+
+

पाटा–नेपाल च्याप्टरमा लकाईको अध्यक्षतामा नयाँ कार्यसमिति

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते १७:५८

२५ जेठ, काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)–नेपाल च्याप्टरमा खेमराज लकाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

च्याप्टरको बिहीबार आयोजित ४५औं वार्षिक साधारणसभाले ग्लोबल एकेडेमी अफ टुरिज्मका प्रमुख कार्यकारी अधिकृत लकाईको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनियुक्त अध्यक्ष लकाईले नयाँ जिम्मेवारी साथ च्याप्टर प्रवेश गरेको भन्दै संस्थाको गरिमा उँचो बनाउँदै पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाको सहकार्यमा प्रवर्द्धनात्मक काममा सक्रिय हुने बताए ।

लकाईले सम्पूर्ण पर्यटन सम्बद्ध संघसंस्था र सरोकारवालालाई पर्यटनका माध्यमबाट देश विकास र समृद्धिको साझा सपना साकार पार्न एकजुट भई लाग्न अनुरोध गरे ।

त्यसैगरी च्याप्टर महासचिवमा नरेन्द्रदेव भट्ट र कोषाध्यक्षमा रितल राणा चयन भएका छन् । कार्यकारी सदस्यमा लाक्पाफुटी शेर्पा, रुपेश जोशी, विनोद अधिकारी, सुनिलबहादुर भट्टराई, हिम्मत पुरी, सरिता लामा, तेन्जिङप्याङ लामा, डा. स्मृतिकला पन्त, प्रकाशचन्द्र लोहनी, सुमन घिमिरे र इमु रेग्मी छन् ।

साधारणसभामा च्याप्टरले वरिष्ठ पर्यटन तथा होटल व्यवसायीहरू द्वारिकाज होटलका संस्थापक अम्बिका श्रेष्ठ र होटल सांग्रिलाका संस्थापक श्यामबहादुर पाण्डेलाई ‘पाटा लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरेको थियो ।

त्यसैगरी यती ग्रुपका अध्यक्ष ल्हाक्पासोनाम शेर्पालाई ‘टुरिज्म ट्रेलब्लेजर अवार्ड २०२४’, एक्सप्लोर नेपालका संस्थापक भरत बस्नेतलाई ‘पाटा पर्सनालिटी अफ द इयर २०२४’, हेरिटेज टुर्स एन्ड ट्राभल्सका संस्थापक नरेन्द्रदेव भट्टलाई ‘पाटा स्पेसल कन्ट्रिब्युसन अवार्ड २०२४’ बाट सम्मानित गरिएको थियो ।

यस्तै इटहरीको प्रिमियर होटल स्कुल ‘पाटा बेस्ट स्टुडेन्ट च्याप्टर अफ द इयर २०२३’ प्रदान गरियो । जर्मनीस्थित मिनिङफुल टुरिज्म सेन्टरका संस्थापक प्रा.डा. वोल्फगाङ जर्ज अर्ल्टले पाटा नेपाल–च्याप्टरले आयोजना गरेको ‘एक्सपर्ट मिट’ को निष्कर्ष सार्वजनिक गर्दै कम्युनिटी होमस्टे नेटवर्क, टाइगर माउन्टेन, पोखरा लज र केजीएच ग्रुप अफ होटल एन्ड रिसोर्ट्सलाई ‘मिनिङफुल टुरिज्म गोल्ड अवार्ड’ प्रदान गरे ।

त्यसैगरी उनले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानलाई ‘मिनिङफुल टुरिज्म रजत अवार्ड’ तथा नेपाल वायुसेवा निगम र होटल हिमालयलाई ‘मिनिङफुल टुरिज्म कास्य अवार्ड’ प्रदान गरे ।

साधारणसभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सन् २०२४ मा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य साझा गर्दै पर्यटक आगमन बढावा दिन निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्रोत बजारमा नयाँ र सिर्जनशील पर्यटन उत्पादन प्रवद्र्धन गर्न आग्रह गरे ।

च्याप्टरका निवर्तमान अध्यक्ष विभूतिचन्द ठाकुरले देशको दिगो पर्यटन विकास र विस्तारका लागि एकजुट भएर लाग्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?