+
+
Shares

एजेन्टले ठगेको पैसा फिर्ता लिन वैदेशिक रोजगार विभाग धाएको धायै

वैदेशिक रोजगारीका क्रममा ठगी परेर वर्षाैंको हैरानी र मानसिक तनाव झेलिरहेका तीन प्रतिनिधि पात्रका कथा ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०८१ असार ५ गते १९:५५

५ असार, काठमाडौं । मंगलबार दिउँसो वैदेशिक रोजगार विभागको मेलमिलाप कक्षको बाहिर पेटीमा बसिरहेका गोरखाका २८ वर्षका रविन थापा असिन पसिन थिए । यसको कारण गर्मीमात्र थिएन, त्यो भन्दा धेरै चार वर्षदेखि उनले भोगिरहेको हैरानी थियो ।

विदेश पठाइदिन्छु भन्ने एजेन्टले ठगेको पैसा फिर्ता पाइने आशले उनी महिना दिनअघि आमा र दिदीसँग काठमाडौं आएका थिए ।

‘युरोप पठाइदिने सपना देखाएर एजेन्टले साढे पाँच लाख ठगे’ उनले भने, ‘पैसा फिर्ता लिन धाइरहेको छु । एजेन्टले झुलाइमात्र रा’छ ।’ मंगलबार पनि उनी पैसा फिर्ता पाइएला कि भनेर विभाग पुगेका थिए ।

तीन वर्षअघि ०७७ सालमा युरोपेली देश माल्टा जाने आशामा उनी ठगीमा परे । एफएम ओभरसिज गुप्र मार्फत माल्टा पठाइदिने भन्दै रविनसँग लमजुङका सुशील विकले साढे पाँच लाख रुपैयाँ लिएका थिए ।

‘आज पठाउँछु, भोलि पठाउँछु भनेर धेरै समय झुलायो । पैसा फिर्ता माग्न थालेपछि अनेक बहाना बनाएर पञ्छिन थाल्यो’, उनले भने, ‘पछि उनी आफैं सम्पर्कविहीन भयो ।’

यो चार वर्षमा रविनले अनेक हैरानी भोगे । एजेन्ट खोज्न गोरखा– काठमाडौं आउजाउ गरिरहे । पटक पटक मेनपावर कम्पनीमा धाए । जति धाए पनि उल्टो ऋणमात्र बढ्यो, सुशीलले लगेको पैसा फिर्ता पाएनन् । दुई वर्षसम्म पैसा फिर्ता नआएपछि रविनले सुशीलविरुद्ध वैदेशिक रोजगार विभागमा ठगी मुद्दा दिए ।

महिना दिनयता उनको परिवार नै विभाग धाइरहेको छ । एजेन्टले पैसा फिर्ता दिए आफूले दिएको ठगी मुद्दा मेलमिलापबाट मुद्दा टुंग्याउने रविन बताउँछन् । तर एजेन्टले १ लाख रुपैयाँ भन्दा बढी दिन मानिरहेको छैन ।

‘यतिका वर्ष झुलाउँदा पनि पैसा दिन अनाकानी गरिरहेको छ’, उनले भने, ‘यही चक्करमा काट्दाकाट्दै उल्टो ऋण बढिरहेको छ, कतिञ्जेल यसरी झुलाई रहने हो, थाहा छैन ।’

****

विभागकै मुद्दा शाखा बाहिर भेटिए, सोलुखुम्बुका ३६ वर्षका विन्द्रकुमार राई । युरोप जाने नाममा एजेन्टलाई पैसा बुझाएका उनी पनि ठगी मुद्दा लिएर विभागमा आएका थिए ।

‘नौ दिनदेखि लागतार धाइरा’छु’, उनले भने, ‘अहिले बल्ल एजेन्टविरुद्ध मुद्दा दर्ता भएको छ ।’ एक वर्षअघि पूर्वी रुकुमका ओमबहादुर रोकाले युरोप पठाइदिने भनेर १४ लाख रुपैयाँ उनीसँग लिएका थिए ।

‘पैसा नदिँदासम्म युरोप पठाइदिने भनेर लोभ देखाए’, उनले भने, ‘युरोप पठाउँछु भनेर पैसा लिएपछि ऊ फरार छ ।’

४ महिनायता ओमबहादुर रोका सम्पर्कमा छैनन् । उनी सिंगापुरमा रहेको सूचना विन्द्रकुमारले पाएका छन् । ‘उसलाई खोज्दा खोज्दा थुप्रै पैसा सकियो, अनेक तनाव झेलेँ’, उनले भने, ‘यहाँ भएको भए पनि पक्रन त हुन्थ्यो नि ।’

सोलुखुम्बुमा उनी सगरमाथा चढ्ने पर्यटकका लागि सहयोगीको काम गर्थे । हिमाल चढ्ने उनी राम्रै कमाउँथे । तर हिमाल चढ्ने काम छ महिना चल्ने, छ महिना बन्द हुने । ६ महिना घरको चुलो राम्रै बले पनि, त्यसपछिको ६ महिना धौधौ हुन्थ्यो । यो बाध्यता अन्त्य गर्न उनले विदेश विचार बनाएका थिए ।

दुःखले जोडेको पैसा एजेन्टले खाइदिएपछि उनी पीडामा परेका छन् । ‘हिमालमा पर्यटकका भारी बोक्दै, खाना खुवाउँदै जम्मा गरेको पैसा थियो’, राईले भने, ‘त्यो पैसा सबै एजन्टेले खाइदियो ।’

अहिले उनी ठगिएको पैसा फिर्ता हुने आशाले विभागमा ठगीमा उजुरी दिएका छन् ।

****

रोजगारीका लागि विदेश जान लागेका रुकुम पूर्वका ४२ वर्षका डोबबहादुर सुनार पनि उसैगरी ठगीमा परे । मंगलबार दिउँसो उनी विभागको मुद्दा शाखा बाहिर बसेर पालो कुरिरहेका थिए ।

‘दुबइ, कतारमा बगाउनु पसिना बगाइयो’, उनले सुनाए, ‘यति गर्दा पनि केही उभो लागेन । त्यसपछि फेरि विदेश जाने चक्करमा लाग्दा दुःख पाइयो ।’

जीवन अभावै अभावमा चलिरहेको बेला उनको भेट रुस पठाउने एजेन्ट स्याङ्जाका चन्द्रबहादुृर कुँवरसँग भयो । उनले रुसमा मासिक तीन लाख कमाइ हुने लोभ देखाए । रुसी सेनामा भर्ना हुँदा जोखिम पनि हुँदैन, रातो पासपोर्ट पनि पाइन्छ भनेर आफूलाई झुक्याएको सुनारले बताए ।

‘घरको अवस्था एकदमै नाजुक भइसकेको थियो, मसँग अरु उपाय पनि थिएन’, उनले भने, ‘केही सीप नलागेपछि रुस जान तयार भएँ ।’ उनलाई रुस– युक्रेन युद्ध चलिरहेको थाहा थिएन ।

रुस पठाउने भनेर एजेन्टले उनीसँग दुई लाख रुपैयाँ मागे । उनले गत मंसिरमा त्यो पैसा एजेन्टलाई बुझाए । तर पैसा बुझेपछि एजेन्ट कुँवर सम्पर्कबाहिर पुगे ।

संयोगले उनी रुस जान पाएनन्, तर एजेन्टलाई बुझाएको २ लाख रुपैयाँ भने अझै फिर्ता पाएका छैनन् । ‘विदेश जाने भनेर ऋण धन गरेर मुश्किलले पैसा जुटाएको थिएँ’, उनले भने, ‘त्यो पैसा फसेपछि मेरो बिचल्ली भयो ।’ अहिले उनी एजेन्टले खाइदिएको पैसा फर्काउन कहिले प्रहरी, कहिले वैदेशिक रोजगार विभागमा दौडिरहेका हुन्छन् ।

उनी काठमाडौंको गोंगबु बसपार्क नजिकैको एक होटलमा बसिरहेका छन् । ‘होटलमा बस्दा खर्च बढेको बढ्यै हुन्छ’, उनले भने, ‘ऋणमाथि ऋण थपिएको छ ।’

यति हुँदा पनि कहिले एजेन्ट भेटिन्छन् भन्ने टुंगो छैन । यो क्रम कतिञ्जेल लम्बिने हो, स्वयं उनलाई थाहा छैन ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?