हरेक दिन पेटमा एसिड उत्पादन हुन्छ, जसले खाना पचाउन मद्दत गर्छ । पाचनका लागि पेटबाट अनिवार्य यो एसिड निस्किनुपर्छ । तर कहिलेकाहीं कुनै कारणवश एसिड आवश्यकभन्दा बढी निस्कन्छ । त्यसलाई ग्यास्ट्रिक भएको भनिन्छ ।
एसिड बढ्दा पेट, छाती पोल्ने र खानेकुरामा अरुचि हुन्छ । यस्तोमा राहतका लागि खाइने औषधि हो, पेन्टाप्राजोल । पेन्टाप्राजोल एक प्रोटोन पम्प इनहिबिटर औषधि हो । यो औषधिलाई बोलीचालीको भाषामा प्यान टप पनि भनिन्छ । प्रोटोन पम्प भनेको पाचन रस हो, जुन पेटको तहमा हुन्छ । पाचन रसको स्रावलाई नियन्त्रण गर्ने काम यो औषधिले गर्छ ।
कस्तो अवस्थामा प्रयोग गर्ने ?
– पाचन समस्या विशेष रुपमा अत्यधिक एसिड पेटबाट निस्कँदा वा ग्यास हुँदा
– ग्यास्ट्रोफेजियल रिफलक्स डिजजको समस्या (यो समस्या हुँदा खाना खाने बित्तिकै पुन: बान्ता हुनु) हुँदा
– खानालाई मुख हुँदै पेटसम्म लैजाने अन्नलीमा कुनै कारणवश सुन्निएमा । (यो समस्या हुँदा छाती पोलेको जस्तो, असहज हुने र खानामा अरुचि हुन्छ ।)
– छाती पोल्ने (छाती पोल्दा चिकित्सकको परामर्शमा मात्र औषधि लिनुपर्छ । किनकि छाती पोल्ने कारण कहिलेकाहीं मुटुको समस्याले पनि हुनसक्छ ।)
– अल्सरको समस्यामा
– आमाशयमा ट्युमर भएमा
यसले कसरी काम गर्छ ?
यो औषधि प्रोटोन वर्गमा पर्छ । जब हाम्रो पेटमा आवश्यक भन्दा बढी एसिड उत्पादन हुन्छ, त्यस अवस्थामा अमिलो डकार आउने, पेट दुख्ने र खान मन नलाग्ने हुन्छ । यस्तोमा यो औषधिको काम भनेको पेटमा एसिड उत्पादन हुने कोषको काममा बाधा ल्याई एसिडको मात्रा कम गर्ने वा रोक्ने गर्छ । यसको मात्रा घटने बित्तिकै पेटको दुखाइ सम्बन्धी लक्षण कम हुन्छ ।
यो औषधिले एसिडको कारणले हुने अन्न नलीमा हुने नकारात्मक प्रभावलाई पनि रोक्छ ।
यो औषधि कसरी लिने, कहिले लिने ?
यो मुखमा राखेर पानी खाएर निल्ने औषधि हो । यसलाई भाँचेर, चपाएर खानुहुँदैन । तर औषधि लिंदा हचुवाको भरमा लिनु हुँदैन । जुनसुकै औषधि लिंदा चिकित्सकको परामर्श आवश्यक छ ।
यो औषधि लिंदा जहिले खाली पेटमा लिनुपर्छ । र, कहिलेकाहीं मात्र लिंदा कम मात्रा भएको लिनुपर्छ ।
एक डोज मात्र पर्याप्त छ ?
यो कति मात्रा लिने भन्ने कुरा स्वास्थ्य अवस्थामा भर पर्छ । सामान्य अवस्था छ, डकार र अमिलो पानी मुखमा आइरहेको अवस्थामा एउटा लिन सकिन्छ । कैयौं अवस्थामा धेरै पनि लिनुपर्ने हुनसक्छ । जुन चिकित्सकले तय गर्छन् ।
यो औषधि कस्तो अवस्थामा खानु हुँदैन ?
कलेजो रोग भएका, रगतमा क्याल्सियमको कमी हुँदा, म्याग्नेसियम, पोटासियमको मात्रा कम हुँदा, गर्भावस्था र स्तनपान गराइरहेकी महिलाले यो औषधि खानुहुँदैन ।
यो औषधिसँग कुनै औषधिले प्रतिक्रिया गर्छ ?
एटाजनाभिर, नेलफिनाभिर, एमप्लिसिन, डेलाभिसरडाइन, आइरन साल्ट, केटोकोनाजोल नामक औषधि खाइरहने व्यक्तिले यो औषधि खानुहुँदैन । किनकि यी औषधिले प्यानटप औषधिसँग प्रतिक्रिया गरी अन्य साइड इफेक्ट पनि गर्न सक्छ ।
लामो समयसम्म प्रयोग गर्नु हुँदैन ?
कहिलेकाहीं प्यानटप खाँदा कुनै फरक पार्दैन । तर बढी खाँदा यसले हानि गर्न सक्छ । कतिपयको पेट दुख्यो कि यो औषधि खाइहाल्ने बानी हुन्छ । यसरी लगातार जथाभावी खाँदा यसले हड्डी कमजोर पार्ने, पेटमा पोलिप (मासु पलाउने) जस्ता समस्या हुनसक्छ ।
कति छिटो परिणाम दिन्छ ?
यो औषधि खाएको दुई घण्टाबाट नै काम गर्न सुरु गर्छ । यसको असर २४ घण्टासम्म रहन्छ । यसको प्रभावकारिता र लक्षणबाट राहत पाउन चार सातासम्म लाग्न सक्छ ।
बजारमा कति एमजीमा उपलब्ध छन् ?
यो औषधि तीनथरीमा बेचिने गरिन्छ ।
– २० एमजी डिले-रिलिज ओरल टयाब्लेट
– ४० एमजी डिले-रिलिज ओरल ट्याब्लेट
– ४० एमजी ग्रान्युलेस फर डिले-रिलिज ओरल सस्पेन्सन
त्यस्तै यो औषधि कतिपय अवस्थामा सुई मार्फत पनि दिइन्छ ।
कसरी भण्डारण गर्ने ?
यो औषधि अत्यधिक चिसो, सुक्खा र सुरक्षित ठाउँमा राख्नुपर्छ । र, बच्चाको पहुँचबाट टाढै राख्नुपर्छ । साथै, घाम र ओसिलो ठाउँमा राख्नु हुँदैन ।
साइड–इफेक्ट के हुन्छ ?
एलर्जी प्रतिक्रिया जस्तै, छाला चिलाउने, अनुहार, ओठ, जिब्रो र घाँटी सुन्निने
मिर्गौलामा चोट, पिसाबको मात्रा कम हुने, कुर्कुच्चा, हात र खुट्टा सुन्निने
म्यागनेसियमको मात्रा कम, मांसपेशी तथा जोर्नी दुखाइ, मुटुको कम्पन छिटो छिटो हुने
भिटामिन बी-१२ को मात्रा कम, हात र खुट्टा झमझमाउने, मांसपेशी कमजोर, कुनै कुरामा ध्यान केन्द्रित गर्न कठिन हुने
डायरिया, ज्वरो र बान्ता हुने
यी साइड-इफेक्ट देखिएमा तुरुन्त औषधि रोकेर सम्बन्धित चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।
इतिहास
पान्टोप्राजोलको आविष्कार वैज्ञानिक बाइक गुल्डेनले सन् १९८० मा गरेका थिए । र, उत्पादन तथा बिक्री वितरण भने सन् १९८५ मा भएको हो । जुन अल्सरको औषधि खोज्ने क्रममा यो औषधि निकालिएको हो ।
प्रतिक्रिया 4