादीले एउटा मात्र मन्त्रालय पाएको थियो, माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले आफ्नो दलको भागमा परेको एक मन्त्रालय पनि दिएका हुन् ।

कर्णालीमा माओवादीको समर्थनमा एमाले नेतृत्वको सरकार छ, एकीकृत समाजवादीलाई समावेश गरिएको छैन । सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री त बनेका छन्, तर एमालेले मन्त्री पठाएको छैन ।

एकीकृत समाजवादी सम्बद्ध स्रोतका अनुसार सुदूरपश्चिममा मन्त्री पठाउने गरी सहमति हुने सम्भावना छ । मधेशमा केन्द्रको गठबन्धनभन्दा फरक जाने अवस्था छैन’ एक नेता भन्छन्, ‘दुई नेता बसेपछि टुंगिन्छ होला ।’

मधेश प्रदेशका एमाले संसदीय दलका नेता सरोजकुमार यादव पनि नयाँ सरकार गठन गर्ने तयारीका साथ आफूहरू जनकपुर फर्किन लागेको बताउँछन् । ‘तीन नेताबीच सकारात्मक कुराकानी भएको छ’ उनले भने, ‘एकीकृत समाजवादीको समेत समर्थनमा हामी छिट्टै नयाँ सरकार गठन गर्छौं ।’

एकीकृत समाजवादीले साथ दिएको अवस्थामा मधेशमा टुप्लुक्क बहुमत पुग्नसक्छ । १०७ सदस्यीय प्रदेश सभामा एमालेको सभामुखबाहेक २४ सांसद छन् भने जनमतको १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् । राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादीको १–१ सिट छ । तीनमध्ये कुनै एक दललाई साथ लिनासाथ तीन दल (कांग्रेस, जसपा नेपाल र लोसपा)लाई विपक्षमा राखेर पनि सरकार बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?