धेरै सोचेर र आफ्नै कमजोरीका कारण डिप्रेसन हुन्छ भन्ने आम बुझाइ छ । आफ्नो कमजोरीका कारण डिप्रेसन हुने भएकाले यसलाई नियन्त्रण पनि आफैंले गर्नुपर्छ भनिन्छ । यसलाई रोगको रुपमा पनि लिइँदैन ।
त्यसैले डिप्रेसनको औषधिले के कसरी काम गर्छ होला ? डिप्रेसनको औषधिले कतै साइड-इफेक्ट पो गर्ला कि ? लगायत प्रश्न आउन सक्छन् ।
सबैभन्दा पहिले त डिप्रेसन भनेको अरू रोग जस्तै रोग नै हो भनेर बुझ्नुपर्छ । ज्वरो आएको, खुट्टा भाँचिएको त हामीले देख्छौं र बुझ्छौं । तर मानसिक समस्या त देखिंदैन नदेखेपछि त धेरै सोचेका कारण यसलाई यस्तो भयो भनिन्छ । तर यथार्थ के हो भने धेरै सोचेर हैन, धेरै सोच्नु चाहिं डिप्रेसनको प्रमुख लक्षण हो ।
डिप्रेसन रोग भनेर बुझ्नुपर्छ र यो बुझेपछि मात्र यसको उपचार र औषधिको कुरा बुझ्न सकिन्छ । मानसिक समस्या देखा पर्ने विभिन्न कारण हुन्छन् । त्यसमा एउटा प्रमुख कारण तनाव हो । दिमागमा थुप्रै न्युरो ट्रान्समिटर हुन्छ । ती न्युरो ट्रान्समिटरमध्ये पनि सेरोटोनिन, डोपामिन जस्ता न्युरो ट्रान्समिटरको गडबडीले डिप्रेसन हुन्छ ।
डिप्रेसनको औषधिले के कसरी काम गर्छ ?
जब बिरामीले डिप्रेसनको औषधि खान्छन् त्यो औषधि पेटमा कलेजो हुँदै रगतमा पुग्छ । रगतको माध्यमबाट नै औषधि लक्षित स्थानमा पुग्छ । लक्षित स्थानमा पुगेर सेरोटोनिन, डोपामिन जस्ता न्युरो ट्रान्समिटर कम भएको हो भने बढाउने र बढी भएको हो भने कम गरेर सन्तुलनमा ल्याउँछ । यसरी डिप्रेसनको औषधिले काम गर्छ ।
कति दिनमा औषधिले काम सुरु गर्छ ?
ज्वरोको औषधि खाएको केही घण्टामा ज्वरो कम हुन्छ । तर डिप्रेसनको औषधिले त्यसरी काम गर्दैन यसलाई काम गर्न सामान्यतया दुईदेखि चार हप्ता लाग्छ । औषधिले राम्ररी काम गरेको छ कि छैन भन्ने कुरा थाहा पाउन एक महिनासम्म लाग्छ ।
औषधि जीवनभर खानुपर्छ ?
डिप्रेसनको औषधि एक पटक सुरु गरेपछि जीवनभर खानुपर्छ भन्ने धेरैलाई लाग्छ । सबै डिप्रेसनका बिरामीले जीवनभर औषधि खानुपर्छ भन्नेमा सत्यता छैन । रोगको प्रकृति, आवश्यकता र शारीरिक मानसिक अवस्था हेरेर औषधि कति समय खाने भन्ने कुरा निर्धारित हुन्छ ।
पहिलो पटक डिप्रेसन भएको हो भने नौ महिनादेखि एक वर्षसम्म औषधि खानुपर्ने हुन्छ । तर समस्या बढ्दै गयो वा बल्झियो भने फेरि औषधि खानुपर्ने हुन्छ । डिप्रेसन निको भइसकेपछि पनि फेरि बल्झिने सम्भावना हुन्छ । १०० जनालाई डिप्रेसन भएको छ भने ६० जनालाई समस्या फेरि दोहोरिन सक्छ । दोहोरियो भने त फेरि औषधि चलाउनुपर्छ ।
औषधिको बानी परेर बन्द गर्न नमिल्ने होइन रोगको प्रवृत्ति नै दोहोरिने भएर बन्द गर्न नमिल्ने हुनसक्छ । तर समस्या बिस्तारै ठीक हुँदै गएपछि औषधि घटाउँदै बन्द गर्न सकिन्छ ।
औषधिको साइड–इफेक्ट हुन्छ कि हुँदैन ?
औषधिको प्रकृतिअनुसार केहीको साइड-इफेक्ट देखिन सक्छ । कुनै औषधिले ग्यास्ट्रिक हुने, तौल बढ्ने, थकान महसुस हुने सम्भावना रहन्छ । यद्यपि सबै औषधिको सबैलाई साइड-इफेक्ट हुन्छ भन्ने होइन ।
साइड-इफेक्ट देखिए त्यसलाई निवारण गर्न विभिन्न उपाय अपनाउन सकिन्छ । जस्तै, कुनै औषधिले मोटोपन बढ्छ भने व्यायाम गर्ने, सन्तुलित खाना खाने गरेर मोटोपनबाट बच्न सकिन्छ । लामो अध्ययन अनुसन्धान गरेर मात्र औषधि बनेको हुन्छ । त्यसैले साइड-इफेक्ट हुन्छ भनेर औषधि प्रयोग गर्न डराउन भने हुँदैन ।
औषधि विना पनि डिप्रेसनको उपचार गर्न सकिन्छ ?
डिप्रेसन ‘माइल्ड’ हल्का, ‘मोडरेट’ ठिक्क र ‘सिभियर’ कडा कुन अवस्थाको हो त्यसअनुसार औषधि विना पनि उपचार गर्न मिल्छ कि मिल्दैन भन्ने कुरा तय गर्न सकिन्छ ।
‘माइल्ड’ अवस्थाको डिप्रेसन छ र कडा खालको लक्षण देखिएको छैन भने औषधि विना काउन्सिलिङ र साइको थेरापीले मात्र पनि ठीक हुन्छ । तर मोडरेट र सिभियर अवस्थाको डिप्रेसन छ भने औषधि नै खानुपर्छ ।
औषधि सेवन गर्दा चिकित्सकको सल्लाहमा गर्नुपर्छ । औषधि छाड्ने र निरन्तरता दिने भन्ने कुराको निर्णय पनि चिकित्सकको सल्लाहमा नै गर्नुपर्छ ।
प्रतिक्रिया 4