+
+

‘रेमिट्यान्स वृद्धिले अर्थतन्त्र सुधारमा भूमिका खेल्यो’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते १७:५०

७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यवाहक गर्भनर डा. निलम ढुंगाना तिम्सिनाले रेमिट्यान्समा भएको वृद्धिले अर्थतन्त्र सुधारमा महत्त्वपूर्ण भूमिका खेलेको बताएकी छन् ।

नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा नेपाल मुद्रा विप्रेषक संघले आयोजना गरेको कार्यक्रममा उनले वैधानिक तवरले रेमिट्यान्स भित्र्याउन र रेमिट्यान्सलाई डिजिटाइजेसनमा लैजान सबैले पहल गर्नुपर्ने बताइन् ।

त्यसका लागि राष्ट्र बैंकले नेपाल मुद्रा विप्रेषक संघसँग सहकार्य गर्न तयार रहेको उनले बताइन् ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक तुलस प्रसाद घिमिरेले रेमिट्यान्स क्षेत्रका प्रतिस्पर्धी संस्थाहरूले एकआपसमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताए ।

रेमिट्यान्स क्षेत्रको विकास र सहजताका लागि राष्ट्र बैंक तयार रहेको उनको भनाइ छ ।

राष्ट्र बैंक, गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धरले राष्ट्र बैंकले निर्दिष्ट गरेका नियम कानुन र सर्कुलरको परिधिभित्र रहेर काम गर्न रेमिट्यान्स कम्पनीलाई सुझाव दिए ।

नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टन्डनले रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तीय संस्थाहरूले स्वस्थ प्रतिस्पर्धा गरेमा रेमिटेन्समा वृद्धि हुने बताए  ।

जसले विदेशी मुद्रा सञ्चिति बढ्ने, रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तीय संस्थाहरूको आम्दानीमा वृद्धि भई राजस्व योगदानमा समेत वृद्धि हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?