काठमाडौं । काठमाडौंको टुकुचा–बागमती संगम नजिकबाट संकलन गरिएको ढलको नमुना परीक्षण गर्दा स्वरूप परिवर्तित भएको पोलियो भाइरस भेटिएको थियो । पोलियो जीवाणु भेटिएपछि काठमाडौं, ललितपुर र भक्तपुरमा पोलियो विरुद्धको विशेष खोप अभियान सञ्चालन भइरहेको छ ।
पोलियोको एउटा परिवर्तित स्वरूप टाइप ‘३’ को जीवाणु भेटिएको हो । पाँच वर्षमुनिका बालबालिकालाई अनिवार्य पोलियो विरुद्धको खोप लगाउनुपर्ने परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतम बताउँछन् ।
पोलियो खोप लगाउनु किन जरुरी छ ? पोलियो विरुद्धको खोपको प्रभावकारिता कस्तो छ ? लगायत विषयमा डा. गौतमसँग अनलाइनखबरकर्मी सुमित्रा लुईटेलले गरेको कुराकानीको सम्पादित अंश :
कस्तो रोग हो पोलियो ?
पोलियो भाइरसद्वारा लाग्ने रोग हो । यो मुख्य रुपमा व्यक्ति-व्यक्तिबीचको सम्पर्कद्वारा फैलिन्छ । संक्रमित व्यक्तिको दिसा-पिसाब समावेश खाना वा पेय पदार्थको सेवनबाट फैलिने गर्छ । पोलियोले मूलतः पाँच वर्षमुनिका बालबालिकालाई असर गर्छ ।
पोलियो भाइरस पी १, पी २, पी ३ गरी तीन प्रकारका हुन्छन् र तीनवटै प्रकारका भाइरसबाट पोलियो रोग हुनसक्छ । पोलियो संक्रामक रोग हो, जसलाई फिकोरलुट भनिन्छ ।
पोलियो भाइरसले पहिले आन्द्रालाई संक्रमित गर्छ । जसकारण फ्लु जस्तो लक्षण देखिने गर्छ । यसपछि संक्रमणले मस्तिष्क र मेरुदण्डलाई असर गर्छ । पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिलाई पक्षघात हुनसक्छ र पक्षघात भएपछि निको हुँदैन । यो रोगबाट मृत्यु पनि हुनसक्छ ।
पोलियोको लक्षण के–कस्ता हुन्छन् ?
यसको ठ्याक्कै चिन्ने लक्षण पक्षघात हो । तर त्यो भन्दा अगाडि बालबालिकालाई पोलियोको संक्रमण भइसकेपछि सामान्यतया ज्वरो आउने, पखाला लाग्ने, जीउ दुख्ने, थकान महसुस हुने, रुघाखोकी लाग्ने जस्ता लक्षण बारम्बार देखिने गर्छन् ।
पोलियो थोपा र पोलियो खोप दुई फरक कुरा हो ?
नेपालमा पोलियो रोग विरुद्ध दुई किसिमका खोपहरू प्रदान गरिन्छ । तीमध्ये एउटा खोप मुखबाट खुवाइन्छ त्यसलाई ओ.पी.भी. खोप भनिन्छ । अर्को खोप सुईबाट दिइन्छ । त्यसलाई एफ.आई.पी.भी. भनिन्छ ।
नियमित खोप कार्यक्रम मार्फत पोलियो थोपा बच्चा जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई ६, १० र १४ हप्तामा जम्मा तीन पटक दिइन्छ । यसको अतिरिक्त पोलियो खोप अभियानमा पनि जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई पोलियो खोप दिनुपर्छ ।
अर्को एफ.आई.पी.भी. खोप १४ हप्ता र ९ महिनाको उमेरमा सुईको माध्यमबाट दिइने खोप हो । यो खोप मुखबाट खुवाउने पोलियो खोपको अतिरिक्त दुई पटक दिनुपर्छ । एफआईपीभीले पोलियो रोग विरुद्ध लड्न थप प्रतिरोधात्मक शक्ति प्रदान गर्छ ।
अहिले दिइराखेको पोलियो खोपको थप मात्रा हो । नियमित रुपमा पहिले नै पूर्ण खोप लगाइसकेका बालबालिकाले पनि लगाउनुपर्छ ।
पोलियो विरुद्धको खोप कति प्रभावकारी छ ?
पोलियोको खोप अत्यन्त सुरक्षित र प्रभावकारी भएकाले आफ्ना बालबालिकालाई ढुक्कसँग खोप लगाउन सकिन्छ ।
पोलियो मात्र हैन, नेपालमा दिइने अन्य खोपहरू सुरक्षित र प्रभावकारी छन् । खोप विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त र औषधि व्यवस्था विभागबाट पनि मान्यता प्राप्त हुन्छ । त्यसैले ढुक्क भएर लगाउन सकिन्छ ।
पोलियो विरुद्धको खोप कसले लगाउनु हुँदैन ?
कोही बालबालिका बिरामी भएर अस्पतालमा भर्ना भइराखेका छन् र उच्च ज्वरो आइरहेको छ भने उनीहरुले तत्काल यो खोप लगाउनु हुँदैन । ज्वरो निको भइसकेपछि खोप लगाउन मिल्छ ।
क्यान्सर भएका बालबालिका र एड्सको संक्रमण भएका बालबालिकाहरुको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनीहरूले यो खोप लगाउन मिल्दैन ।
कुन उमेर समूह पोलियोको जोखिममा हुन्छन् ?
पोलियोको जोखिम सबै उमेर समूहमा हुन्छ । तर पाँच वर्षभन्दामुनिका बालबालिकामा यसको उच्च जोखिम हुन्छ । पोलियो खोप नलगाएका वा पोलियो खोपको पूरा मात्रा नलगाएका बालबालिका यस रोगको उच्च जोखिममा हुन्छन् । समुदायमा एक जना बच्चालाई पनि पोलियो रोग भएमा अरू बालबालिकालाई सर्ने सम्भावना हुन्छ ।
पोलियोको उपचार र बच्ने उपाय के छ ?
पोलियोको कुनै पनि उपचार हुँदैन । पक्षघात भइसकेपछि यसको कुनै पनि उपचार सम्भव छैन । त्यसैले यो लाग्नबाट नै बच्नुपर्छ । यो रोगबाट सुरक्षित हुने सबैभन्दा उत्तम र प्रभावकारी उपाय नै पोलियो खोप हो । यसबाट जोगिन बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार पोलियोको नियमित खोप पूर्ण मात्रामा दिनुपर्छ ।
यदि खोपको डोज छुटेमा खोपले राम्ररी काम गर्दैन र विभिन्न संक्रमणको जोखिम रहन्छ । त्यसैले पूर्ण खोपलाई अनिवार्य रुपमा लगाउनैपर्छ । यसबाट बच्न व्यक्तिगत सरसफाइ, स्वच्छ पानी र सफा खानेकुरामा विशेष ध्यान दिनुपर्छ ।
प्रतिक्रिया 4