काठमाडौं । रुपन्देहीका ३८ वर्षीय मनबहादुर थापा मगर साताको तीन दिन डायलाइसिस गराउन वनस्थली मिर्गौला उपचार केन्द्र पुग्छन् । विगत ११ वर्षदेखि दुवै मिर्गौला फेल भएका उनी प्रत्यारोपणको पर्खाइमा छन् । उनी अहिले डायलाइसिसको भरमा बाँचिरहेका छन् ।
प्रत्यारोपणको लागि खर्च र दाताको जोहो गर्दागर्दै ११ वर्ष बित्यो । यो क्रममा उनले नयाँ घर पनि बेचे । तर पनि प्रत्यारोपण हुन सकेन । ‘मिर्गौला मात्र होइन, अहिले कम्मरमुनिको भाग पनि राम्रोसँग चल्दैन । उनको हिप पनि प्रत्यारोपण गर्नुपर्ने भएको छ,’ मनबहादुर सुनाउँछन् ।
अब उनीसँग प्रत्यारोपण गर्ने खर्च छैन । बस्न र खान समेत धौ-धौ छ । प्रत्यारोपण त परको कुरा भयो । तर अझै पनि उनले हिम्मत हारेका छैनन् । ‘मलाई बाँच्नु छ । मैले अलिकति पनि हिम्मत हारेको छैन । प्रत्यारोपण गरेर घटघट धित मरुन्जेल पानी खानु छ,’ मनबहादुर मनको इच्छा सुनाउँछन् ।
‘भाग्यले जीवन बचायो तर मिर्गौला गुम्यो‘
रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भएका मनबहादुरको परिवारमा बाबुआमा, दुई भाइ र एक बुहारी छन् । सामान्य किसानको छोरा त्यसमाथि घरको जेठो छोरा भएकाले व्यवहार उनको थाप्लोमा आयो ।
स्कुलमा पढाइमा अब्बल उनी ठूलो हुँदै जाँदा पढाइमा भन्दा कामतर्फ केन्द्रित हुन थाले । जसकारण कक्षा १२ मा विषय लाग्यो र त्यससँगै पढाइमा पूर्णविराम पनि । उनी शिल्पकारको काम गर्थे । उनलाई त्यतिले मात्र घर खर्च पुग्छ जस्तो लागेन । त्यसकारण उनी दुबई गए । त्यहाँ सुरक्षा गार्डको काम गरे ।
यसरी नै उनको दैनिकी बितिरहेको थियो । लगभग एक वर्षपछि एक दिन अचानक उनलाई सुतेको ठाउँमा केहीबेर सास फेर्न असहज भएको जस्तो भयो । एसी चलाएर होला भनेर वास्ता गरेनन् । यो क्रम चलेको पाँचौं दिनमा कामबाट फर्किएर आएर एकछिन बसेका मात्र के थिए, आँखा धमिलो भयो अनि टाउको दुख्यो । त्यसपछि उनी अस्पताल पुगे ।
स्वास्थ्य परीक्षणमा उनको एक्कासि रक्तचाप उच्च भएर दुवै मिर्गौलामा असर गरेको देखियो । चिकित्सकले उनलाई भने-‘यति उच्च रक्तचापले त हृदयघात हुनुपर्ने थियो । तपाईं भाग्यले बाँच्नुभयो ।’
डाक्टरले थप कुरा सुनाए- ‘तपाईंको दुवै मिर्गौला फेल भएको छ ।’ उनी छाँगाबाट खसे झैं भए । कम्पनीले उनलाई अस्पताल भर्ना भएको ११ दिनमा घर फकाईदियो ।
फर्किंदा साथीभाइले २० हजार जति खर्च दिएका थिए । उनी नेपाल फर्किएपछि त्रिवि शिक्षण अस्पतालमा जाँच गराए । अस्पतालले पनि दुवै मिर्गौला फेल भइसकेको पुष्टि गर्यो । चिकित्सकले उपचारको विकल्प मिर्गौला प्रत्यारोपण मात्र रहेको र त्यसबेलासम्म डायलाइसिस गर्न आवश्यक रहेको बताए ।
सम्पत्ति सकियो, प्रत्यारोपण हुन सकेन
मनबहादुर मिर्गौला प्रत्यारोपणको व्यवस्थापन गर्न घर फर्किए । मिर्गौला नाताबाट र रगत मिलेमा मात्र दिन मिल्ने थियो । बुबाको मधुमेहको कारणले मिलेन । दाजुभाइको पनि मिलेन । श्रीमतीको मिल्यो । उनी तयार थिइन् । तर मेलोमेसो मिलेन ।
मिर्गौलाको उपचार गर्न थोरै पैसाले नपुग्ने भएर बाबुले केही पनि नसोची दुईतल्ले नयाँ घर बेचिदिए । यही मेसोमा अरूको कुरा सुनेर मनबहादुर कहिले पूजा लगाउने, कहिले ज्योतिष, कहिले धामीझाँक्रीकहाँ पनि पुगे । त्यसले निको हुने कुरा भएन । उनी त्यसपछि आयुर्वेदिक उपचार गराउन भारत पुगे । उनले आयुर्वेदिक औषधि खान सुरु गरे । यस अवधिमा ५ लाख रुपैयाँ सकिसकेको थियो ।
‘प्रत्यारोपणमा पैसा लाग्ने प्रक्रिया लामो र झन्झटिलो भनेर आयुर्वेदिकमा लागें । ५ लाख सकियो । यदि सोझै प्रत्यारोपणको प्रक्रिया अगाडि बढाएको भए समय र पैसा बर्बाद हुने थिएन,’ उनी सुनाउँछन् ।
उनलाई दुई वर्षसम्म त्यो औषधिले ठीक पारेको जस्तो लाग्यो । त्यसपछि उनको पेट फुल्न थाल्यो र पिसाब पनि रोकियो । त्यसपछि तत्काल एम्बुलेन्स बोलाएर सिधा शिक्षण अस्पताल पुगी भर्ना भए । त्यस अवधिसम्म उनको डायलाइसिस पाँचपटक भइसकेको थियो ।
काठमाडौंमा बस्न कठिन भइरहेको थियो । त्यसैबेला भैरहवा मेडिकल कलेजमा पनि डायलाइसिस सेवा सुरु भयो । यो खबर पाएपछि उनी भैरहवा मेडिकल कलेजमा डायलाइसिस गराउन थाले । त्यतिबेला डायलाइसिस निःशुल्क थिएन । उनको सातामा दुईपटक गर्दा १० हजार डायलाइसिसमा खर्च हुन्थ्यो । त्यसको दुई महिनामा उनलाई निमोनियाले सतायो । अवस्था गम्भीर भइसकेको थियो । उनलाई त्यहाँ भन्दा काठमाडौंमै छिटो उपचार हुनसक्छ भन्ने लागेर काठमाडौं फर्किए ।
भक्तपुर मिर्गौला प्रत्यारोपण केन्द्रमा डायलाइसिस र प्रत्यारोपण सेवा सुरु भइसकेको थियो । त्यहाँ उनी १६ दिन भर्ना भए । उपचारपछि निमोनिया निको भयो । उनी र श्रीमतीले कोठा खोजेर बसे । उनी प्रत्यारोपणको प्रक्रिया बुझ्ने र दाताको खोजीमा थिए ।
यही क्रममा मिर्गौला पीडितको संघसंस्थामा आवद्ध भए । जसबाट उनी पनि डायलाइसिस निःशुल्क गराउनुपर्छ भन्ने अभियानमा सरिक भए । उनीहरूको टोली रत्नपार्कमा आमरण अनसन पनि बस्यो । अन्ततः तत्कालीन स्वास्थ्यमन्त्री गगन थापा (२०७३साल) को प्रस्तावमा मन्त्रिपरिषद्ले डायलाइसिस सेवा निःशुल्क गर्ने निर्णय गर्यो ।
मनबहादुरलाई त्यसैबेला ‘हेपाटाइटिस सी’ पोजेटिभ देखियो । अब यसको उपचार नभई प्रत्यारोपण गर्न नमिल्ने अवस्था थियो । उपचारमा ४० सातासम्म १३ हजार रुपैयाँ पर्ने खोप लगाउनुपर्ने भयो ।
यता, खोप लगाउनुपर्ने, अर्कोतर्फ काठमाडौंमा कोठा भाडा, औषधि, गाँउमा आमाबाबुलाई खर्च गर्दा पैसा पनि खर्च हुँदै गइरहेको थियो । यही क्रममा उनको श्रीमती र उनीबीच मनमुटाव सुरु भयो ।
श्रीमती उनको उपचार खर्च जोहो गर्छु भनेर परदेश लागिन् । तर अहिले सात वर्ष भयो उनी फर्केर आएकी छैनन् । ‘विवाह दर्ता पनि थिएन, छोडपत्रको कुरा भएन । उनले कमाएको पैसाले विदेश जाँदा लागेको खर्च पठाइन् । त्यसपछि हाम्रो सम्पर्क भएको छैन,’ मनबहादुर सुनाउँछन्, ‘उनले साथ छाडे पनि उनले दुई वर्ष मेरो रेखदेखमा खटिएकी थिइन् । म कृतज्ञ छु । कुनै गुनासो छैन ।’
सहयोगको आश र हिम्मतले टिकेको जीवन
कहिल्यै हिम्मत हार्न नजानेका मनबहादुर अहिले कान्छा भाइको रेखदेखमा बसिरहेका छन् । हाल रानीवनमा कोठा लिएर बसिरहेका छन् । ‘कोठा भाडा, औषधि, खानपिन गरेर मात्र मेरो चोखो ३० हजार नगद खर्च हुन्छ । यो खर्च अहिले साथीभाइको सहयोगमा जुटिरहेको छ,’ उनी भन्छन् ।
डेढ वर्षअघिको कुरा । माइली बुहारीको मिर्गौला दिन मिल्ने भयो । उनी तयार पनि थिइन् । तर उनको प्रक्रिया सुरु मात्र के हुँदै थियो । उनको माइतमा आमा खसेर तत्काल जानुपर्ने भयो ।
त्यसलगत्तै उनीमाथि अर्को बज्रपात आइपर्यो । उनको कम्मरमुनिको भाग कमजोर हुँदै गएर हिंड्न नसक्ने अवस्थामा पुगे । उनी १० महिनादेखि वैशाखीको सहारामा छन् ।
चिकित्सकले कम्मरको हड्डी बिग्रिंदै गएर हिप ट्रान्सप्लान्ट गराउनुपर्ने भनेपछि उनलाई अर्को बज्रपात पर्यो ।
‘मिर्गौला प्रत्यारोपण गरेर बाँच्छु भन्ने थियो । कम्मरमुनिको भाग पनि प्रत्यारोपण गर्नुपर्छ भनेपछि म छाँगाबाट खसे झैं भए । म डिप्रेसनमै पुग्न लागेको थिए । आत्महत्या पनि गरौं जस्तो लाग्यो,’ उनी भन्छन्, ‘तर धेरैबेर सोचेपछि जसरी पनि बाँच्नुपर्छ भन्ने लाग्यो ।’
त्यसपछि उनले ध्यान गर्ने गरेर नकारात्मक विचार हाबी हुन दिएनन् । उनी पहिला विपश्यनामा पनि लागेको भएर उनलाई ध्यान गर्न रुचि पनि थियो ।
मनबहादुरलाई उठ्नलाई पनि अरुको सहारा आवश्यक पर्छ । ‘अहिले म थोरै उभिन पनि सक्दिनँ । डायलाइसिसको लागि अस्पतालमा ह्विल चेयरमा आवतजावत गर्छु । यो पनि अस्पतालको हो, मसँग ह्विल चेयर किन्ने पनि पैसा छैन,’ भावुक हुँदै उनी भन्छन् ।
मिर्गौला र हिप प्रत्यारोपण गर्न ४० लाखभन्दा बढी लाग्ने डाक्टरले बताएका छन् । तर उनीसँग औषधि खान समेत पैसा छैन ।
जुनबेला केही सम्पत्ति थियो, दाता पाएनन् । अहिले दाता छन्, पैसा छैन । तर पनि उनले हिम्मत हारेका छैनन् ।
‘मैले हिम्मत हारेको छैन । मलाई बाँच्नु छ । अहिले मैले धित मर्ने गरी पानी खान पाएको छैन । मेरो ठूलो सपना छैन । प्रत्यारोपण गरेपछि कलकल टन्न पानी खाने धोको छ,’ मनबहादुर भन्छन् ।
तस्वीर, भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4