 
																			१८ साउन, काठमाडौं । इन्जिनियरहरूको संस्था नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा दलगत तालमेल नहुने भएको छ ।
शुक्रबारका लागि तोकिएको उम्मेदवारी मनोनयनमा अध्यक्षका लागि ६ जनाको उम्मेदवार परेको निर्वाचन समितिका संयोजक पवनकुमार भट्टराईले जानकारी गराए ।
कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन), एमाले निकट प्रोग्रेसिभ इन्जिनियरिङ प्रोफेसनल्स एसोसिएसन नेपाल (पिन), माओवादी केन्द्र पक्षधर नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन (निओन), एकीकृत समावादीको समाजवादी निकट इन्जिनियरिङ नेपाल (सिन), नेमकिपा निकट इन्जिनियर समाज नेपालले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।
सत्ता पक्षमा रहेका कांग्रेस–एमाले निकटका इन्जिनियरका संस्थाले आआफ्नो प्यानल खडा गरेका छन् । कांग्रेस पक्षधर सिडेनबाट सुवासचन्द्र बराल र एमाले निकट पिनबाट विष्णुप्रसाद पाण्डे अध्यक्षको उम्मेदवार बनेका छन् ।
कांग्रेस एमाले सत्तामा रहेकाले चुनावी सहकार्य गर्ने अनौपचारिक प्रस्ताव आए पनि सिडेनले अस्वीकार गरेको कांग्रेस निकट उम्मेवार बरालले बताए । उनले भने, ‘लोकतन्त्रवादी इन्जिनियरहरुमा मतभेद छैन । अरु पक्षधरसँग तालमेल गरेर चुनाव गर्नुपर्ने अवस्था हामीलाई छैन ।’
विपक्षी दलहरु निकट इन्जिनियरहरुको संस्थाले पनि संयुक्त उम्मेदवार खडा गर्न सकेनन् । माओवादी केन्द्र निकट निओनबाट दीपेश श्रेष्ठ, एकीकृत समाजवादी निकट सिनबाट नन्द बन्जाडे, नेमकिपा निकट इन्जिनियरको संस्थाबाट राजेन्द्रप्रसाद हाडाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
हाडा यसअघि उम्मेदवार थिए । जनमत र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावी तालमेल भएको छ । ती दुई दलबाट अध्यक्षमा संयुक्त उम्मेदवारी रामेश्वरप्रसाद कलवारले दिएका छन् ।
प्रमुख दुई दल सत्ता पक्ष भएको बेला चुनावी तालमेल नगरी इन्जिनियरहरु प्रतिस्पर्धामा उत्रने भएका छन् । कांग्रेसबाट अध्यक्षको आकांक्षीमा टपेन्द्रबहादुर खड्का, सुवासचन्द्र बराल, प्रकाश अर्याल थिए ।
ती मध्येबाट बरालको अध्यक्षमा उम्मेदवारी परेको छ । खड्का पार्टी सभापति शेरबहादुर देउवा समूह निकट छन् । बराल कांग्रेसको संस्थापन पक्षधर रहे पनि इन्जिनियरको चुनावमा महामन्त्री गगन थापा नजिक हुँदै आएका छन् । अर्का आकांक्षी अर्याल नेता प्रकाशमान सिंह नजिक छन् ।
एसोसिएसनको निर्वाचन २८ साउनमा तोकिएको छ । ३४औं कार्यसमितिका लागि निर्वाचन कार्यतालिका सुुरु भएको छ ।
मतदान केन्द्र प्रदेश र संघमा गरेर १३ स्थानमा तोकिएको छ । काठमाडौं र जनकपुरमा विद्युतीय मतदान हुने निर्वाचन समितिले जानकारी गराएको छ ।
इन्जिनियर्स एसोसिएसन २०१९ सालमा स्थापना भएको थियो । बहुदलीय व्यवस्था पश्चात् एसोसिएसनमा प्यानल बनाएर प्रतिस्पर्धा गर्ने प्रचलन बसेको थियो । २० औं कार्यकारणी समितिसम्म आउँदा प्यानलगत प्रतिस्पर्धा यस संस्थामा थिएन ।
३३औं कार्यकारिणी समिति हुँदासम्म नेपाली कांग्रेस निकटका उम्मेदवारले ३० पटक जितेका छन् । कांग्रेस निकट इन्जिनियहरुको संस्था सिडेनका एक पदाधिकारीले भने, ‘कांग्रेस विभाजित भएको बेला लोकतान्त्रिक प्यानल पराजित भएको हो । कम्युनिस् प्रति झुकाव राख्ने प्रोग्रेसिभ प्यानल हार्दै आएको छ ।’
संस्थाका देशभर करिब ४४ हजार सदस्य छन् । १८ हजार बढीले मतदान गर्ने निर्वाचन समितिले जानकारी गराएको छ ।
केन्द्रीय कार्यसमिति २५ जनाको हुने व्यवस्था छ । केन्द्रबाट १८ र सात प्रदेशबाट १/१ गरी केन्द्रीय कार्यकारिणी समिति बन्ने व्यवस्था छ ।
अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सह कोषाध्यक्ष सहित सबै केन्द्रीय सदस्यका लागि निर्वाचनबाट चुनिने व्यवस्था छ । सबै पदमा खुला प्रतिस्पर्धा हुनेछ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4