काठमाडौं । भारतीय गायक तथा संगीतकार शंकर महादेवनले आइतबार बैंगलोरमा आफ्ना विश्वभरिका १० जना उत्कृष्ट विद्यार्थीलाई मञ्चमा उतारे । सोही क्रममा नेपाली मूलका बालगायक अमिर गजमेरले पनि शंकर महादेवन र भारतका अन्य अग्रज संगीतकर्मीमाझ शास्त्रीय गायन प्रस्तुत गरे ।
हाल अमेरिकामा बसोबास गर्ने ११ वर्षीय अमिरले राग भीमपलासी एकल रुपमा प्रस्तुत गरे भने राग चारुकेशी युगल प्रस्तुत गरे । अमिरले गाउँदा उपस्थित संगीतप्रेमीहरुले तालीको गडगडाहट दिए ।
उनका गुरु समेत रहेका शंकर महादेवनले पनि उनको गायकीको खुलेर प्रशंसा गरे । अमिरको भ्वाइस टेक्सचर, उच्चारण र गायकीको महादेवनले निकै प्रशंसा गरेको उनका बुबा पुष्प गजमेरले अनलाइनखबरलाई बताए ।
‘अमिरको नेचुरल भ्वाइसले सबैलाई तान्छ । सुफी र गजल गायनका लागि अझ स्विटेबल भ्वाइस छ । भविष्यमा पनि यस्तै राम्रो गर्दै जानू, शुभकामना छ,’ महादेवनको भनाइ उद्धृत गर्दै गजमेरले भने ।
शास्त्रीय गायन प्रस्तुत गरिसकेपछि अमिरले आफ्ना गुरु महादेवन सहित भारतीय संगीतकर्मीलाई चिनो स्वरुप नेपाली ढाकाटोपी लगाइदिए । त्यसक्रममा अमिरले राजेशपायल राईको स्वरमा रहेको गीत ‘नमाग मसँग’ समेत गाएर सुनाए ।
शंकर महादेवन एकेडेमीले प्रत्येक वर्ष आफ्ना उत्कृष्ट १० विद्यार्थी छनोट गरेर शास्त्रीय गायन कार्यक्रम गर्दै आएको छ । यस वर्ष पनि भारत लगायत विभिन्न देशबाट छनोट भएका विद्यार्थीले मञ्चमा प्रस्तुति दिएका हुन् ।
अमिर चार वर्षदेखि शंकर महादेवनसँग शास्त्रीय संगीत सिकिरहेका छन् । नेपाली गीत-संगीतमा विशेष लगाव राख्ने अमिर बैंगलोरको कार्यक्रममा जानुअघि नेपाल घुमघाममा थिए । काठमाडौंमा रहँदा उनले केही नेपाली गीत समेत रेकर्ड गराएका थिए ।
प्रतिक्रिया 4