+
+

सुन तस्करीमा डिजिटल वालेट : एक वर्षमै ८२ अर्बको कारोबार !

सिद्धार्थको मोबाइलमा भेटिएको अडियोले खोल्यो पेवेलको ८२ अर्बको अवैध धन्दा

सीआईबीको अनुसन्धानका क्रममा पेवेलले २७ अप्रिल २०२३ देखि हालसम्म करिब एक वर्ष अवधिमा ८२ अर्बको कारोबार गरेको फेला परेको छ । जसमा ६१ अर्ब ५० करोड रुपैयाँ नगद जम्मा भएको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ जेठ ३१ गते २०:२१

३१ जेठ, काठमाडौं । तस्करी र हुण्डीको अवैध कारोबारमा नेपालका केही डिजिटल वालेट प्रयोग भएको प्रमाण प्रहरीले फेला पारेको छ ।

६० किलो ६१७ ग्राम सुन तस्करीको घटना अनुसन्धानका क्रममा प्रहरीले पक्राउ गरेका व्यक्तिबाट तस्करीको कारोबारमा डिजिटल वालेटको प्रयोग भएको केही प्रमाण फेला पारेको हो ।

सरकारले गठन गरेको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हाल १० जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । जसमध्ये ४ भारतीय, ५ नेपाली र १ चिनियाँ नागरिक छन् ।

भारत गुजरातका बैजनाथ महादत्त योयल, भारतकै प्रशान्त गणेश वजवलकर, भारत महाराष्ट्रका सिद्धार्थ भनिने सिद्धनाथ अशोक गायकवाड र महाराष्ट्रकै दिनेश भनिने धिरज दिने वैट छन् ।

त्यसैगरी नेपालीहरुमा काभ्रेका कान्छामान (थर्कमान) तामाङ, पर्सा वीरगञ्जका ५२ वर्षीय सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायकका राजु खत्री र धादिङ सिद्धलेकका प्रेमनाथ सेढाईं छन् । बौद्ध बस्दै आएका चिनियाँ नागरिक गंगा टासी पनि अहिले सीआईबीको हिरासतमा छन् ।

पेवेलका एजेन्ट बुटवलस्थित जेके मनि ट्रान्सफरका सञ्चालक लालबहादुर कुँवरले गरेको ३ अर्ब ३४ करोडको कारोबारमा आशंका गर्दै सीआईबीले उनलाई पक्राउ गरेको छ ।

भारतीय नागरिक सिद्धनाथको मोबाइलमा भएका विवरण फरेन्सिक प्रयोगशालाबाट रिकभर गर्दा सिद्धनाथको मोबाइलमा करिब २ मिनेटको एउटा अडियो भेटिएको थियो । उक्त अडियोमा ‘पैसा युएसडी (क्रिप्टो) मा हाल्नु नसके पेवेलमा हाल्नू’ भनिएको थियो ।

ह्वाट्स एपमा पेवेल नेपालको खातामा रकम जम्मा गरेको भौचर समेत भेटिएपछि सुन तस्करी गरी त्यसको पैसा पेवेलमार्फत कारोबार हुने गरेको आशंकामा सीआईबीले थप अनुसन्धान अघि बढायो ।

सिद्धार्थलाई पेवेलमा रकम हाल्न लगाउने व्यक्ति पिन्टु भनिने भारतीय नागरिक अभिजित तानाजी मोलिक रहेको र उनले काठमाडौंकै न्यूरोडमा सुनचाँदी रिफाइनरी हाउस सञ्चालन गरेको पनि सीआईबीले पत्ता लगाएको छ ।

त्यसपछि सीआईबीको टोलीले २३ वैशाखमा पिन्टुको पसलमा छापा मारेको थियो । सिद्धार्थ पक्राउ परेको जानकारी पाइसकेपछि पिन्टु रिफाइनरी हाउस बन्द गरेर फरार भइसकेका थिए । सीआईबीले सुनचाँदी रिफाइनरी हाउसबाट पेवलको खातामा जम्मा गरेको १ अर्ब रुपैयाँ बराबरको भौचर बरामद गरेको छ । त्यस क्रममा प्रहरीले सजिलो पेबाट कारोबार भएको पनि प्रमाण भेटेको थियो ।

‘मोबाइलमा अडियो र भौचर भेटिएपछि तस्करीको सुनको कारोबार प्रक्रियाबारे केही आशंका गरेका थियौं । तर पिन्टुको रिफाइनरी हाउसमा अर्ब बराबरको भौचर भेटिएपछि सुन र हुण्डीको धन्दामा दुई वटा वालेट जोडिएको भेटियो’, सीआईबीका एक अधिकारीले भने ।

सुन र हुण्डीको अवैध कारोबार गरेको भेटिएपछि नेपाल राष्ट्र बैंकले पेवेल र सजिलो पेको कारोबार २१ जेठमै रोक्का गरेको छ ।

छापा हान्नुअघि सीआईबीले पक्राउ गरेका भारतीय नागरिक सिद्धार्थ, प्रशान्त, धिरज र नेपाली नागरिक राजुको मोबाइलमा पेवेलको खातामा रकम जम्मा गरेको भौचर भेटिएको थियो ।

धिरजको मोबाइलबाट ५ करोड ४१, सिद्धार्थको मोबाइलबाट ५ करोड, राजुको मोबाइलबाट १ करोड पेवलमा जम्मा गरेको भौचर भेटिएको थियो । हाल हिरासतमा रहेका ८ जनाबाट पेवेलको खातामा जम्मा १ अर्ब जम्मा भएको भेटिएको सीआईबीका अनुसन्धान अधिकृत बताउँछन् । भौचर नभेटिए पनि धिरजले मात्रै ३३ करोड ८६ लाख रुपैयाँ पेवेलमा हालेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

तस्करीको सुनको कारोबार, हुण्डी र क्रिप्टोमा पेवेल र सजिलो वालेट जोडिएपछि २५ जेठमा यी कम्पनीका ६ जनालाई सीआईबीले पक्राउ गरेको थियो ।

पेवेलका अध्यक्ष भीमप्रसाद तिमिल्सिना, कर्मचारीहरु प्रज्वल आचार्य र सुरज जबरा पक्राउ परे । सीइओ सतेन्द्र श्रेष्ठ फरार छन् । सजिलो पेका सञ्चालक सुनिल जाकीबञ्जा, कार्यकारी प्रमुख कश्यप मानन्धर र अथुकछाक खम्पा पक्राउ परे । सजिलो पेका अध्यक्ष फुन्सुक डाग्पा अथुकछाङ खम्पा भने फरार छन् । उनीहरुमाथि सीआईबीले हुण्डी, सुन तस्करी, तथा क्रिप्टोसँग जोडेर राष्ट्र बैंक ऐन अन्तर्गतको कसुर, भन्सार छली तथा चोरी पैठारी र संगठित अपराधको कसुरमा अनुसन्धान गरिएको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले बताए ।

पेवेलका नाममा रकम हाल्न लगाउने भारतीय नागरिक पिन्टुविरुद्ध भने डिफ्युजन नोटिसका लागि प्रक्रिया अघि बढाइएको सीआईबीले स्रोतले जानकारी दियो ।

विभिन्न देशबाट भित्रिएको तस्करीको सुन खरिद–बिक्री गर्ने र पेवेलमार्फत अवैध कारोबार गर्ने मुख्य व्यक्ति पिन्टु रहेको सीआईबीको दाबी छ ।

पेवेलबाट एकै जनाको ३ अर्ब ३४ करोडको कारोबार

पेवेलका एजेन्ट बुटवलस्थित जेके मनि ट्रान्सफरका सञ्चालक लालबहादुर कुँवरले गरेको ३ अर्ब ३४ करोडको कारोबारमा आशंका गर्दै सीआईबीले उनलाई पक्राउ गरेको छ ।

हेर्दा सामान्य देखिने र वैध कारोबार पनि न्यून रहेको उक्त मनि ट्रान्सफरले एक वर्ष अवधिमा झण्डै साढे ३ अर्बको कारोबार गरेको पाइएको सीआईबी स्रोतले जानकारी दियो ।

१ वर्षमा ८२ अर्बको कारोबार

सीआईबीको अनुसन्धानका क्रममा पेवेलले २७ अप्रिल २०२३ देखि हालसम्म करिब एक वर्ष अवधिमा ८२ अर्बको कारोबार गरेको फेला परेको छ । जसमा ६१ अर्ब ५० करोड रुपैयाँ नगद जम्मा भएको छ, जसमध्ये १ अर्बको त भौचर नै भेटिएको छ । कनेक्ट आईपीएसमार्फत ४ अर्बको कारोबार भएको छ ।

पेवेलको नेपालमा १९ सय एजेन्ट छन् । ती मध्ये २० एजेन्टले तस्करीको सुन खरिद बापतको भुक्तानी अवैध तरिकाले पेवेलको खातामा सोझै जम्मा गरेर एजेन्टमार्फत कारोबार गरेको देखाएको सीआईबीको भनाइ छ ।

डिजिटल वालेटमा मोबाइलबाटै फण्ड ट्रान्सफर नभएर भौचरमार्फत रकम जम्मा नै शंकास्पद देखिएको सीआईबीको बुझाइ छ ।

हिरासतमा रहेका धिरजले मात्रै ३३ करोड ८६ लाख रुपैयाँ पेवेलमा हालेको भेटिएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन, २०८० मा उल्लेख भएअनुसार बैंक खाताबाट वालेटमा प्रतिदिन २ लाख वा एक महिनामा जम्मा १० लाख रुपैयाँ मात्रै जम्मा गर्न सकिन्छ ।

प्रति महिना १० लाखकै दरले सिद्धार्थले एक वर्षमा बढीमा १ करोड २० लाख मात्रै पेवेल वालेटमा जम्मा गर्न सक्छन् । तर त्यस विपरीत एकै व्यक्तिबाट एक वर्षमा झण्डै ३४ करोड रुपैयाँ पेवेलमा हालिएको भेटिएको छ ।

कसरी भयो वालेटमार्फत अवैध कारोबार ?

तस्करीबाट नेपाल आएको सुनको भुक्तानी र विदेशबाट पठाउने रेमिट्यान्सको भुक्तानीमा वालेट जोडिएको सीआईबीको अनुसन्धानले देखाएको छ ।

विशेषगरी दुई तरिकाले वालेटको सेटलमेन्ट र अपरेशनल खातामा रकम जम्मा गर्न लगाएर हुण्डी कारोबार गर्ने र मनि लाउण्डरिङ गर्ने गरेको खुलेको छ ।

तस्करीको सुन कोही व्यक्तिले किनेपछि त्यसको भुक्तानी वापतको रकम सोझै यी दुई वालेटको बैंक खातामा जम्मा गर्ने गरेको पाइएको छ ।

त्यसपछि पेवेलका एजेन्टलाई जम्मा गरेको भौचर पठाइन्छ । एजेन्टलाई भौचर साट्न मिल्ने सुविधा हुन्छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन, २०८० मा एजेन्टमार्फत गरिने वालेट कारोबारको सम्बन्धमा उल्लेख छ ।

‘वालेटमा ग्राहकले सम्बन्धित भुक्तानी सेवा प्रदायकबाट नियुक्त आधिकारिक एजेन्टमार्फत प्रतिदिन २५ हजार रुपैयाँसम्म र प्रतिमहिना १ लाखसम्म नगद जम्मा गर्न सक्नेछन्’ उक्त निर्देशनमा भनिएको छ ।

यसको अर्थ अरु कुनै बैंकमा खाता नभएका व्यक्तिले आफ्नो पेवेल वालेटमा रकम टपअप गर्न चाहे एजेन्टमार्फत गरुन् भनेर राखिएको हो । तर त्यसैको फाइदा उठाउँदै प्रतिदिन २५ हजार होइन करोड रुपैयाँ जम्मा हुने गरेको भेटिएको छ ।

पेवेलको नेपालमा १९ सय एजेन्ट छन् । ती मध्ये २० एजेन्टले तस्करीको सुन खरिद बापतको भुक्तानी अवैध तरिकाले पेवेलको खातामा सोझै जम्मा गरेर एजेन्टमार्फत कारोबार गरेको देखाएको सीआईबीको भनाइ छ ।

तस्करीको सुन खरिदबाट जम्मा भएको रकम अब पेवेलका एजेन्टले विदेशबाट नेपालमा पैसा पठाएका व्यक्तिको खातामा ट्रान्सफर गर्दिन्छन् ।

‘यहाँ विदेशबाट आउने पैसा आएको हुँदैन । तस्करीको सुन बेचेर पेवेलमार्फत भुक्तानी गरेर पेवेलकै एजेन्टमार्फत त्यो रकम विदेशबाट पठाउने नेपालीको खातामा जम्मा हुन्छ । विदेशबाट पठाएको पैसा उतैबाट फेरि सुन किन्ने ठाउँसम्म पुगेको देखिन्छ’, सीआईबीका एआईजी ज्ञवालीले भने ।

यही शैलीमा काम गरेको आरोपमा जेके मनि ट्रान्सफरका कुँवर पक्राउ परेका हुन् । विशेषगरी दुबई, कोरिया र अष्ट्रेलियाबाट पठाएको रकममा यो शैली प्रयोग गरेको सीआईबीको भनाइ छ ।

अर्कोतर्फ वालेटको अपरेसनल खाता प्रयोग गरेर काम गरेको देखिन्छ । अपरेसनल खाता कार्यालयको दैनिक खर्च, तलबभत्ता, फर्निचरका लागि प्रयोग गर्ने उद्देश्यले खोलिएको हुन्छ । त्यो खातामा पेवेलमा कुनै न कुनै रुपमा जोडिएका व्यक्तिले मात्रै रकम जम्मा गर्नु वैध मानिन्छ ।

तर पेवेलसँग सम्बन्धित नै नभएका व्यक्तिहरुबाट समेत अपरेसनल खातामा रकम जम्मा भएको भेटिएको सीआईबीको भनाइ छ ।

८ करोडको इ–मनि हुँदा २५ लाखको रिपोर्टिङ

पेवेलले आफ्नो सेटलमेन्ट बैंक कुमारी बैंकलाई गलत रिपोर्टिङ गरेको पनि पाइएको छ । इ–मनीको कम दर देखाएर गलत रिपोर्टिङ गरेको पाइएको राष्ट्र बैंकका एक कर्मचारीले बताए । २१ जेठमा पेवेलको खाता राष्ट्र बैंकले रोक्का गरेको छ ।

त्यतिबेला पेवेलको ८ करोडको इ–मनि अर्थात टोटल युजरको रकम ८ करोड देखिएको थियो । दैनिक कारोबारबारे सेटलमेन्ट बैंकलाई वालेटहरुले जानकारी गराउनुपर्छ । तर पेवेलले कुमारी बैंकलाई जानकारी गराउँदा ८ करोडको नगरी जम्मा २५ लाखको रिपोर्टिङ गरेको पाइएको राष्ट्र बैंकका एक कर्मचारीले अनलाइनखबरलाई सुनाए ।

बढीको कारोबार हुँदाहुँदै कमको रिपोर्टिङ गरेपछि सेटलमेन्ट बैंकमा पेवेलले कम रकम राख्ने सुविधा पाउँछ । ग्राहकको रकम नफसोस् भनेर जतिको इ–मनि छ सोही बराबरको रकम सेटलमेन्ट बैंकमा वालेट कम्पनीले राख्नुपर्ने हुन्छ । तर पेवेलले बढीको कारोबार हुँदाहुँदै कमको देखाएर कम रकम राख्ने गरेको पाइएको छ ।

इ–मनी अर्थात वालेटमा देखाउने रकमबारे बैंक नभएर वालेट कम्पनीको मात्रै भूमिका हुन्छ । वालेटमा रकम देखाउने/नदेखाउने वा कति रकम देखाउने भन्नेमा पनि पेवेलले चलखेल गरेको सीआईबीका एक अनुसन्धान अधिकारी बताउँछन् । धेरै बिजनेस दिने केही व्यक्तिको वालेटमा रकम नहुँदासमेत पेवेलले वालेटमा इ–मनी बनाइदिएको पाइएको सीआईबीको भनाइ छ ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?