 
																			६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति जुटाएरै संविधान संशोधन गर्ने बताएका छन् । तर आफूले भने अनुसार नहुनासाथ पश्चगमनको पोशाक लगाइदिने अचम्मको प्रवृत्ति देखिएको उनले बताए ।
प्रतिनिधिसभामा विश्वासको मत दिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले संविधान असंशोधनीय विषय नभएको बताए । ‘संविधान देश र जनताको हितका लागि साधन हो, साध्य होइन’ उनले भने, ‘आवश्यकताले संविधान, कानुनमा संशोधन र परिमार्जन हुन्छ ।’ तर संविधान संशोधन गर्नु भनेको पश्चगमन हो भन्ने कतिपयको भनाइ पनि आफूले सुनेको उनले बताए ।
पञ्चायतकालमा जनमत संग्रहका बेला बच्चाबच्ची रोयो भने एए नबोल नबोल जनमत संग्रह भाँडिन्छ भन्ने गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यो जनमत संग्रह भाँडिन्छ भन्नेजस्तो कुरा नगरे पनि हुन्छ ।’
कांग्रेस र एमालेले नै हिंसालाई शान्ति र तानाशाहीलाई फ्याँकेर लोकतन्त्र ल्याएको भन्दै उनले भने, ‘जसले सबै कामको लिड गर्यो, तिनीहरुले संविधान सिध्याउँछ भने कसले बचाउँछ ?’
तर आफूले भनेको नभए पश्चगमनको पोशाक लगाइदिने अचम्मको प्रवृत्ति देखिएको उनको गुनासो छ । विकासको तगारो अस्थिता भएको भन्दै उनले भने, ‘अस्थिरता हटाउन संविधानमा संशोधन चाहिन्छ भने हामीले गर्नुपर्छ ।’
संविधान विकासको बाधक होइन, बाहक हुनुपर्ने भन्दै उनले भने, ‘विकासको लागि जहाँनिर बाधक बनेको छ, त्यहाँ संशोधन हुन्छ ।’
साथै उनले दुई तिहाइ पुग्यो भनेर त्यसकै बलमा संशोधन संशोधन नगर्ने प्रतिबद्धता समेत जनाए ।
मिलेर संविधान बनाएको र अहिलेसम्म दुई पटक भएको संशोधन पनि मिलेरै गरेको भन्दै उनले भने, ‘अर्को संशोधन पनि देशको हितको पक्षमा गर्नेछौं, गलत बाटोतर्फ देशलाई धकेल्न संविधान संशोधन गरिने छैन । मलाई आशा छ यस मामिलामा सिंगो देश एक हुनेछ, यसमा राष्ट्रिय सहमति हुनेछ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4